22nd September | 2018 | Saturday | 4:48:15 PM

मदिरा उत्पादन र सेवनमा कडाइ गर्दै सरकार

  POSTED ON : Friday, 14 September, 2018 (10:12:53 PM)

मदिरा उत्पादन र सेवनमा कडाइ गर्दै सरकार

काठमाडौं । सरकारले समाजमा विकृति ल्याउने गरी भइरहेको मदिराको अनिन्त्रित सेवन तथा उत्पादनलाई निरुत्साहित गर्ने भएको छ । 

गृह मन्त्रालयले आज आयोजना गरेको ‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रणमा सरोकारवाला निकायको भूमिका’ विषयको छलफलमा गृहमन्त्री रामबहादुर थापाले अत्यधिक मदिरा सेवनबाट घरेलु र पारिवारिक हिंसामा बढोत्तरी आएकाले नियन्त्रण आवश्यक भएको बताए । समृद्ध मुलुक निर्माण र संस्कृतिमा लागुऔषध र मदिरा बाधक बनेको उल्लेख गर्दै उहाँले यसको प्रयोगले समाजमा गम्भीर प्रकारको अपराध जन्माएको बताए । 

सीमावर्ती क्षेत्रबाट लागुऔषध नेपाल भित्रने गरेको जानकारी पाइएको बताउँदै उनले लागुऔषध भित्र्याउने स्रोतलाई ‘सखाप’ पार्न सरकारले कुनै कसर बाँकी नराख्ने उद्घोष गरे । उनले भने, “लागुऔषधको प्रयोगलाई निषेध गर्न स्रोतमै कडाइ गर्नुपर्छ, सेवनकर्तालाई मात्र नियन्त्रणमा लिएर यसको न्यूनीकरण गर्न सकिँदैन ।” 

मदिराको नियन्त्रण र नियमन गर्न पनि यसको उत्पादन गर्ने व्यक्ति संस्थालाई नियन्त्रण गर्नु जरुरी भइसकेको उल्लेख गर्दै उनले लागुऔषध र मदिरा नियन्त्रणमा कडाई गर्न विद्यमान कानूनलाई परिमार्जन गरिने बताए । उनले भने, “लागुऔषध नियन्त्रण गर्न ऐन, कानूनलाई थप सशक्त बनाउँदै विद्यमान कानूनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ ।” 

लागुऔषधको उत्पादन र खपतको ‘ग्राफ’लाई दुई तिहाइको दरले घटाउनुपर्ने चुनौती थपिएको बताउँदै उनले लागुऔषध तस्करीलाई ‘सखाप’ पार्न सरकारलाई आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरे । 

अहिलेको युवा, केटाकेटीमा लागेको मदिराको लत छुटाउन मदिराको उत्पादन र प्रयोगलाई ५० प्रतिशतमा झार्नुपर्नेमा जोड दिँदै उनले यसको उत्पादन र बिक्रीवितरणलाई व्यवस्थित गरिने बताए । उनले भने, “अब प्रत्येक स्थानीय तहको वडास्तरसम्म कतिको सङ्ख्यामा मदिरा पसल खोल्ने र निश्चित उमेर समूहका व्यक्तिलाई मात्र मदिरा खरीद र सेवन गर्न पाउनेसम्बन्धी नीतिगत नियम बनाइन्छ ।” 

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक भएको बताउँदै उनले कतिपय समुदायमा मदिरा अनिवार्य पाइएको हुँदा त्यस्तो समुदायलाई अप्ठ्यारो पार्ने ढङ्गबाट सरकार अघि बढ्दैन भने । उनले भने, “मदिरा अनिवार्य भएका समुदायमा मदिराको नियन्त्रण र निषेध गर्ने सरकारको योजना होइन, यसलाई व्यवस्थित गर्ने हो । संस्कृति र संस्कारलाई संरक्षण र संवद्र्धन गर्दै जनतामा जागरणको कार्यक्रम लैजानु जरुरी छ ।” 


Views: 19