17th December | 2018 | Monday | 2:30:21 AM

शाकाहारीलाई पनि दशैँ महँगो

सविना कार्की   POSTED ON : Tuesday, 09 October, 2018 (2:38:21 PM)

शाकाहारीलाई पनि दशैँ महँगो

काठमाडौं । सामान्यतया दशैँमा मासुको खपत बढी हुन्छ । खपत बढेसँगै बजारमा मूल्यवृद्धि स्वाभाविक मानिन्छ । पछिल्लो समय मांसाहारीलाई मात्र होइन, शाकाहारीका लागिसमेत दशैँ महँगो हुन थालेको छ । शाकाहारीको संख्या बढ्दै जानु तथा दशैँकै समयमा तरकारीको आपूर्ति कम हुने भएकाले शाकाहारीका लागि पनि दशैँ कम महँगो हुँदैन ।

स्वास्थ्यप्रति सचेत हुँदै माछामासु खान छाड्नेहरूको संख्या बढ्दो छ । यस अतिरिक्त कतिपयले स्वास्थ्य समस्याका कारण शाकाहारी खानपिन गर्न थालेका छन् । कृषकदेखि व्यापारीसम्म सबै दशैँमा रमाउने भएकाले दशैँमा तरकारीको आपूर्ति निकै कम हुने गर्दछ । राजधानीका लागि आसपासका जिल्लामा उत्पादित तरकारीलाई बजारसम्म जसोतसो ल्याउने गरिए पनि चर्को मूल्य तिरेर खरिद गर्नुपर्ने बाध्यता हुन्छ ।

तरकारीको मूल्य तोके पनि बजार अनुगमन नहुँदा व्यापारीले आफूखुशी मूल्य निर्धारण गर्ने गरेको उपभोक्ताको भनाइ छ । यस अतिरिक्त खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको छ । जसले गर्दा सर्वसाधारण मारमा परेका छन् ।

तरकारीको व्यापार गर्दै आएकी सुकेधाराकी सावित्री काफ्ले केही दिनयता लगातार तरकारीको मूल्य बढिरहेको बताउँछिन् । चावहिल गणेशस्थानस्थित तरकारी बजारमा व्यवसाय गर्दै आएकी उनी भन्छिन्, ‘विगत वर्षमा दशैँको समयमा तरकारीको मूल्य यसरी बढेको थिएन । यसपालि सुरुमा पेट्रोल डिजेलको मूल्य बढ्यो, त्यसपछि तरकारी र खाद्यान्नको मूल्य बढ्यो ।’ 

हाल बजारमा प्याज प्रतिकेजी ५०, गोलभेँडा प्रतिकेजी १००, सेतो आलु प्रतिधार्नी १३०, रातो आलु प्रतिधार्नी १५०, मुढेको आलु प्रतिधार्नी १९०, काउली प्रतिकेजी १३०, अदुवा प्रतिकेजी २००, लसुन प्रतिकेजी २००, अकबरे खुसार्नी मानाको ८०, सिमी प्रतिकेजी १२०, घ्यूबोडी प्रतिकेजी १२०, बन्दा काउली प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

मूल्य बढे पनि कालिमाटीस्थित तरकारी तथा फलफूलको थोक बजारमा तरकारी पाउनै गाह्रो रहेको सावित्रीको भनाइ छ । तरकारी किन्न आएकी गौशालाकी रमा कार्की हातमा दुई धार्नी आलु बोकेर अन्य तरकारीको मूल्य सोध्दै थिइन् । दशैँका लागि पैसा जोगाउन महँगीको मार झेलेरै भए पनि छाक टार्न मिल्नेगरी तुलनात्मकरूपमा सस्तो तरकारी किनेर लैजाने उनको सोच थियो । ‘जति मूल्य बढे पनि खानैप¥यो’, उनले भनिन्, ‘भोको बस्न पेट मान्दैन, तै पनि छाक टार्ने र पैसा पनि बचत हुने तरकारी केही छ कि भनेर खोज्दैछु ।’ तरकारीको मूल्यवृद्धि भएदेखि धेरैलाई तरकारीको जोहो गर्न गाह्रो भएको छ ।

‘बिहान–बेलुकी भान्सामा बस्नेलाई तरकारी के पकाउने भन्ने चिन्ता हुन्छ’, रमाकै छेउमा बसेकी अर्की महिला भन्छिन्, ‘तरकारीको मूल्य बढेदेखि घरमा दाल र आलु फ्राइमात्र पाक्छ ।’ अन्य तरकारी किन्न पुग्ने रकम पनि आलुकै लागि खर्च हुने बताउँदै उनी भन्छिन्, ‘आलु १९० रुपैयाँ धार्नी पुगेको छ । आलुको र चिकेनको मूल्य उत्तिकै पर्न जान्छ ।’

तरकारी बजारस्थित दायाँबायाँ हेर्दै घुम्दै गरेका एक उपभोक्ता भन्छन्, ‘दशैँ लागेपछि तरकारीको मूल्य घट्नुपर्ने हो तर बढेको छ ।’ बजारमा तरकारीको मूल्य मनलाग्दी भएको उनको भनाइ छ । उनी भन्छन्, ‘व्यापारीको मनोमानी छ यहाँ, जति मूल्य तोके पनि उनीहरूलाई भएकै छ ।’ सरकारले तोकको मूल्यमा तरकारी बिक्री नभएको र व्यापारीले मनलागी ढंगले बिक्री गर्दै आइरहेको उपभोक्ताको गुनासो छ ।

तरकारीको मूल्यवृद्धि भए पनि बिचौलियाले मात्र फाइदा लिएको कल्पना विश्वकर्मा बताउँछिन् । उनी भन्छिन्, ‘रातदिन घामपानी नभनी दुःख गर्ने किसानले बारीमा तरकारीको मूल्य पाउँदैनन् । बिचौलियाले किसानको बारीमै गएर सस्तोमा तरकारी उठाएर ल्याउँछ । तर यहाँ ल्याएर बिचौलियाले सोही तरकारी चर्को मूल्यमा व्यापारीलाई बेच्छन् । बारीमा परिश्रम गर्ने किसान ठगिएका छन् र उपभोक्ता पनि ठगिएका छन्, बीचमा बसेर बिचौलियाले मात्र कमाएका छन् ।’

सर्लाही घर भई हाल काठमाडौंको चावहिलमा बस्दै आएका नवीन कार्की कृषक परिवारकै सदस्य हुन् । गाउँमा उनको परिवार कृषि पेशामा संलग्न भए पनि उनी काठमाडौंमा अध्ययनको सिलसिलामा बसेकाले किसान र उपभोक्ताको पीडालाई राम्ररी बुझेका छन् । उनी भन्छन्, ‘मेरा बुवाले गाउँमा प्रतिकिलो २० रुपैयाँमा बेचेको काउली मैले काठमाडौंमा किन्नु पर्दा १३० रुपैयाँ तिर्नु परिरहेको छ ।’


Views: 91