18th August | 2018 | Saturday | 12:39:21 PM

राजधानीमा अधुरो सपना

पार्वती थापामगर   POSTED ON : Tuesday, 15 May, 2018 (1:41:05 PM)

राजधानीमा अधुरो सपना

काठमाडौं । ‘गाउँमै खुसी थिएँ, स्कुल जान्थेँ । पढाइमा पनि साथीहरू भन्दा केहि अगाडि नै थिएँ । साथीहरूसँग खेल्न पनि पाइन्थ्यो । यहाँ कहिल्यै खेल्न पाइँदैन । बहिनी भुल्याउनुपर्छ, बहिनी नरोएको बेला भाडा माझ्नुपर्छ, सधै रोइरहन्छे, फकाउन गाह्रो हुन्छ । फकाउन नसक्दा उसैसंग रुन्छु,’ कक्षा ४ मा पढ्ने रामेछापका १० वर्षीय एक बालकले दुःखेसो पोखे ।

राजधानीको मैतिदेविस्थित एक किराना पसलमा मलिन अनुहारमा भेटिएका ती बालक राजधानी पसेको ६ महिना भइसकेको छ । गाउँमा आएका एक जना छिमेकीले उनका पढाइदिने शर्तमा उनलाई काठमाडौं लिएर आएका थिए । तर, अहिलेसम्म पनि उनी शहरको स्कुल गाउँको भन्दा निकै राम्रो होला भन्ने विश्वासमा छन् । पढ्न नपाए पनि गाउँ जानुभन्दा पहिले एक पटक उनलाई राजधानीको स्कुल जाने रहर छ ।

ती बालकले भने, ‘आमा र बुवाले शहरमा राम्रो पढ्न पाउँछस् भनेर शहर आएको थिएँ तर अहिलेसम्म स्कुल जान पाएको छैन । अंकल र आन्टी काममा जानुहुन्छ । दिनभरि बहिनी र म मात्रै हुन्छौं । अहिले त बहिनी सुतिराखेकी छे । मैले यो पसल बाहेक अरू कहि पनि चिनेकै छैन । आमा बुवा र साथीहरूको धेरै याद आउँछ ।’ 

उनलाई पढाइदिने भन्दै राजधानी लिएर आएका आफन्तले उनलाई घर जान दिएका छैनन् । बेलाबेलामा आमा र बुवासँग फोनमा बोल्न पाइने उनले बताए । उनले आफ्ना आमा र बुवालाई पनि सधै पढ्न गइरहेको झुटो कुरा बताउनु परेको उनले गुनासो पोखे । ‘कहिलेकाहीँ भागेर जान मन लाग्छ, तर बाटो थाहा छैन । म कहाँ छु भन्ने पनि मलाई थाहा छैन । कतै हराएको जस्तो लाग्छ,’ उनले भने ।

‘कक्षाको सबै साथीहरूलाई पनि शहर गएर धेरै पढेर आउछु भनेको थिएँ तर साथीहरूहको अगाडि मलाई लाज लाग्ने भयो । स्कुल जान्छु भन्यो भने बहिनी कसले हेर्छ भाडा कस्ले माझ्छ भनेर आन्टीले कराउनुहुन्छ,’ उनले रुँदै भने । 

उदयपुर कटारीका १४ वर्षीय सुमिन परियारको दुःखेसो पनि निकै दयनीय छ । सुन्धारादेखि, रत्नपार्क हुँदै नयाँ बानेश्वर, गौशला, चावहिल, चक्रपथ, नयाँ बसपार्क रुटमा चल्ने माइक्रो बसको झ्यालमा झुण्डिएर दिन बित्छ । बिहान ४ देखि बेलुकी ८ बजेसम्म यसरी परिश्रम गर्ने उनले पनि अहिलेसम्म पढ्न पाएका छैनन् । उनी पनि कक्षा पाँचमा पढ्दा पढ्दै आमाको मृत्यु भएपछि गाउँको एक जना दाजुसंग रोजगारी खोज्दै राजधानी छिरेका थिए ।

‘बुवाले अर्की आमा विवाह गरेपछि मलाई घर बस्नै मन लागेन । गाउँका सबैले सौतेनी आमा कहिले पनि आफ्नी आमा हुन सक्दैन भन्नुहुन्थ्यो । बहिनी सानी नै छे,’ उनले भने ‘बहिनीलाई पढ्ने खर्च पठाउँछु । बहिनी कै मायाले दशैँमा सधै घर जान्छु ।’

दोलखाका १५ वर्षीय प्रदीप सुनार पनि सेतोपुल नजिकैको एक मःमः  पसलमा काम गर्छन् । उनले पनि घरको आर्थिक स्थिति कमजोर भएका कारणले एक वर्षअघि राजधानी छिरेका हुन् । 

कक्षा ७ मा पढ्दा पढ्दै स्कुल जान नपाएपछि उनी रोजारीको खोजीमा काठमाडौं आइपुगेका थिए । उनी पसलमा भाडा माझ्ने मात्रै नभएर आएका ‘कस्टमर’ लाई खाजा पु¥याइदिने काम समेत गर्छन् । आफूभन्दा मुनिका ५ जना भाइबहिनी भएको उनले सुनाए । ‘आफ्नो जग्गा छैन । आमाबुवा दिनभरी अरूकोमा काम गर्नुहुन्छ । त्यहिँबाट आएको केही पैसाले विहान बेलुकी छाक टथ्र्याे । मैले पनि कक्षा ७ सम्म अरुकै घरमा काम गरेर आएको पैसाले पढेको । पछि क्लास बढ्दै गएपछि पैसा पनि बढेकेले आमाबुवाले नपढ्नु भन्नु भएर म काठमाडौं आएको हुँ ।’ 

उनी अहिले धेरै पैसा कमाएर परिवारलाई सहयोग गर्ने सोचमा छन् । यसको लागि पसलमा आएका धेरै ग्राहकसँग आफुले कुरा समेत राखिरहेको उनले बताए । 

काठमाडौमा धेरै बालकहरू सार्वजनिक यातायातको झ्यालमा झुण्डिएर सहचालकको रूपमा काम गर्छन् । यसैगरी बालविकास समाज र सेभ अफ चिल्ड्रेनले सन् २०१५ मा भक्तपुरको १५ वटा इँटाभत्तामा गरेको अध्ययनले ४९० बालबालिका प्रत्यक्ष काममा संलग्न छन् । 

अधिकांश बालबालिका चिया पसल, मःमः पसल, मिठाइ पसल, इटाभट्टा, कृषि, घरेलु, भरिया र सडकमा बाल श्रमिकका रूपमा कार्यरत छन् ।