23rd July | 2018 | Monday | 6:19:38 AM

निरन्तर बर्षाका कारण जनजीवन अस्तव्यस्त : अरनिको, बिपी र मदन भण्डारी राजमार्ग अवरुद्ध

  POSTED ON : Thursday, 12 July, 2018 (12:10:31 PM)

निरन्तर बर्षाका कारण जनजीवन अस्तव्यस्त : अरनिको, बिपी र मदन भण्डारी राजमार्ग अवरुद्ध

बनेपा । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका साथै पाखा भित्तामा कान्ला भत्किएर अरनिको र बिपी राजमार्गका केही ठाउँमा अवरोध आएकाले दुवै राजमार्ग ठप्प छन् । 

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपाको पुलबजार डुबानमा परेको छ । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ । बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए । मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए ।

खड्काका अनुसार नमोबुद्ध नगरपालिका–६ खाक्सीस्थित रोशी खोलाको बीचमा परेका स्थानीय बासिन्दा दुई जनाको उद्धारका लागि प्रहरीको टोली गएको छ ।

त्यसैगरी हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा आज बिहान परेको वर्षात्ले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ आज बिहानदेखि अवरुद्ध भएको छ । 

रासस