18th October | 2018 | Thursday | 7:01:29 AM

लुट फिल्म निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

हिमालय टाइम्स   POSTED ON : Thursday, 17 May, 2018 (2:55:11 PM)

लुट फिल्म निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ

काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट दुई करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चलचित्र निर्माता माधव वाग्लेसमेत छन् । महानगरीय प्रहरी परिसरअन्तर्गत महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कको सक्रियतामा वाग्लेसहित सुर्खेतका महेन्द्र बोगटी, सिन्धुलीका सुजित तामाङ, साजन तामाङ, धादिङका प्रकाश सुवेदी र भक्तपुरका विवेक नापितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गरी नक्कली नोट र नक्कली नोट छाप्न प्रयोग हुने मेसिनसहित उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार निर्माता वाग्लेलाई बुधबार उनकै कोठाबाट दुई करोड ५२ लाख रुपैयाँ बराबर नक्कली नोटसहित पक्राउ गरिएको हो । त्यस्तै बोगटीलाई मंगलबार एक लाख २० हजार रुपैयाँ, सुजित र साजनलाई सात लाख ४३ हजार रुपैयाँ बराबरका नक्कली नोटसहित पक्राउ गरिएको जनाइएको छ । 

परिसरका प्रमुख विश्वराज पोखरेलका अनुसार नक्कली नेपाली नोट बरामद भएको यो हालसम्मकै ठूलो परिमाण हो ।

प्रहरीका अनुसार नयाँ बसपार्कस्थित एक होटलमा खाजा खाएको रकम भुक्तानी गर्ने क्रममा बोगटीले दिएको नोट उक्त होटल सञ्चालकलाई शंका लागेर प्रहरीलाई खबर गर्दा नक्कली रहेको पत्ता लागेको थियो । प्रहरीले बोगटीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनका साथबाट एक लाख २० हजार परिमाणको नक्कली नोट बरामद भएको प्रहरी प्रभागका प्रमुख प्रताप पौडेलको भनाइ छ ।

बोगटीकै सूचनाका आधारमा मंगलबार सुजित र साजनलाई प्रहरीले लुभुुबाट नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनजनाकै बयानका आधारमा प्रहरीले बुधबार निर्माता वाग्लेको कोठामा खानतलासी गरी नक्कली नोट बरामद गरेको हो ।

नक्कली नोट बागबजारस्थित नवज्योति प्रेसका सञ्चालक प्रकाश सुवेदीले सोही स्थानमा सञ्चालित जय भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालक विकेश नापितलाई छाप्न दिने गरेको समेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।


Views: 20