17th December | 2018 | Monday | 12:46:30 AM

निर्मला हत्याकाण्ड : फेरि अर्का दुई प्रहरी निलम्वनमा

हिमालय टाइम्स   POSTED ON : Monday, 08 October, 2018 (3:56:03 PM)

निर्मला हत्याकाण्ड : फेरि अर्का दुई प्रहरी निलम्वनमा

काठमाडौं ।  निर्मला पन्तको हत्याबारे अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी नायब निरीक्षक हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्वनमा परेका छन् । 

प्रहरी प्रधान कार्यालयले कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तको हत्याबारे छानविन समितिको सिफारिशमा घटनास्थल अनुसन्धान अधिकृतका रुपमा खटिएका धामी र साउदलाई निलम्वन गरेको हो । प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले अनुसन्धानका क्रममा गम्भीर लापरवाही गरेको पाइएकाले धामी र साउदलाई निलम्वन गरिएको जानकारी दिए ।

उनीहरुका गतिविधि शंकास्पद देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता क्षेत्रीले बताएका छन् । 

चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन । यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बनमा परिसकेका छन् ।

दुवै जनालाई प्रहरी नियमावली २०७१ को नियम ११५ को उपनियम ६ (क) र (ग) अनुसार निलम्वन गरिएको हो । घटनामा दोषी देखिएको भन्दै गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित पाँच जनालाई यसअघि निलम्वन गरिसकेको छ ।


Views: 88