21st November | 2018 | Wednesday | 1:49:46 AM

देशभर अझ केही दिन वर्षा हुने

हिमालय टाइम्स   POSTED ON : Friday, 13 July, 2018 (2:21:23 PM)

देशभर अझ केही दिन वर्षा हुने

काठमाडौं । बुधबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशैभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारसम्म सामान्यदेखि मध्यम खालको वर्षा हुने सम्भावना छ । मध्य र पश्चिमका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

काठमाडौं उपत्यकामा ६५.३ मिलिमिटर वर्षा भएको छ । ५० मिलिमिटर भन्दा माथिको वर्षालाई विभागले भारी वर्षाको रूपमा वर्गीकरण गरेको छ । यसैगरी विभागको बुधबार ८ः४५ देखि बिहीबार ८ः४५ सम्मको तथ्यांकलाई नियाल्दा उपत्यकामा ९३.६ मिलिमिटर वर्षा भएको छ । यसैगरी सोही समयको विभागको रेकर्डअनुसार भक्तपुरमा १२९.६ मिलिमिटर वर्षा भएको छ । जुन वर्षाले भक्तपुर आसपासका क्षेत्र पूर्णरूपमा डुबानमा परेको छ । नगरकोटमा पनि ११७ मिलिमिटर वर्षा भएको छ भने गोदावरीमा पनि ११५.८ मिलिमिटर वर्षा भएको छ । 

विभागका तराई भूभागमा निकै कम मात्रामा वर्षा भएको छ । मौसमविद् राजु प्रधानांगका अनुसार तराई क्षेत्रमा मौसम बदली भइरहेकाले बादल लागेर धुम्म परिरहे पनि वर्षा भने निकै कम भएको छ । अझै शनिबारसम्म मौसम बदली भइरहने भएकाले पनि मध्य र पश्मिमी भूभागका व्यक्तिहरूले भने निकै नै सचेतना अपनाउन जरुरी रहेको उनले बताए । त्यहाँ शनिबारसम्मै भारी वर्षा हुने भएकाले पनि पहिल्यैदेखि पूर्व तयारी गर्न जरुरी रहेको मौमसविद् प्रधानांग बताउँछन् ।

यसैगरी विभागको रेकर्डअनुसार बिहीबार ताप्लेजुङ ३६.७, सिमरा २८.९, ओखलढुंगा २०.९,  वीरेन्द्रनगर १५.१, नेपालगन्ज १२.६ मिलिमिटर वर्षा भएको छ ।  दिपायलमा १.३ मिलिमिटर, डडेलधुरामा ९.४ मिलिमिटर, धादिङ ०.७, जुम्ला २.६, दाङ १०.६, पोखरा ११.५, भैरहवा १.८ मिलिमिटर वर्षा भएको विभागको रेकर्ड छ । 

 विभागले एक विज्ञप्ति जारी गर्दै बिहीबार देशका केही स्थानमा बिहानैदेखि भारी वर्षा भएको जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार बिहीबार साँझ  र राति पनि देशभरी नै बदली भई अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ । मध्य र पश्चिमी भूभागका अधिकांश स्थानमा भने बिहीबार राति भारी वर्षाको सम्भावना छ । शुक्रबार पनि दिनैभरी देशभरी बदलीको सम्भावना छ । 


Views: 9

सम्बन्धित सामग्री:

मन्दिरमै बच्चा जन्मियो

: Tuesday, 20 November, 2018 (9:11:31 PM)

योगीको गुरुकुल मोह

: Tuesday, 20 November, 2018 (8:27:24 PM)