21st November | 2018 | Wednesday | 2:09:44 AM

आइपुगे प्रदूषण नाप्ने यन्त्र

हिमालय टाइम्स   POSTED ON : Wednesday, 11 July, 2018 (3:53:11 PM)

आइपुगे प्रदूषण नाप्ने यन्त्र

काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण मापन यान्त्र काठमाडौं ल्याइएको छ । यातायात व्यवस्था विभागले सवारीसाधनको प्रदूषण मापन गर्ने ४० थान मेसिन काठमाडौं ल्याएको हो । 

यातायात व्यवस्था विभागले ४० थान मेसिन ल्याउन १ करोड ४० लाख रुपैयाँ बराबरको लागत लागेको बताएको छ । यातायात प्रदूषण मापन गरी चल्न योग्य रहेका सवारीसाधनलाई विभागले हरियो स्टिकर दिँदै आएको छ । तर अहिले प्रदूषण मापन गर्न प्रयोग गरिएका यान्त्रले भन्दा केही फरक तरिकाले यी यन्त्रले काम गर्ने विभागको भनाइ छ । हाल भएका सवारीसाधन प्रदूषण यन्त्र पुरानो शैलीका र दैनिक १ सयवटा साधनको प्रदूषणमात्र मापन गर्ने क्षमताको रहेका थिए । कतिपय पुराना सवारी प्रदूषण मापन यन्त्र बिग्रिसकेकाले सही परिणाम दिन नसक्ने अवस्थामा रहेको विभागको भनाइ छ । 

हाल भएका मापन यन्त्रभन्दा अहिले आएको मापन यन्त्र सञ्चालन गर्न सजिलो रहेको विभागको भनाइ छ । हाल ल्याइएका यन्त्रले दैनिक १५० भन्दा बढी साधनको प्रदूषण मापन गर्न सक्ने विभागले जानकारी दिएको छ । हाल ल्याइएका यन्त्र चलाउन योग्य भनिएका सवारीसाधनले समेत कति मात्रामा प्रदूषण गराउँछन् भनेर तथ्यांक दिनेछन् । त्यस्तै खराब इन्जिन अर्थात् चलाउन अयोग्य रहेका साधनको यी यन्त्रले जानकारी दिने विभागले बताएको छ । यी यन्त्र सञ्चालन गर्न सहज हुने भएकाले विभागले आफ्ना कर्मचारीलाई तलिम दिइसकेको जानकारी दिएको छ । केही दिनअघिमात्र यन्त्र काठमाडौं ल्याइएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । 

केही समयअगाडि असार महिनाभित्रै मापन यन्त्र ल्याउने र साउन लागेपछि काम थाल्ने निर्णय भएको विभागले बताएको थियो । त्यसैअनुरूप ‘डिजेल स्मोक मिटर’ र ‘ग्यास एनलाइजर’ नामका ४० थान प्रदूषण मापन यन्त्र काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण मापन गर्न ल्याइएको विभागको भनाइ छ । वायु प्रदूषणको कारण बन्दै गएको सवारीसाधनबाट निष्कने प्रदूषित धुवाँको मापन गर्न यो यन्त्र महŒवपूर्ण भएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । 

सबै मेसिन नेपाल भित्रिसकेको र आवश्यक काम अघि बढाउने तयारी भइरहेको अर्यालले बताए । सवारीको प्रदूषण परीक्षणमा विभागले ४० थान यन्त्र जापानबाट झिकाएको हो । हरियो स्टिकर टाँसे पनि कतिपय सवारीसाधनले लेबलभन्दा बढी हानिकारक धुवाँ फालिरहेको अवस्थामा पहिचानमा सो यन्त्रले सहयोग गर्ने विभागको भनाइ छ । कतिपय सवारीसाधन लुकीछिपी स्टिकर विनै सञ्चालनमा आएको विभागले फेला पारेको छ । 

आउँदो साउन १ गतेदेखि हरियो स्टिकर हरियो स्टिकर नटाँसेका सवारी साधन फेला परेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्ने विभागको भनाइ छ । आगामी साउन १ गतेदेखि हरियो स्टिकर प्रयोग नगरेका साधनलाई सञ्चालनमै रोक लगाउने तयारी विभागले अघि बढाइसकेको छ । यसअघि हरियो स्टिकर नटाँसिएकालाई कारबाही गर्ने नियम भए पनि प्रभावकारी थिएन ।

यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाभित्र र मुलुकभर रहेका महागरपालिका र उपमहानगरपालिकामा सञ्चालन हुने यातायातमा हरियो स्टिकर अनिवार्य गर्ने घोषणा गरिसकेको छ । राजधानी प्रदूषित शहरको सूचीमा परेपछि विभिन्न माध्यमबाट उपत्यकालाई स्वच्छ तथा प्रदूषरणरहित बनाउन पहल भइरहेको विभागले बताएको छ । 

वायु तथा ध्वनि प्रदूषणले हरेक वर्ष मानव स्वास्थ्यमा प्रतिकूल असर पर्दै गएकाले नियन्त्रणका लागि वायु प्रदूषण कम गर्न विभागले पहल थालेको बताइएको छ । वायु प्रदूषण न्यूनीकरण गर्न ठूला सवारीसाधन सञ्चालनमा जोड दिएको विभागका प्रवक्ता अर्यालले बताए । धेरै सिट क्षमता भएका सवारी प्रयोग भएसँगै साना सवारीसाधन विस्थापित हुँदै जाने र प्रदूषण पनि न्यूनीकरण हुने अर्यालको भनाइ छ । 


Views: 9

सम्बन्धित सामग्री:

मन्दिरमै बच्चा जन्मियो

: Tuesday, 20 November, 2018 (9:11:31 PM)

योगीको गुरुकुल मोह

: Tuesday, 20 November, 2018 (8:27:24 PM)