18th November | 2018 | Sunday | 5:35:08 PM

सुन तस्करी प्रकरण : जिल्ला अदालत मोरङको अनुमति लिएर ‘सिलबन्दी’

हिमालय टाइम्स   POSTED ON : Thursday, 14 June, 2018 (5:53:05 PM)

सुन तस्करी प्रकरण :  जिल्ला अदालत मोरङको अनुमति लिएर ‘सिलबन्दी’

काठमाडौं । साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा अनुसन्धान गरिरहेको विशेष अनुसन्धान समितिले काठमाडौंका विभिन्न स्थानमा सञ्चालित ‘बाजेको सेकुवा’ रेस्टुराँमा छापा मारेको छ । सुन तस्करी र शाक्य हत्या प्रकरणमा संलग्न भनिएका चेतनाथ (चेतन) भण्डारीको स्वामित्वमा सञ्चालित अनामनगर, सोह्रखुट्टे, सामाखुसी, बत्तीसपुतली, कमलपोखरी र गैरीधारास्थित रेस्टुराँमा बुधबार छापा मारिएको हो ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले संगठित सुन तस्करी र शाक्य हत्या प्रकरणमा संलग्न व्यक्तिका घर, पसलमा छापा मार्दै आएको छ । यसअघि सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार (एमके) अग्रवाल बस्दै आएको घर तथा तस्करीका सुन बेचबिखन गर्दै आएको भनिएको आरके ज्वेलर्समा समितिले छापा मारेको थियो । आरके ज्वेलर्स पनि गहना र सुन बरामद गरेर सिलबन्दी गरिएको छ । 

समितिका अनुसार जिल्ला अदालत मोरङको अनुमति लिएर ती रेस्टुराँको कारोबार रोक्का र होटल बन्द गराई सिलबन्दी गरिएको छ । कुनै सामग्री बरामद भने बरामद नगरेको जनाइएको छ । उनका विरुद्ध मोरङ जिल्ला अदालतमा तस्करी, हत्या, अपहरण, शरीर बन्धक लगायतको मुद्दा चलाइएको छ । सञ्चालक भण्डारी भने सुन तस्करी प्रकरण सार्वजनिक भएदेखि नै फरार छन् । समितिले भण्डारी संगठित रूपमा सुन तस्करीमा संलग्न रहेको र त्यसबाट आर्जित रकम उनले रेस्टुराँमा लगानी गरेको दाबी गर्दै आएको छ । उनले सुन तस्करीमा लगानी गरेको समितिको निष्कर्ष छ । यसअघि नै भण्डारीको अन्य भौतिक सम्पत्ति र बैंक खाता रोक्का गरिएको छ ।

समितिका अनुसार भण्डारी सुन तस्करीका मुख्य नाइके भनिएका चूडामणि उप्रेती (गोरे) सँग निकट सम्बन्ध रहेका व्यक्ति हुन् । तस्करी प्रकरणमा भण्डारी प्रत्यक्ष संलग्न नरहे पनि तस्करीका लागि चाँजोपाँजो मिलाउनेदेखि लिएर तस्करीको रकम लगानी गर्नेमा भण्डारी संलग्न रहेको बताइएको छ । साढे ३३ किलो सुन तस्करी र सनमको हत्या प्रकरणबाट छानविन थालेको टोली एउटै समूहबाट करिब ३८ क्विन्टल सुन तस्करी भएको निष्कर्षमा पुगेको छ । मुख्य लगानीकर्ता भनिएका एमके के अग्रवाल फरार छन् । 

समितिका अनुसार बाजेको सेकुवा नाममा काठमाडौं उपत्यका र बाहिर गरी हाल १३ रेस्टुराँ सञ्चालनमा छन् । तीमध्ये पाँचवटाको स्वामित्व भण्डारी र एउटा उनको सालाको नाममा छन् । अन्यले भने ब्रान्डका रूपमा नाम प्रयोग गरेको जनाइएको छ । उनले विदेशमा समेत व्यवसाय विस्तार गरेका छन् । 


Views: 16