17th October | 2018 | Wednesday | 10:02:47 PM

वडाध्यक्षद्वारा शिक्षिकामाथि यौन दुव्र्यवहार !

चिसाङ शेर्पा   POSTED ON : Wednesday, 10 October, 2018 (3:20:31 PM)

वडाध्यक्षद्वारा शिक्षिकामाथि यौन दुव्र्यवहार !

खोटाङ । खोटाङमा एकजना वडाध्यक्षमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ चिउरीडाँडाकी ३३ वर्षीया एक महिलालाई सोही नगरपालिका वडा नंं. ८ का वडाध्यक्ष लिला चौहानमाथि यौन दुव्र्यवहार गर्ने गरेको आरोप लागेको हो । 

यही असोज १६ गते राति आफू बस्दै आएको घरमा सुतिरहेको अवस्थामा ढोका ढकढकाएपछि छिमेकी सम्झी ढोका खोलेर हेर्दा चौहान फेला परेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरीविना अँगालो हाल्दै जबर्जस्ती गर्न खोजेको आरोप एक महिलाले लगाइन् ।  

प्रतिकार गरी भागेर आफू घरनजिकैको कोदोबारीमा लुक्न सफल भएको र उल्टै घटनाको बारेमा कसैलाई भनेमा राम्रो नहुने भन्दै ज्यान मार्ने धम्की दिएको उनले सुनाइन् । पीडित महिलाले यसअघि पनि २०७४ पुस १८ गते साँझ ७ बजेको समयमा घरमा आएको र ड्यु खाऊँ भनेपछि आफूले दुईवटा गिलास दिएको तथा उनैले गिलासमा सारेको तर रक्सी भएकाले आफूले नखाएको बताएकी छन् । रक्सीले मातेर फेरि  आफूमाथि यौन दुव्र्यवहार गर्न खोजेको उनको भनाइ छ ।

सो समयमा गाउँका गन्यमान्यलाई जानकारी गराउँदा अब यस्तो नहुने तथा पार्टीकै बेइज्जत हुने भनेर गाउँमा नै घटना मिलाएको पनि ती महिलाले बताइन् । त्यसपछि पनि एकान्तमा भेट्दा अस्वाभाविक व्यवहार देखाउने, एक्लै बाटोमा भेट्दा जहिल्यै गोप्य कुरा छ भनी बोलाउने गरेको ती महिलाको भनाइ छ । 

समाजमा एकपटक मिलेको घटना आफूले बिर्सेको भएपनि फेरि जबर्जस्ती गरेर खेदो गरेपछि असोज २२ गते खोटाङ जिल्ला अदालत खोटाङमा यौन दुव्र्यवहारविरुद्ध मुद्दा दर्ता गराएको उनको भनाइ छ । खोटाङ जिल्ला अदालतमा चौहानविरुद्ध यौन दुव्र्यवहारको मुद्दा दर्ता भएको स्रेस्तेदार लालकुमार कार्कीले बताए । 

आफू अन्यायमा परेको र असोज १७ गते वकिलसँग परामर्श लिएर अदालतमा सोमबार मुद्दा दर्ता गराएपछि घटना मिलाउन बारम्बार नेताहरूको फोन आउने गरेको ती महिलाले बताइन् । वैदेशिक रोजगारीको क्रममा पति विदेशमा भएको र पेसाले आफू सोही वडामा रहेको विद्यालयको शिक्षिका रहेको उनले बताइन् 

यस विषयमा आफूलाई कुनै कुरा थाहा नभएको र गलत भएको वडाध्यक्ष चौहानले बताए । ‘हालसम्म मैले उहाँलाई देखेको÷भेटेको छैन । मलाई फसाउनका लागि ग्रान्ड डिजाइन गरिएको हुनसक्छ । रिस पोख्नका लागि मुद्दा हालेको हुनुपर्छ’, उनले भने । 


Views: 122