24th April | 2018 | Tuesday | 4:20:40 AM

‘नो हर्न’ को एक वर्ष – साढे २१ हजारलाई कारवाही

बिनु लुइँटेल   POSTED ON : Monday, 16 April, 2018 (7:17:22 PM)

‘नो हर्न’ को एक वर्ष – साढे २१ हजारलाई कारवाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०७४ वैशाख १ गतेबाट थालेको ‘नो हर्न’ अभियानले  एक वर्ष पूरा गरेको छ ।  महाशाखाले थालेका विभिन्न सकारात्मक अभियानमध्ये ‘नो हर्न’ पनि एक हो । 

महाशाखाले अभियान सञ्चालन गरेको  दिनदेखि २०७४ चैत्र मसान्तसम्ममा उपत्यकाभित्र मात्र २१ हजार ५२४ सवारी साधनका चालकलाई कारबाही गरेको छ । यसरी कारबाहीमा परेका सवारीचालकसँग प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले जरिवाना लिने गरिएको छ । 

 यसरी जरिवाना स्वरुप एक वर्षमा १ करोड ७ लाख ६२  रुपैयाँ राजस्व संकलन भएको छ ।  सबैभन्दा धेरै सञ्चालन भएको महिना अर्थात अघिल्लो वर्षको वैशाखमा २ हजार ७०० भन्दा बढी सवारीसाधनका चालक कारबाहीमा परे भने सबैभन्दा कम चैत  महिनामा परेका छन् । चैत्र मसान्त सम्ममा  ९ सय ६० मात्र सवारी साधनका चालकलाई कारबाहीको दायरामा ल्याइएको महाशाखाले उल्लेख गरेको छ ।     

 २०७४ वैशाख १ गतेदेखि ‘नो हर्न’ अभियान काठमाडौं उपत्यकामा मात्र लागू गरिएको  भएपनि  अभियान सफल बन्दै गएपछि  पुनः देशैभरि सञ्चालनमा रहेको छ । जसमा बजाउनैपर्ने अवस्था नहँुदा पनि  अनावश्यकरूपमा  हर्न बजाउने सवारी साधनलाई कारबाही गरिदै आएको छ । 

जभाभावी हर्न बजाउनेविरुद्धको अभियानले धेरै सफलता पाएको भएपनि  सडक प्रयोगकर्ता आफंै सचेत नहुँदा अझै प्रभावकारी बन्न नसकेको प्रहरीको बुझाइ पाइएको छ ।  महाशाखाका सहायक प्रवक्ता मुकुन्द मरासिनी भन्छन्, ‘नो हर्न जस्ता धेरै अभियानलाई प्रभावकारी बनाउन सकिन्छ तर सडक प्रयोगकर्ताको ढाँट्ने र झुट बोल्ने प्रवृत्तिलाई पहिला अन्त्य  गर्नु जरुरी रहेको छ ।’