19th October | 2018 | Friday | 4:49:22 AM

रङ बदलिँदै गएको दशैँ

रमा लुइँटेल   POSTED ON : Tuesday, 09 October, 2018 (2:35:51 PM)

रङ बदलिँदै गएको दशैँ

काठमाडौं । केही दिनअघिको कुरा हो । साँझ छिप्पिँदै थियो । बानेश्वरस्थित पत्रिकाको कार्यालयबाट सुन्धारा पुग्न सफा टेम्पो चढेँ । अधवैशे दुई महिला दशैँको गन्थन गरिरहेका थिए । दुईमध्ये एक दशैँ पर्वप्रति खुब उत्साहित थिइन्् । अर्कीको प्रस्तुति र अनुहारले उत्साह व्यक्त गरिराखेको थिएन । उनले मतिर हेर्दै भनिन्, ‘पहिलाको दशैँ पो दशैँ, अहिलेको दशैँ के दशैँ, होइन न त ?’ मैले फिस्स हाँसेर मौनतामार्फत नै जवाफ दिएजस्तो गरेँ ।

ती महिलाको त्यो एक वाक्यले मलाई ‘नोस्टालिजक’ बनायो । बाल्यकालको दशैँ सम्झेँ । छोरी हुँदाको दशैँ सम्झेँ । बुहारी बनेपछिको सम्झना मनभरि आयो । आमा बनेपछिका दशैँहरू एकपछि अर्को गर्दै याद भयो। विवाह गरेको पहिलो वर्ष श्रीमान्को जन्मघर जाँदाको त्यो नौलो अनुभवको सम्झना टेम्पोमा भएको त्यो बातले गरायो ।

नवमीको दिन थियो । कुभिण्डोको पूजा गरियो । छोरी, नातिनीले टीका लगाए । म पनि आफ्नो पालो पर्खिराखेकी रहेछु । त्यत्तिबेला मैले म त्यो घरको बुहारी भएको बिर्र्र्र्सिएछु । हो, साँच्चै दशैँ बदिलिएछ । र बदलिन्छ । उमेर, जिम्मेवारी, पारिवारिक भूमिकालगायतले यो पर्व बदलिएको महसुस गर्दो रहेछ मान्छे । जीवनयापनको स्तर, आम्दानी, जीवनप्रतिको दृष्टिकोणजस्ता विषयले पनि दशैँको रङ बदलिएको अनुभव हुँदो रहेछ । 

सोह्रश्राद्धको पहिलो साता लगनखेलको तरकारी बजारमा एक वृद्धा भेटेकी थिएँ, उनलाई अहिलेको दशैँ दशैँजस्तो लाग्दैन । ‘कस्तो खल्लो, छ्या ¤’ त्यसो भए के कारणले दशैँ बदलियो त ? 

मानवशास्त्री सुरेश ढकाल संस्कृति मनाउने तरिका स्थीर नहुने बताउँछन् । परिर्वतन स्वभाविक हो भन्छन् उनी । केही वर्ष अघि सम्म दशैं कृषिमा आधारित समाजमा मनाइने पर्व थियो । यो उत्पादनसँग जोडिन्थ्यो । मानवशास्त्री ढकाल भन्छन् , ‘यो चाड अहिले बजारमा निर्भर हुन थालेको छ , अर्थतन्त्र प्रमुख हुँदै गएको छ । ’पचास वर्षअघि र अहिलेको दशैँमात्रै बदलिएको छैन । यो अवधिमा हाम्रो सामाजिक, आर्थिक अवस्था लगायतका धेरै कुरा बदलिएका छन् । ऊ बेला नयाँ लुगा किन्न दशैँ नै कुर्नु पथ्र्यो । मासु खाने सबैभन्दा ठूलो चाड दशैँ थियो । मान्छेको क्रयशक्ति वृद्धि भएकाले मासु खान र नयाँ लुगा किन्न दशैँ नै कुर्नु नपर्ने अवस्था छ ।  त्यत्तिमात्रै होइन, बाँच्ने शैलीसमेत बदलिएको छ ।

मानवशास्त्री सुरेशसँग कुरा गरिरहँदा आफ्नो बालापन सम्झेँ । दशैँमा दुई जोर लुगा किन्ने चलन थियो । एक जोर मामाघर जाँदा लगाउने । अर्को, जाडो महिनामा लगाउने दौरा सुरुवाल । दौरा सुरुवाल फलाटिन वा ऊनीको हुन्थ्यो । जाडोमा लगाउने यो लुगा जतिसक्दो बाक्लो किन्ने मन गर्नुहुन्थ्यो मेरी आमा । अहिले पनि उहाँ नातिनातीनालाई बाक्ला कपडाको लुगा दौरा सुरुवाल सिलाइदिन सुझाव दिनुहुन्छ । मामाघर जाने र जाडोमा लगाउने लुगा लगाएर छिमेकीलाई देखाउन जान्थ्यौं । लुगा देखाउन जाँदाको आनन्द र खुशी भनिसाध्य हुँदैनथ्यो । त्यहाँ कसैले ‘कति राम्रो’ भनिदाँको खुशी बेहिसाब हुन्थ्यो । अहिलेका केटाकेटीमा न नयाँ लुगाको मोह छ, न त नयाँ लुगा किनिदिएकोमा आभार नै । किनकि त्यस्ता लुगा त वर्षमा धेरैपटक किनिन्छ । मामाघर जाने लुगा किन्न घटस्थापनाको दिन गइन्थ्यो । दिदी (फूपु)सँग अशन, इन्द्रचोक, कुनै वर्ष ललितपुरको पुरानो बजार पाटन आएकोसमेत सम्झना छ । त्यत्तिबेला सपिङ मल खुलेका थिएनन् । साँच्चै दशैँमा दुईजोर लुगा किन्नु अनिवार्य सँगसँगै आवश्यकता पनि हुन्थ्यो । काठमाडौंको काँठको मध्यम वर्गीय परिवारकी छोरीले इच्छा गरे वर्षमा थप एक दुई जोर लुगा किन्नु ठूलो विषय हुँदैनथ्यो । तर आवश्यकता नै महसुस हुँदैनथ्यो । वास्तवमा भन्नु पर्दा आवश्यकताहरू अहिलेजस्ता थिएनन् । असाध्यै कम थिए ।

मानवशास्त्री सुरेश ढकालले कुराकानीको क्रममा भनेका थिए, ‘समयले हाम्रा आवश्यकता र चाहनालाई फुकाउने र खुम्च्याउने गर्छन् ।’ उतिबेला कमेरो छ्यापेर घर सिंगार्ने गरिन्थ्यो । सेतो कमेरोसहित रातो माटोले पोतेका घर कम्ति आकर्षक देखिँदैनथे । ती घरहरूलाई विस्थापित गर्दै बनेका गगनचुम्बी भवनले दशैँमा घर सिंगार्ने तरिका परिवर्तन गरिदिएको छ । 

घटस्थापनाका दिन नयाँ लुगा किनेपछि नवरात्रभरि छिमेकी दिदीबहिनी र साथीसँग नजिकको तीर्थाटन गर्न जाँदाको रमाइलोको अनुभव बेग्लै हुन्थ्यो । स्वतन्त्र भएको अनुभव हुन्थ्यो । कलंकी मन्दिर, विष्णुदेवी, बाघभैरव, कालिका मन्दिर पालै पालो पुग्थ्यौं । त्यत्तिखेरको दशैँमा स्वतन्त्र भएर हिँड्न सक्ने वातावरण थियो । तर अहिले अवस्था त्यस्तो छैन । घरको संघार नाघेर एकैछिन् छोराछोरी कतै गए, मनमा थुप्रै किसिमका शंका उब्जिन थाल्छन् । नयाँ लुगा किन्न बजार जाँदाको अनुभवदेखि मामाघर जाँदा लगाउने लुगासम्मका हामी गफिन्थ्यौँ । दौरामा खल्ती हाल्ने कि नहाल्ने विषयले पाएको महŒवले अहिले सम्झिँदा खुवै रमाइलो लाग्छ । 

रेडिमेड कपडाले बजार पिटेपछि ऊनी र फलाटिनका कपडाका दौरा सुरुवाल ओझेल परेका छन् । फेशनका नयाँ परिभाषा अनुसारका ड्रेस डिजाइनबाट आफूलाई आकर्षित बनाउनेतर्फ सबै लागेका छन् । दशैँ बजारमा ‘सेल’ ले राम्रो मार्केट पाएको छ । ‘बाइ वान, गेट वान फ्री’ को नारा दशैँ बजारमा निक्कै प्रचलित छ ।

फेसनमा मात्रै होइन, खानपिन र परिकारमा समेत अघिल्ला दशैँ र अहिलेको दशैँमा धेरै भिन्नता छ । ठूलठूला कसौडी र खड्कुलोमा पाक्ने मासु अहिले प्रेसर कुकुरभित्र थोरै मिनेट बाफिएर पाक्न थालेको छ । मासु पकाउन महिनौँअघिदेखि दाउराको जोहो गर्नेहरू दशैँका लागि ग्यासको सिलिण्डर जोड्न लागेका छन् । सद्भावको पर्व दशैँ ऊ बेला मानवीय भावनाले ओतप्रोत हुन्थ्यो । पहिले दशैं पारिवारिक पर्वको रुपमा स्थापित थियो । अहिले सामाजिक पर्वको रुपमा मनाउन थालिएको छ । ढकाल भन्छन् , ‘यो पर्वमा साथीभाइ छरछिमेकसँग भेटघाट गर्ने पर्वको रुपमा अघि बढ्दैछ ।’ ढकाल यो चाडको अर्को महत्वपूर्ण पक्षको विश्लेषण गर्छन् । दशैंको धार्मिक र मिथकहरु कमजोर हुँदै गएका छन् । उल्हासपूर्ण पर्वका रुपमा मनाउन थालिएको उनी बताउँछन् । 

दशैं झन्झटिलो र बोझिलो समेत हुँदै गएको छ । यस्तो हुनुको पछाडि देखासिखी भएको बताउँछिन् संस्कृतिविद् प्राडा. विणा पौड्याल । सम्बन्धसँग जोडिएको यो पर्वलाई मनाउने तरिका बदलिँदै गएको उनी स्वीकार गर्छिन् । चाडपर्व र मान्छेको रहनसहन, बाँच्ने शैली एक सिक्काका दुईपाटो भएकाले एकबाट अर्को प्रभावित हुने तर्क उनी गर्छिन् ।


Views: 169