20th September | 2018 | Thursday | 10:43:54 PM

खम्बामा जेलिएका तार उस्तै

बिनु लुइँटेल   POSTED ON : Friday, 13 July, 2018 (2:28:27 PM)

खम्बामा जेलिएका तार उस्तै

काठमाडौं । काठमाडौं महानगरका पुतलीसडक, डिल्लीबजार, बबरमहल, माइतीघर लगायतका क्षेत्रमा खम्बामा जेलिएका तार व्यवस्थित गर्ने काम सुरु गरिएको भए पनि अवस्थामा सुधार आएको छैन । सुरक्षा तथा शहरी सौन्दर्यको दृष्टिले तार व्यवस्थित गर्ने थालिएको थियो । 

सरकारले सडक किनारका पोलमा जथाभाबी टाँगिएका तार हटाउने कामको अभियान नै चलाएर  सुरुवात गरेको भए पनि अहिले पनि अवस्थामा सुधार नभएको देख्न सकिन्छ । तल्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरमा एउटा पोलबाट तार काटेर कामको सुरुवात गरेका थिए । काम नलाग्ने र जेलिएका तारबाट  कारण दुर्घटना बढेको र सडक कुरुप बनाएको भन्दै सबै ठाउँमा तार व्यवस्थित गर्ने भनिएको थियो ।  

केवल टेलिभिजन, टेलिफोन र इन्टरनेट प्रदायक व्यावसयिक कम्पनीका तार बिजुलीको खम्बाबाट टाँगिएका छन् । गत आर्थिक वर्षमा यस्ता तारका कारण काठमाडौंमा सातजनाको ज्यान गएको जनाइएको छ । तार व्यवस्थित गर्ने काम सुरु गरिएको भए पनि निरन्तरता  पाउन नसकेको तार व्यवस्थापन समितिका सदस्य रामचन्द्र दुलाल बताउँछन् । तार पूर्णरूपमा व्यवस्थित गर्न कठिन भए पनि केही न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।  

जथाभाबी गुजुल्टिएका तार कुन कुन कम्पनीका हुन् र केका लागि टाँगिएका हुन् भन्ने जानकारी कतै पाइँदैन । सरकारले काम नलाग्ने र चुँडिएका तारलाई हटाउने र कुन कम्पनीको र केका लागि प्रयोग भइरहेको छ भनेर जानकारी दिन ट्याग राख्न लगाउने भनिएको भए पनि कार्यान्वयन हुन सकेको छैन ।  

अहिले काठमाडौं महानगरपालिकाले यस्ता तार व्यवस्थित गर्न सम्बन्धित कम्पनीलाई ताकेता गर्न थालेको जनाइएको छ । महानगरले इन्टरनेट सेवा प्रदायक केही कम्पनीका अधिकारीलाई बोलाएर आआफ्ना तार व्यवस्थित गर्न निर्देशन दिएको छ


Views: 0