22nd July | 2018 | Sunday | 8:51:19 PM

तीन महिलाको हत्या : हत्यारा पत्ता लागेन

  POSTED ON : Thursday, 11 January, 2018 (6:38:58 PM)

तीन महिलाको हत्या : हत्यारा पत्ता लागेन

चिसाङ शेर्पा 

काठमाडौं । केही समय यता खोटाङमा फरक फरक मितिमा तीन महिलाको हत्या भईसकेको छ । तर, हाल सम्म कसैको पनि हत्यारा पत्ता लाग्न सकेको छैन । २०७३ साल माघ २६ गते बुधबार विभत्स अवस्थामा मृत फेला परेकी खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रीता तामाङ, २०७४ साल जेठ १६ गते हत्या गरिएकी हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र २०७४ साल साउन ४ गते हत्या गरिएकी जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता लाग्न नसकेको हो । दोषीको पहिचानका लागि अनुसन्धान जारी रहेको भए पनि दोषी पत्ता नलाग्दा प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् ।

 

लामो समयसम्म दोषी पहिचान नहुँदा तीन महिलाको हत्या रहस्यमय बनेको छ । जघन्य घट्नामा संलग्न अपराधीको पहिचान नहुँदा सर्वसाधारणमा त्रास फैलिएको छ । हत्याको विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए । 


सिम्पानी बजारका होटल होटल व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीताको शव कुसेऔंशी जंगलको बाटोभन्दा करिब ४० मिटर तल भीरमा भेटिएको थियो । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । यस्तै, स्याउला काटेर घर फर्कनेक्रममा ज्ञानीमायाँको ईलाका प्रहरी कार्यालय महादेबस्थानभन्दा करिव पैदल पाँच मिनेटको दुरीमा हत्या भएको थियो । माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन फेला परेकी देवीको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घटनालाई शंकास्पद मानिएको छ ।