16th December | 2018 | Sunday | 7:26:41 PM

गाउँ पुगेकी उपमेयरसँग गुनासो

रमा लुइँटेल   POSTED ON : Tuesday, 13 February, 2018 (6:27:04 PM)

गाउँ पुगेकी उपमेयरसँग गुनासो

ललितपुर । गोदाबरी नगरपालिका ७ छोटीडाँडाकी सन्तमायाले आफ्नी उपमेयर मुना अधिकारीसँग भनिन्, ‘हामीलाई अलि सजिलो काम दिनुप¥यो, ज्यानले गाह्रो काम गर्न सक्दैन ।’ 

स्थानीय तह निर्वाचनमा आफूलाई मत दिएर निर्वाचित गराउने जनताका समस्या बुझ्न उपमेयर शनिबार दक्षिण ललितपुरका केही वडाका घरघर पुगेकी थिइन्  । सन्तमायाले सानैमा विवाह भएको अनि गर्भवती र सुत्केरीमा राम्रो स्याहार नहँुदा आफ्नो स्वास्थ्य कमजोर भएको बताइन् । सन्तमाया अहिले ४५ वर्ष उमेरकी छन् ।  सन्तमाया उमेरभन्दा धेरै पाको देखिन्छिन् । भूकम्पले भत्काएको घर बनाउन उनले महंगो ब्याजमा ऋण लिएकी छन् । ऋण तिर्न पनि सन्तमायाले केही न केही काम गर्नै पर्ने छ । उनका श्रीमान् सधैँ बिरामी छन् । बिरामी श्रीमान्बारे उनले भनिन्, ‘उपचार गरून्जेल सन्चो हुन्छन्, औषधि खान छोडेपछि फेरि उस्तै हुन्छन् ।’

सन्तमायाको कुरा सुनेपछि उपमेयर मुनाले कृषिलाई राज्यले प्राथमिकतामा राखेको बताउँदै आधुनिकढंगले कृषि गर्न नगरपालिकाले कार्यक्रम ल्याउने बताइन् । तरकारी खेतीका लागि बिउबिजनको व्यवस्था गर्न नगरपालिकाले काम थाल्ने प्रतिबद्धता व्यक्त गरिन् । उत्पादन बजारसम्म पु¥याउने व्यवस्था गर्न सके साग, काउली, मुलाजस्ता तरकारी खेतीबाट राम्रो आमदानी हुन्छ । ललितपुर जिल्लाभर खपत हुने तरकारी यहाँ उत्पादन गर्न सकिने यहाँका बासिन्दा बताउँछन् ।

नगरपालिका भए पनि छोटी डाँडा सडक र अन्य पूर्वाधारको पहुँचबाट टाढा छ । छोटीडाँडाकै मगर सिंहले एउटा विद्यालय चाहिएको बताए । चौबीस वर्षअघि स्थापना भएको छोटीडाँडा विद्यालय अहिलेसम्म पनि प्राथमिक विद्यालयकै रूपमा छ । यहाँ पाँच कक्षासम्म मात्रै पढाइ हुने भएकाले त्यसपछि अधिकांश बालबालिका पढाइ छाडेर मजदुरीतिर लाग्छन् ।  करिब ५० जना विद्यार्थी रहेको उक्त विद्यालयमा  स्रोतसाधनको पनि अभाव छ । 

उपमेयरलाई आफ्नो आँगनमा भेट्दा छोटीडाँडाका बासिन्दा निकै खुशी देखिन्थे । उनीहरूले आफ्नो समस्या र आवश्यकता खुलस्त सुनाए । यसअघि निर्वाचित भएपछि कुनै नेता फर्किएर नआएको उनीहरूले बताए ।

बाल क्लबकी मनु तामाडले गोदाबरी नगरपालिकाका देवीचौर, बुरुञ्चुली, छोटीडाँडा, देउरालीजस्ता ठाउँका जनताका लागि नगरपालिकाले जनचेतनामूलक कार्यक्रम ल्याउन उपमेयरसँग माग गरिन् । जनचेतना नभई विकास असम्भव रहेको उनले बताइन् । भनिन्, ‘चेतना भए पो पाँचपछि पनि विद्यालय खोज्दै अन्यत्र जान्छ, त्यसपछि यहाँ पनि कक्षा थप्नुपर्ने रहेछ भन्ने हुन्छ ।’ 

छोटीडाँडाका बासिन्दाको कुरा सुनेर उपमेयरले मुनाले जतिसक्दो छिटो यहाँका जनताको आधारभूत आवश्यकता पूरा र समस्या समाधान गर्न नगरपालिकामा छलफल गर्ने बताइन् । विकासको काम जनताको आवश्यकताअनुसार प्राथमिकीकरण गर्ने बताइन् । बस्तीस्तरको बाल समूह गठनको अनुगमन र निरीक्षणका क्रममा उपमेयर त्यहाँ पुगेकी थिइन् । 


Views: 18