19th August | 2018 | Sunday | 9:13:40 PM

रोजगारीका लागि भारत गएका महिला खाडीमा

रमेश भारती   POSTED ON : Wednesday, 14 February, 2018 (9:21:07 AM)

काठमाडौं । रोजगारीका लागि भारत गएका नेपाली महिला खाडी र मलेसियाका विभिन्न मुलुक पुग्ने गरेको तथ्य खुलेको छ । भारतमा रोजगारीका लागि भनेर गएका धेरै महिला मलेसिया, युएई, कुवेत, ओमन, साइप्रसलगायत मुलुकमा अवैध बाटो भएर पुग्ने गरेका हुन् ।

भारतको चेन्नाई ब्युटी पार्लरमा काम गर्न हिँडेकी धरानकी सुनिता केसी (नाम परिवर्तन) अहिले बहारइन पुगेकी छन् । परिवारले केसी बहारइन गएको तीन महिनापछि थाहा पाएका थिए । चितवनकी ललितमाया विश्वकमा (नाम परिवर्तन) भारतको हैदरावाद साथीसँग काम गर्न भन्दै परिवारबाट बिदा भएकी थिइन् । 

घरबाट हिँडेपछि सम्र्पकविहीन भएकी उनी ४ महिनापछि त्यहाँ कार्यरत एकजना छिमेकीले खबर गरेपछि उनी युएईमा भएको परिवारले थाहा पाएका थिए । यस्तै, भारतकै मुम्बाईको एक कपडा उद्योगमा काम गर्न गएकी झापा विर्तामोडकी सीतामाया सञ्जेल (नाम परिवर्तन) पनि साइप्रस पुगेकी छन् । सञ्जेलले साइप्रस पुगेको ३ महिनापछि मात्र परिवारलाई खबर गरेको परिवारले बताएका छन् । 

सञ्जेल र केसी भारत रोजगारीमा गएर सम्र्पकविहीन भएको भन्दै परिवारले वैदेशिक रोजगार विभागको हटलाइन टेलिफोनमा उजुरी गरेका थिए । केसी, विश्वकर्मा र सञ्जेल त प्रतिनिधि पात्रमात्र हुन्, उनीहरूजस्ता धेरै महिला भारत हुँदै मलेसिया र खाडीका मुलुक पुग्ने गरेका छन् । रोजगारीका लागि भारत भएर धेरै नेपाली युवती टर्की, साइप्रस, जोर्डनलगायत मुलुकमा पुग्ने गरेको पौरखी नेपालको एक अध्ययनले देखाएको छ । उपत्यका बाहिरका मुख्य शहरमा खोलिएका म्यानपावर कम्पनीका शाखा र शाखासँग आबद्ध टोले एजेन्टाले नेपाली महिलालाई भारत हँुदै खाडीभन्दा पनि अन्य नयाँ मुलुकसम्म पुण्याउने गरेका छन् ।

गत महिना कुवेतमा अलपत्र ९ जना नेपाली महिला भारत काम गर्न गएको तथ्य पत्ता लागेको कुवेतस्थित नेपाली दूतावासले जनाएको थियो । सरकारले घरेलु कामका लागि महिलालाई मलेसिया र खाडीका केही मुलुकमा जान रोक लगाएपछि भारतको हुँदै विदेशिने क्रम बढेको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङले बताइन् । 

उनले भनिन, ‘राज्यको आँखा अगाडि व्यक्तिगत श्रम स्वीकृति लिएर म्यानपावर व्यवसायीले अहिले पनि घरेलु कामका लागि महिला कामदार पठाइरहेका छन् । पछिल्लो समय व्यक्तिगत भिसामा खाडी र मलेसिया पुगेका अधिकांश महिला घरेलु कामका लागि नै पठाइएको पाइएको छ ।’ 

नेपालबाट रोजगारीका लागि भारत जानु नौलो होइन, खुला सीमाका कारण भारतमा रोजगारी गर्ने जाने जो कोहीलाई राज्यले नियन्त्रण गर्ने नसकिने वैदेशिक रोजगार विभागकी सहसचिव रमा भट्टराई बताउँछिन् । उनी भन्छिन्, ‘महिलाहरू भारतको बाटो हुँदै तेस्रो मुलुक कसरी पुगिरहेका छन् । यसको जड पत्ता लगाएर रोक्नु राज्यको दायित्व हो । अवैध बाटो भएर जाने प्रायः महिला अर्धशिक्षित हुन्छन् । अवैध बाटो भएर जाने महिला समस्या परे भने राज्यलाई उद्धार गर्न कठिनाइ हुन्छ ।’ स्वदेशमै राम्रो रोजगारी भएका महिला पनि राम्रो कमाई हुने प्रलोभनमा अवैध बाटो हुँदै विदेशिने गरेको सहसचिव भट्टराईको भनाइ छ । 

३५ प्रतिशत अवैध बाटो भएर विदेन्छि 

रोजगारीको खोजीमा ३५ प्रतिशतभन्दा बढी नेपाली महिला अवैध बाटो भएर विदेशिने गरेको प्रहरीको एक अध्ययनले देखाएको छ । वार्षिक १० हजारभन्दा बढी महिला भारत अथवा दोस्रो मुलुक भएर रोजगारीका खोजीमा जाने गरेका छन् । मासिक २ सयभन्दा बढी अवैध बाटो भएर बाहिरिन लागेका महिलाको उद्धार गर्ने गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

पौखरी नेपालको एक अध्ययनमा अवैध बाटो भएर रोजगारीको खोजीमा जाने महिला प्रायः परिवारबाट पीडित रहेका छन् । यसरी बाहिरिने ३० देखि ४० प्रतिशत श्रीमान्पीडित तथा सम्बन्ध विच्छेद भएका महिला रहेको अध्ययनमा उल्लेख छ । 

सरकारले खाडी र मलेसिया घरेलु काममा महिलालाई गत वर्षको चैतदेखि रोक लगाएको थियो । विदेशबाट फर्किएका महिलालाई समाजले नराम्रो दृष्टिकोणले हेर्ने करण पनि महिला पुनः रोजगारीका लागि विदेशिन बाध्य हुने गरेको बताइन्छ ।