19th October | 2018 | Friday | 4:39:23 AM

उपभोक्ताको पीडा

सरिशा अछामी   POSTED ON : Tuesday, 09 October, 2018 (2:43:39 PM)

उपभोक्ताको पीडा

काठमाडौं । दशैँ नजिकिँदै गर्दा बजारमा आममानिसको चहलपहल बढ्न थालेको छ । किराना पसलदेखि लिएर होलसेल पसलसम्म भीड देखिन्छ । उपभोक्ता दशैँका लागि चाहिने सामान खरिद गर्न व्यस्त छन् । हुनेखानेका लागि दशैँका लागि खर्चको जोहो गर्नु सामान्य कुरा भए पनि ‘हुँदा खाने’ वर्गका लागि दशैँ ‘दशा’ नै बन्ने गरेको छ । खोटाङकी काली लामा कागेश्वरी मनहरा नगरपालिका–८ मा बस्दै आएकी छन् । उनका श्रीमान मजदुरी गर्छन् । दुई छोरालाई बढाएर काठमाडौंमा जीवन धान्नु मजदुर परिवारका लागि चुतौतीपूर्ण रहेको उनको भोगाइ छ । उनी दशैँका लागि खाद्यान्नलगायत सामान जोहो गर्न बजार त पुग्छिन् तर सीमित रकमले गर्जो टार्नुपर्दा कयौं आकांक्षालाई मार्नु परिरहेको छ । 

स्थानीय पसलमा चामल किन्न पुगेकी उनले पसलेलाई भनिन्, ‘दशैँको समय हो । अन्य बेलामा लग्नेभन्दा अलि राम्रो चामल राखिदिनु न ।’ सामानको लिष्ट हातमा बोकेकी उनी भन्छिन्, ‘अरू बेलाजस्तो सामान्य चामल खाएर हुन्न, दशैँमा मीठोमसिनो चामालको भात र मासु खानुपर्छ ।’ अरू बेला एक हजार ४५० रुपैयाँ प्रतिबोरा पाइने चामल लग्ने काली लामाले दशैँका लागि १९ सय रुपैयाँ तिरेर मनसुली चामल लग्ने भनेको सुन्दा व्यापारी कृष्ण श्रेष्ठ छक्क परे । काली भन्छिन्, ‘दशैँको समयमा जति महँगी भए पनि राम्रो लगाउने र मीठो खानैपर्छ ।’ गरिबका लागि राम्रो लगाउने र मीठो खाने बहाना भनेकै दशैँ रहेको उनको बुझाइ छ ।

दशैँका लागि उनी खोटाङस्थित घरजाने योजना उनले त्यागिसकेकी छन् । काठमाडौंमै दशैँ मनाउन ४÷५ महिनाअघिदेखि धेरथोर गर्दै पैसा जम्मा गरेर राखेको उनले बताइन् । अरू बेला एक हजार ८ सयमा पाइने चामल दशैँको समयमा सय रुपैयाँ बढी मूल्य तिर्नुपरेको उनको गुनासो छ । ‘मीठो चामलको भात खानका लागि दशैँ नै आउनुपर्ने भएकाले महँगीको मार झेलेर भए पनि किन्नुपरेको छ’, उनले भनिन् । तेल, चना, केराउ, दाल, मैदा, चिउरा सबैको मूल्यमा वृद्धि भएको पसलले बताउँदा सरकारलाई गाली गर्दै उनी बाहिर निस्किइन् । 

स्थानीय होलसेल पसलका व्यापारी भन्छन्, ‘दशैँको सिजनमा आउने सबै समानको मूल्य बढेको छ ।’ होलसेल पसल भएका कारणले आफूले नेपाल खाद्य संस्थानको मूल्यअनुसार दुई प्रतिशत नाफा राखेर बेच्ने गरेको उनले बताए । नेपाल खुद्रा व्यापार संघले खाद्यान्नको मूल्य तोकिदिए पनि खुद्रा बेच्नेले मूल्य बिगारेको सीता राई बताउँछिन् । ‘दशैँको समयमा सामान नकिनी हुँदैन’, उनी भन्छिन्, ‘सामान जसरी किन्नै पर्छ । त्यसैले दशैँको समयमा मूल्य बढाएर जनताको ढाड सेक्ने काम भएको छ ।’


Views: 80