24th April | 2018 | Tuesday | 4:18:34 AM

ऐतिहासिक स्थल रुकुम खारा

विपेन उलङ्गे   POSTED ON : Tuesday, 17 April, 2018 (1:02:33 PM)

ऐतिहासिक स्थल रुकुम खारा

लामो समय अन्यौलमा रहेको रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको केन्द्रको टुंगो लागेको छ । यो विषय विगत लामो समयदेखि अन्यौलमा रहँदै आएको थियो । विवादका बावजुत यस गाउँपालिकाको केन्द्र बहुमतका आधारमा ‘खारानेटा’ तोकिएको छ ।  गाउँ कार्यपालिकाको आठौं बैठकबाट बहुमतले गाउँपालिकाको केन्द्र वडा नं. ३ र ६ मा पर्ने खारानेटालाई तोकेको हो  । यो गाउँपालिका दुरी यातायात सञ्चालन, विद्युत्सेवा आदिका कारणले उपयुक्त मानिँदै आएको छ । १८ जना कार्यपालिका सदस्यमध्ये १४ जनाले यसलाई स्वीकार गरेर केन्द्र पारित गरेको बताएका छन् । वडा नम्बर ३, ५, ६, ८, ९, १० का वडा अध्यक्ष तथा सदस्यहरूको यसमा समर्थन थियो । यद्यपि वडा नम्बर ८ का केही प्रतिनिधिको भने यसमा असहमति थियो । उक्त केन्द्रमा वडा नं.१, २, ४ र ७ का जनप्रतिनिधिहरू पनि रहेका थिए । सुरुमा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले वडा नम्बर ७ मा रहेको मेलपोखरीलाई केन्द्र तोकेको थियो । उक्त केन्द्रमा विवाद आएपछि गत असोज ६ र ७ गतेको गाउँकार्यपालिका बैठकले बहुमतकै आधारमा गाउँपालिकाको केन्द्र सिम्रुतु–खारानेटालाई तोकेको हो । खारानेटा  र सिम्रुतुबीच करिब ७ किलोमिटर लामो दुरी भएकाले सिम्रुतु कि खारानेटा भन्ने विवाद हुँदै आएको थियो । यद्यपि असोजको निर्णयअनुसार राजपत्रमा सिम्रुतु–खारानेटा उल्लेख गरिएको थियो । तर, यसले पनि केन्द्र खारानेटा वा सिम्रुतु कहाँ रहने भनेर टुंगो लागेन । 

लामोसमय यहाँ गाउँपालिको केन्द्र अन्यौलमा रहेका कारण  भौतिक संरचनाको तयारी बेलामा हुन सकेको थिएन । त्यस कारणले गाउँपालिको सेवा प्रवाहमा असर परेको कुरा जनप्रतिनिधिहरूले बताउँदै आएका छन् । केन्द्र कुनै एक ठाउँ तोक्नुपर्ने विवादबारे उच्च अदालत तुलसीपुरमा रिटसमेत परेको थियो । अदालतले गाउँपालिकाको केन्द्रको विवाद स्थानीय तहमै मिलाउनू भन्दै रिट खारेज गरिदिएको थियो । आवश्यकताअनुसार स्थानीय तहको केन्द्र, स्थानीय जनप्रतिनिधिहरूबाटै बहुमतको आधारमा तोक्न सकिने व्यवस्था अनुसारनै अहिले यो गाउँपालिकाको केन्द्र खारानेटा रहने निर्णय पारित भएको बताएको छ । गाउँपालिकाको केन्द्रका लागि  ४७ घरधुरीले करिब ७० रोपनी जग्गा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको बताइएको छ । 

रुकुम खारा  युद्धकालीन  ऐतिहासिक ठाउँ हो । त्रिबेणी गाउँपालिकाको केन्द्र तोकिएको उक्त स्थान रुकुमको निकै चर्चित खारा ब्यारेकदेखि केही पर छ । जनयुद्धताका खारामा हजारौंले प्राण त्याग गरेको इतिहास छ । यो ब्यारेक तत्कालीन मुरु गाविसको वडा नं.२ मा रहेता पनि धेरैले यसलाई ‘खारा ब्यारेक’ भनेर चिन्छन् । 

अझैपनि सेनाको  देवी दल गणको एक गुल्म यहाँ बसिरहेको छ । करिब १५–२० रोपनी खुला चौर अनि खुला डाँडोलाई सेनाले मौजा बुझाउँदै आएको छ र यहाँ बस्दै आएको छ । यद्यपि स्थानीयहरूले भने सेनाले त्यो ठाउँ छोडिदेवस् भन्ने चाहेका छन् । सेनाले छोडिदियो भने मात्र यो ठाँउको विकास हुन्छ भन्ने उनीहरूको आशा रहेको छ । स्थानीयहरू भन्छन्  ‘द्वन्द्वकालमा सेना बसेकै कारण दिनरात मृत्युसँग जुधेर बचियो ।’ 

अझै पनि  सेनाले उक्त स्थान नछोड्दा स्थानीयले गौचरण, खेलकुद, फराकिलो जग्गाबाट प्राप्त विकास कार्यबाट वञ्चित भएको आभास गरेका छन् । एकजन स्थानीय महिला भन्छिन् ‘पहिला त्यो सेना बसेको डाँडामा जाँदा रुकुमका सबै भूभाग देखिन्थ्यो । सेनाले कब्जा गरेको यो करिब १६–१७ वर्षको अवधिदेखि त्यो ठाउँ हेर्न पाइएको छैन । कस्तो भएको छ होला ¤ त्यो ठाउँ भनेर हेर्न मन लागेको छ ।’ स्थानीयहरूको यस्तो अपेक्षा भए तपानि सेनाले भने त्यहाँ घरटहराहरू बढाउँदै लगिरहेको छ ।

ब्यारेकका वरिपरि अझैपनि नहटाएका विभिन्न धरापयुक्त तारबार रहेका छन् । सेनाले उक्त तारबार नहटाउँदा घाँसपात काट्न पनि मुस्किल हुने गरेको स्थानीय महिलाहरूको गुनासो छ ।  सेनाले उक्त जग्गा छाडेमा वा सीमित क्षेत्रमात्र प्रयोग गरेमा गाउँपालिकाका लागि आवश्यक कार्यालय तथा संरचना बनाउन सक्ने कुरा स्थानीय जनप्रतिनिधिहरूले बताउँदै आएका छन् । 

जनयुद्धकालमा खारामा विभिन्न चरणमा नेपाली सेना र माओवादी सेनाबीच भीषण युद्ध भएको थियो । त्यहाँ ज्यान गुमाउनेको संख्या हजारौं भएपनि कसैसँग त्यसको निश्चित तथ्यांक छैन । खारा ब्यारेक आसपासमा सयौंको संख्यामा सामूहिक चिहान रहेका छन् । युद्धका समयमा ज्यान गुनाउनेको संख्या धेरै भए तापनि कुनै पनि निकायले यसबारे चासो राखेको देखिँदैन । स्वयं माओवादीले पनि त्यहाँ मारिएका आफ्ना मृतक योद्धाको आँकडा संकलनका लागि खासै चासो रखेको पाइँदैन् । 

जनयुद्धको समाप्तिपछि माओवादीको सरकार बन्यो दुईपटक त माओवादी पार्टीकै नेता प्रधानमन्त्री भए । अरू पार्टीसँग सहकार्य गरेर पनि प्रायः माओवादी सरकारमा रहेकै छ । तर, आफूले युद्ध लडेको यो ऐतिहासिक ठाउँको विकास र आफ्ना मृतक कार्यकर्ताको खोजीका लागि उनीहरू रुचि देखाएनन् । अहिले पनि यहाँका सामूहिक चिहानमा अस्तिपञ्जरहरू यत्रतत्र छरिएका छन् तर सरकारमा महŒवपूर्ण मन्त्रालय ओगटेर बसेको माओवादीले  यसप्रति चासो नदेखाउँदा ऊ यस स्थानका बारेमा थाहा पाउँदा पाउँदै पनि बेखबर झै बनिरहेको त छैन भन्ने प्रश्न उठिरहेको छ ।