22nd September | 2018 | Saturday | 6:28:24 PM

विभिन्न क्रियाकलाप गर्दै बाल श्रम विरुद्ध बाल दिवस मनाइयो

अनिल पोखरेल   POSTED ON : Tuesday, 12 June, 2018 (10:00:45 PM)

विभिन्न क्रियाकलाप गर्दै बाल श्रम विरुद्ध बाल दिवस मनाइयो

राजविराज । बालश्रमको प्रयोग नगरौ, युवा रोजगारलाई प्रवद्र्धन गरौं भन्ने नाराका साथ विश्व बाल दिवस मनाइएको छ । 

 मंगलबार राजविराजमा बालबालिकाहरुले प्रभात फेरी र बक्तृतवकला प्रतियोगिता गरेर १८औं बालश्रमविरुद्ध विश्व दिवस मनाएका हुन् । 

राजविराज नगरपालिकाको सहयोगमा नगरस्तरिय बाल सञ्जालद्वारा निकालिएको प्रभात फेरीले बालश्रमविरुद्ध नारा लगाउँदै नगर परिक्रमा गरेको छ । प्रभात फेरीसँगै बालबालिकाहरुले श्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गर्दै पसलहरुमा पर्चा, पोस्टर वितरण गरे ।

नगरपालिकाको सभाकक्षमा आयोजित बक्तृत्वकला प्रतियोगितामा वडा प्रथम, द्वितिय, तृतिय र सान्तवना भएका बिजेताहरुलाई प्रमुख प्रशासकिय अधिकृत चन्द्रबहादुर कार्की, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, गायतले पुरस्कार वितरण गरे । सहभागी सबै बालबालिकालाई उपहारस्वरुप कपी, कलम प्रदान गरिएको थियो ।

नगर बाल सञ्जालका आशिष परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रन्जना चौधरीले गरिन् ।

निकृष्ठ प्रकारको बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि र श्रममा संलग्न हुने न्यूनतम उमेरसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको स्मरणमा १२ जुनलाई बालश्रम विरुद्धको विश्व दिवसका रुपमा संसारभरी मनान्छ । 

श्रमशक्ति २०६६ अनुसार नेपालमा नौ लाख बालिका र सात लाख बालक गरी १६ लाख बालबालिका श्रमिकको रुपमा काम गर्न बाध्य छन् । तीमध्ये छ लाख २१ हजार बालबालिका जोखिमयुक्त श्रममा रहेका छन् । नेपालमा ६ लाख २१ हजार बालबालिकालाई जोखिमपूर्ण श्रममा संलग्न गराइएको छ । घरेलु श्रममा संलग्न ५६।८५ प्रतिशत बालबालिकाहरु यौनदुव्र्यवहारमा परेको पाइएको छ । यस्तै ४५ प्रतिशत भन्दा बढी बालबालिका बिद्यालय जानबाट बञ्चित छन् ।

नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा १० ले कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउने कार्य कानुन बमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनेर प्रावधान राखेको छ ।

बालबालिकालाई श्रमिकको रुपमा काम लगाउनेलाई एक वर्षसम्म कैद र ५० हजार सम्म जरिवाना वा दुबै सजायको व्यवस्था गरिएको छ ।

बालश्रम ऐन २०५६ र यसको नियमावली २०६२ मा १४ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई श्रमिकको रुपमा कुनै काममा लगाउन नपाइने र १६ वर्र्ष उमेर नपुगेकालाई जोखिमपूर्ण काम वा व्यावसायमा लगाउन नपाइने प्रावधान रहे पनि जिल्लाका होटल, ग्यारेज, ईटा भट्टामा सयौको संख्यामा बालमजदुर रहेको बाल सञ्जालकी खुश्बु सिंहले बताइन् । 


तस्विर : राजविराज नगर परिक्रमा गरेर बालश्रमविरुद्ध विश्व दिवस मनाउँदै बालबालिकाहरु । 


Views: 0