18th February | 2018 | Sunday | 5:03:08 AM

शिवको ‘प्रसाद’ नपाउँदा शिवरात्रि पर्व नरमाइलो

पार्वती थापामगर   POSTED ON : Wednesday, 14 February, 2018 (9:17:19 AM)

शिवको ‘प्रसाद’ नपाउँदा शिवरात्रि पर्व नरमाइलो

काठमाडौं । मंगलबार दुईजना युवाहरू पिंगलास्थान आसपासका क्षेत्रका पान पसलमा निकै समयदेखि दौडधुप गरिरहेका थिए । प्रत्येक पान पसल धाइरहेका उनीहरू निराश हुँदै रित्तै फर्किइरहेका देखिन्थे । उनीहरू भगवान शिवको ‘प्रसाद’ भन्दै गाँजा तथा भाङको खोजीमा प्रत्येक पान पसल धाइरहेका थिए । 

आफ्नै साथीलाई एक युवक प्रश्न गर्दै थिए, ‘गतवर्ष त सजिलै पाइन्थ्यो, तर यसवर्ष पान पसलमा पनि भाङ भेटिँदैन, किन होला ?’ भाङ छैन ? भनी सोध्दा आफ्नो पूर्ण शरीर नियाल्दै छैन भन्दै फर्काइदिने गरेको उनको गुनासो थियो ।

‘एउटा भाङको १ सय रुपैयाँ तिर्नसमेत तयार थियौं’, शिवको प्रसाद सम्झिएर पहिलोपटक भाङको स्वाद लिन खोजेका उनले किन्न नपाएको गुनासो गरे । ‘सरकारले शिवरात्रिको बेलामा भन्दा पनि अन्य समयमा यस विषयलाई कडाइका साथ प्रतिबन्ध लगाउनुपर्ने हो । यसै बेलामा किन रोक लगाएको होला ?’ अर्का युवाले भने । उनले बिहान उठेदेखि १०÷१२ वटा पान पसल धाइसक्दा पनि भाङ नभेटिएको बताए ।

पशुपति क्षेत्र विकास कोषले मन्दिर आसपासका क्षेत्रमा माघ तेस्रो सातादेखि नै गाँजा, भाङ सेवन गर्नबाट रोक लगाएको थियो । कोषले विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रलाई लागूऔषधबाट मुक्त राख्न यस्तो निर्णय गरेको हो । 

अर्की नाम खुलाउन नचाहने एक किशोरी पनि हरेक शिवरात्रिको समय पारेर भाङ खाने गरेको बताउँछिन् । तर यसवर्ष कतै पनि भाङ नपाउँदा आफूलाई शिवरात्रि पर्व त्यति रमाईलो नलागेको उनले बताइन् । ‘यसदिन दुधमा मिसाएर सबैजसोले भाङ सेवन गर्ने भएकाले पनि मलाई पनि शिवरात्रिको दिन भाङ सेवन गर्नु कुनै नकारात्मक लाग्दैन,’ उनले भनिन् ‘हरेकदिन यसलाई लतकै रूपमा सेवन गर्नु गलत हो ।’ राजधानीमै बस्ने अर्की एक महिला पनि शिवरात्रिको समयमा भाङलाई शिवजीकै प्रसाद सम्झिएर सेवन गर्ने गरेको बताउँछिन् । ‘शिवजीलाई खुशी पार्नकै लागि दूधमा मिसाएर भाङ सेवन गर्ने गर्छु । तर, यसवर्ष कतै पाइएन,’ उनले भनिन् । ‘ब्ल्याक’ मा खोज्नलाई आफ्ना भाइहरूको सहायता लिँदासमेत नपाएको उनले बताइन् ।

वर्षमा उनी दुईपटक भाङ सेवन गर्ने गरेको उनी बताउँछिन् । होली पर्व र शिवरात्रि पर्वमा आफूले भाङ सेवन गर्दै आएको उनको भनाइ थियो । यसवर्ष सेवन गर्न नपाएको गुनासो गर्दै उनले भनिन्, ‘सरकारले शिवरात्रि पर्वमा मात्रै नभएर सदाका लागि भाङ उत्पादन गर्ने कम्पनीलाई नै बन्द गर्नुपर्छ । होइन भने यसरी वर्षमा एकपटक शिवको प्रसाद मान्दै भाङ सेवन गर्नेहरूलाई भाङबाट रोक लगाउनु हुँदैन’, उनले भनिन् । 

शिवरात्रि पर्वको अवसर पारेर गाँजा, भाङ सेवन गर्ने ३९ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै गाँजा, भाङ बेचेको आरोपमा दुईजना नागा ‘बाबा’लाई पनि प्रहरीले पक्राउ गरेको छ । गाँजा बिक्री वितरण र सेवन कानुनी रूपमा प्रतिबन्धित भएपनि सरकारले २००७ सालदेखि शिवरात्रि पर्वको बेला पशुपति आसपासका क्षेत्रमा खुलेआम शिवकै प्रसादकै नाममा वितरण गर्ने परम्परा थियो । पछिल्लो समय युवापुस्ताले अनैतिक ढंगले गाँजा, भाङलाई प्रयोग गर्न थालेपछि सरकारले यस्ता पदार्थ सेवनमा रोक लगाएको हो । 


सम्बन्धित सामग्री:

बाल समूह गठन

: Wednesday, 14 February, 2018 (9:08:26 AM)