25th June | 2018 | Monday | 9:43:02 PM

महानगरका वडामा कामको प्रतिस्पर्धा

बिनु लुइँटेल   POSTED ON : Thursday, 14 June, 2018 (5:46:48 PM)

महानगरका वडामा कामको प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ वटा वडा कार्यालयहरूले विकास निर्माणका काम अघि बढाउन थालेका छन् । वडा नं ७ ले आफ्नो वडामा रहेका महŒवपूर्ण स्थानहरू खोजी गरेर विश्वलाई चिनाउने र क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उद्देश्यले काम थालेको छ । ऐतिहासिक महŒवका सम्पदाहरू रहेको वडा ७ लाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सम्पदाहरूको खोजी, तथा सडक मर्मतसम्भार, ढल निकास, खानेपानी व्यवस्था लगायतको काम सुरु गरेको छ । 

घ्याम्पे पाटी, कुटुबहाल, पिंगला बिहार, लामपोखरी गणेश स्थान, शहीद धर्मभक्तले सहादत प्राप्त गरेको ठाउँ, बंगलामुखी, कैजु बहाल, धम्बोजी चैत्य, भैरवहिटी, गंगाहिटी, भैरव धारा लगायतका ऐतिहासिक तथा सम्पदा यसै क्षेत्रमा रहेको वडाको भनाइ छ । यी सम्पदाहरू चिनाउन सक्दा वडालाई पर्यटकीय क्षेत्र बनाउन सकिने वडा अध्यक्ष शुद्धकुमार डंगोलको भनाइ छ । उनले वडा नं ८ सँग पनि सहकार्य  गरेर पर्यटकीय स्थल बन्न योग्य ठाउँको खोजी गरी विकास गर्न छलफल भइरहेको बताए । 

डंगोलले वडा ७ मै पर्ने चावहिलमा रहेको चारुमती स्तुपाको मर्मतसम्भारको काम समेत सुरु भएको जानकारी दिए । उनका अनुसार यस स्तुपालाई पर्यटकीय स्थल बनाउने उद्देश्यले यही आर्थिक वर्षभित्र मर्मतसम्भार सम्पन्न गर्न धमाधम काम भइरहेको छ । बौद्धनाथ स्तुपभन्दा पनि पुरानो र ऐतिहासिक यो सम्पदाको संरक्षण नहँुदा ओझेलमा पर्दै गएकोले संरक्षण गरेर पर्यटकीय स्थल बनाउन लागिएको वडा अध्यक्ष डंगोलको भनाइ छ । यसका मर्मतसम्भारका लागि सहरी विकास तथा भवन निर्माण विभागले एक करोड रुपैयाँको टेन्डर आहृवान गरेको भए पनि ८३ लाखमा काम भइरहेको जनाइएको छ । चालु आर्थिक वर्षभित्रै काम सम्पन्न गर्ने वडा अध्यक्ष डंगोल बताउँछन् । लामा पोखरीमा रहेको पिंगलाविहारको समेत मर्मत गरिने उनले बताए । 

वडा नम्बर ६ ले पनि विभिन्न योजनाहरू कार्यान्वयन थालेको छ । वडाका  भित्री सडक पिच गर्ने, सडक मिचेर बनाइएका घरटहरा हटाउनेदेखि युवाहरूलाई सीपमूलक तालिम दिने र हरियाली शहर बनाउने उद्देश्यका साथ काम सुरु गरिएको वडा अध्यक्ष दीपक केसी बताउँछन् । सर्वसाधारणलाई छिटोछरितो सेवा दिन उनीहरूकै इच्छाअनुरूप आफूहरूले काम गर्ने कोसिस गरिरहेको उनको भनाइ छ । अध्यक्ष केसीले भने, ‘सर्वसाधारणको इच्छा र चाहनाअनुसार विकास गर्न सकेमात्र सबै कुरा सफल हुने विश्वासका साथ काम गरिरहेका छौँ ।’   

वडा नम्बर १८ ले पनि विभिन्न योजनाका काम अघि बढाएको छ । अहिले वडा १८ ले महानगर विशेष भत्तावितरण, ज्येष्ठ नगारिक मनोरञ्जन सेवा केन्द्र स्थापना लगायतका अन्य कामहरू अगाडि बढाएको जानकारी दिएको छ ।  वडाले वृद्धावृद्धहरूलाई दिक्दार लाग्दो र शहरी क्षेत्रको एक्लो जीवनशैलीबाट मुक्त गर्न ज्येष्ठ नागरिक मनोरञ्जन सेवा केन्द्र स्थापना गरेको जनाइएको छ । प्रविधियुक्त सामान तथा उपकरण चलाउन नजान्ने ज्येष्ठ नागरिक केन्द्रमा आउने र भजनकीर्तनमा सहभागी हुने र उनीहरूलाई ऊर्जा मिल्ने वडा अध्यक्ष न्हुन्छेकाजी महर्जन बताउँछन् । 

अहिले उक्त केन्द्रमा तबला, पछिमा, बाँसुरी, मादलजस्ता वाद्ययन्त्र राखिएको र यसका लागि २ लाख रुपैयाँभन्दा धेरै खर्च भएको वडा अध्यक्ष महर्जनको भनाइ  छ । उनका अनुसार हाल वडामा ६० वर्ष उमेर पुगेका सात सय नागरिक रहेको र तीममध्ये छ सयलाई ज्येष्ठ नागरिक परचयपत्रसमेत प्रदान गरिएको छ । वडाभित्रको भौतिक संरचना सुधारको काम पनि चलिरहेको महर्जनले बताए । 


सम्बन्धित सामग्री:

बालिका बलात्कृत

: Monday, 25 June, 2018 (4:37:19 PM)