23rd October | 2018 | Tuesday | 11:35:48 AM

चिसोबाट बच्न आगोको भर

  POSTED ON : Monday, 08 January, 2018 (4:30:08 PM)

चिसोबाट बच्न आगोको भर

पार्वती थापामगर

काठमाडौं । केही दिनदेखि हृवात्तै बढेको चिसोले राजधानीबासी निकै प्रभावित भएका छन् । राजधानीका अधिकांश मानिसहरू चिसोबाट बच्न कुनै न कुनै विकल्प रोज्न बाध्य भएका छन् । बाक्लो कपडा नभएकाहरू भने झनै चिसोको मारमा परेका छन् ।

उनीहरू एक ठाउँमा भेला भई आगो बालेर शरीर न्यानो पार्छन् । दैनिक गुजार्नै मुस्किल परेका बेला न्यानो कपडा किन्न निकै परको कुरा भएको उनीहरू बताउँछन् । हरेक वर्ष जाडोको समयमा यसैगरी जाडोसँग लड्दै आइरहेको उनीहरूको भनाइ छ ।

अहिले धेरैजसो सडकका ठाउँठाउँमा आगो बलिरहेको भेटिन्छ । ‘बिहानबेलुकी छाक टार्नसमेत मुस्किल परिरहेका उनीहरूसँग न्यानो कपडा र हिटर नहुनु स्वाभाविक हो । अहिले साँझ परेपछि आफ्नो काम छोडेर आगो ताप्नेहरू पनि कम छैनन् । 

आइतबार काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस जल तथा मौसम विज्ञान विभागले मापन गरेको छ । शनिबारदेखि हृवात्तै बढेको चिसोले काठमाडौं उपत्यकालगायत देशैभरका जनजीवन प्रभावित भएका छन् । शनिबार न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । 

न्यानो कपडा नहुनेहरू साँझ र बिहान आगो तापेर समय बिताउँछन् । बढ्दै गएको यो चिसोले सामान्य दिनचर्या बिताइरहेका व्यक्तिलाई झनै बढी असर पारिरहेको छ । 

‘अर्काको घरमा भाँडा माझेर विहानबेलुकी छाक टार्नसमेत मुस्किल परिरहेको छ । कुन पैसाले किन्नु र नयाँ लुगा,’ नाम खुलाउन नचाहने एक महिलाले भनिन्, ‘छोराछोरीलाई पढाउन र दुई छाक खुवाउनै पुग्दैन पैसाले ।’

उनले दुईटा छोरीहरूलाई सरकारी स्कुलमा पढाइरहेकी छिन् । उनले दुई सन्तानलाई समेत भनेजस्तो न्यानो कपडा दिन सकेकी छैनन् । उनले दुवै छोरीलाई केही न्यानो कपडा किनिदिएकी छिन् । आफू भने निकै जाडो भएको बेला सडकतिर डौडिन्छिन् आगो खोज्दै । 

अगाडिबाट आगो तापिरहेको भए पनि पछाडिबाट चिसोले जोडले कुटिरहेको महसुस हुन्छ उनीहरूलाई । नाम खुलाउन नचाहने अर्की महिलाले भनिन्, ‘लेबरको काम गर्छु । परिवार पाल्नै धौधौ छ, उनीहरूलाई भनेजति न्यानो कपडा दिन सकेको छैन,’ उनले भनिन्, ‘छोराछोरीलाई बल्ल किनिदिएँ, तर श्रीमती र म भने यसैगरी दिनभरि ज्यामी काम गरेर साँझ आगो ताप्न कार्टुन र प्लास्टिक भेला पार्न थाल्छौं ।’ 

चिसोले गर्दा कुनै पनि काम गर्न नसकिने भएकाले पनि साँझ र बिहान आफूहरू यसैगरी आगोलाई सहारा बनाउन बाध्य भएको उनीहरूको भनाइ छ । कतिपय व्यक्तिहरू मनभित्र गुम्सिएका दुःख सुःखका कुरा साट्नकै लागि पनि भेला भएर आगो ताप्ने बताउँछन् 

आइतबारको चिसोले अरूको घरमा कपडा धोएर आफ्नो दैनिकीलाई गुजार्ने व्यक्तिहरू झनै सास्तीमा परेका छन् । उनीहरू आगो ताप्न नभ्याउने समयमा तातो पानी पिएर जाडो कटाउँछन् ।

चिसो पानी छुन नसक्ने अवस्थामा अरूको घरमा गएर कपडा धुनु पर्दा निकै पीडा हुने अर्की एक महिलाले बताइन् । ‘बिहान र बेलुकी आगो तापे पनि दिउँसो घाम लागेको बेलामा लुगा धुन जान्छु । लुगा धुने समयमा घाम चर्को भए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन्, ‘चिसो पानीले हात सबै खाइसकेको छ । काम छोड्न पनि सकिन्न । छोराछोरीलाई बिहान बेलुकी खुवाउनकै लागि भएपनि बाध्य भएर काम गर्नै पर्छ ।’ चिसोको असरले बिरामी हुँदा धेरैपटक काममा जान नसकेको उनले बताइन् । 

चिसोको प्रभाव गृहिणीलाई बढी परेको देखिन्छ । हुन त चेतना वृद्धि र शिक्षाको पहुँचकै कारण पछिल्लो समय सबैजसो महिलाहरू घर बाहिरको कामलाई पनि राम्रो सहृमाल्छन् । तर, पुरुषको तुलनामा महिलाले बाहिर र भित्र दुवैतिरको कार्य सहृमाल्नुपरिरहेको अवस्था देखिन्छ । त्यसैले पनि पुरुषलाई भन्दा महिलालाई बढी चिसोको प्रभाव परेको देखिन्छ । 


Views: 29