16th December | 2018 | Sunday | 12:01:34 PM

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

  POSTED ON : Tuesday, 12 June, 2018 (7:39:24 PM)

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन


सिन्धुली । अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । 

गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि लोकमार्ग अवरुद्ध भएको थियो । फिक्कल गाउँपालिका–२ सुनामबेँसीमा माथिबाट खसेको लेदो जेसिबीले हटाएपछि अहिले दिउँसोबाट पूर्णरुपमा सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । 

सडकमा लेदो थुप्रिँदा राजधानी हिँडेका सवारी साधन र राजधानीबाट ओखलढुङ्गा, खोटाङलगायतका जिल्लातर्फ गुडेका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका छन् । 

गएराति जिल्लाको धेरैजसो भूभागमा अविरल वर्षा भए पनि लोकमार्ग अवरुद्धबाहेक अन्य क्षति नभएको जानकारी दिँदै उनले वर्षात्को समय भएकाले खोला तथा नदी आसपासका वासिन्दालाई सचेतपूर्वक बस्न र कुनै जोखिम भएमा तत्काल प्रहरीलाई खबर गर्न पनि आग्रह गरे । 

रासस


Views: 13