17th October | 2018 | Wednesday | 10:03:33 PM

दशैंमा २१ लाखले राजधानी छोड्दै

बिनु लुइँटेल   POSTED ON : Wednesday, 10 October, 2018 (3:03:12 PM)

दशैंमा २१ लाखले राजधानी छोड्दै

काठमाडौं । दशैं–तिहारमा उपत्यकाबाहिर जानेहरूका लागि अग्रिम टिकट खुलेसँगै १६ लाख भन्दा बढी टिकट बुकिङ भएको छ । ठूलासँगै मंगलबारदेखि साना सवारी गाडीको पनि टिकट बुकिङ सुरु भएको हो । यातायात व्यवस्था विभागका अनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ खुलेसँगै १६ लाखभन्दा बढी टिकट बुकिङ भइसकेको छ । यात्रुले टिकट नपाएको र ठगिएको गुनासो बढेसँगै यात्रुलाई सहज बनाउने उद्देश्यले मंगलबारबाट साना गाडीको समेत टिकट खुला गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । राष्ट्रिय यातायात व्यवसायी महासंघ र यातायात व्यवस्था विभागको सहकार्यमा मंगलबारबाट साना सवारीको पनि टिकट खुला गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । 

टाटा सुमो, माइक्रो, हायस लगायतका साना सवारी साधनको टिकट खुला गराइएको छ । मानिस पु¥याएर फर्किंदा रित्तै फर्किनुपर्ने र आफूहरूलाई घाटा हुने भन्दै व्यवसायीहरूले साना सवारी साधनको टिकट खुलाउन अस्वीकार गर्दै आएका थिए । तर मंगलबार भएको छलफलपछि भने साना सवारी साधनको समेत टिकट खुल्ने भएको हो । साना सवारी साधनको टिकट खुलेसँगै लामो तथा छोटो दूरीका लागि टिकट नपाएका यात्रुलाई सजिलो हुने विभागको भनाइ छ । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाका अनुसार टिकट खुलेदेखि आजसम्म ९० प्रतिशत अर्थात १६ लाखभन्दा बढी टिकट बुकिङ भइसकेको छ । अब साना सवारी साधन थपेसँगै अझै टिकट बुकिङ गर्नेको संख्या बढ्ने नयाँ सवारी साधन यस वर्ष कतै पनि व्यवसायीले नथपेका कारण अघिल्लो वर्षभन्दा उपत्यकाबाट बाहिरिने सवारी साधन कम रहेको उनको भनाइ छ । अझै केही दिनभित्रमा टिकट बुकिङ १७ देखि १८ लाखसम्म पुग्ने महासंघको अनुमान छ । 

हरेक वर्ष सार्वजनिक यातायातबाट मात्र १६ लाखभन्दा बढी यात्रुहरूले उपत्यका छोड्ने गरेका छन् । त्यसै गरी निजी गाडी तथा मोटरसाइकलबाट ५ देखि ६ लाख गरेर २० देखि २१ लाख यात्रु बाहिरिने महासंघको भनाइ छ । विशेष गरी घटस्थापनाका दिनदेखि उपत्यकाबाट बाहिरिने यात्रुको संख्यामा वृद्धि हुने गरेको छ । फूलपाती, अष्टमी र नवमीको दिनका लागि धेरै टिकट बुकिङ भएको महासंघको अनुमान छ । यी तीन दिनमा उपत्यका छोड्ने साना तथा ठूला दूरीका सवारी साधनको संख्या धेरै हुने महासंघका सचिव सिटौला बताउँछन् । दशैंको लागि घर फर्किने क्रम सुरु भइसकेको र त्यही अनुरूपको सेवासुविधा दिन महासंघले सक्दो प्रयास गरिरहेको उनले बताए । तोकिएको भन्दा धेरै भाडा लिएको कुरा बाहिर आएको हुनाले छानबिन गरी दोषीलाई कारबाही गर्ने समेत उनको भनाइ रहेको छ । 


Views: 94