21st November | 2018 | Wednesday | 9:41:24 AM

बालकको अपहरणपछि हत्या

सञ्जीवकुमार मिश्रा   POSTED ON : Monday, 15 October, 2018 (2:40:21 PM)

बालकको अपहरणपछि हत्या

बारा । बारामा ६ वर्ष उमेरका एक बालको अपरहणपछि हत्या भएको छ । बसिम्रौनगढ नगरपालिका–३ नयका टोलका धनेश्वरप्रसाद यादवका ६ वर्षीय छोरा गोलु भनिने दीपकप्रसादको हत्या भएको हो । गत २५ गते बुधबार अचानक घरबाट हराएको शव घरबाट करिब पाँच सय मिटर परको जंगलमा झारपातले छोपेको अवस्थामा शनिबार राति नौ बजे फेला परेको हो । बालक अपहरण र हत्याको आरोपमा दुईजनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ । 

सिम्रौनगढ नगरपालिका–३ नयकाटोलका गगनदेव कुशवाहाका १७ वर्षीय छोरा हरेन्द्र कुमार र नयकाटोलकै सुखल बैठाका छोरा २३ वर्षीय श्यामलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जित सिंह राठौरले बताए । एक महिनाअघि बालकका बाबु धनेश्वरप्रसाद २ लाख सापटी मागेकोमा उनले नदिएका कारण उनका छोरा दीपकको अपहरणपछि हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा डीएसपी राठौरले बताए । असोज २४ गते ४ बजे घरबाहिर खेलिरहेका बेला अपहरणकारीले दीपकको अपहरण गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अपहरणकारीले २४ गते राति हातखुट्टा मुख बाँधी धानखेतमा दीपकलाई राखेका थिए । अपहरणकारीले २५ गते बिहान घाँटी थिची हत्या गरी जंगलमा फालेका थिए । बाललकको अपरहणपछि अपहरणकारीले भोलिपल्ट २५ गते धनेश्वर यादवसँग १० लाख फिरौती मागेका थिए । अपराहृन ४ बजेदेखि बेपत्ता भएका बालक साँझसम्म पनि घर नफर्केपछि परिवारले खोजतलास गरेको थियो । खोज तलास गर्दा पनि दीपक पत्ता नलाग्दा साँझ ७ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई मौखिक जानकारी गराएको डीएसपी राठौरले बताए । 

परिवारको भनाइ 

दीपकका हजुरबुबा सीतारामप्रसाद यादवका अनुसार २४ गते घटस्थापनाको दिन नाति गोलुलाई बिहान १० बजे रनिवासमा मेला देखाउन लगेका थिए । मेलाबाट दिउँसो ३ बजे दुवैजना घर फर्केका थिए । मेलाबाट फर्केपछि गोलु खाजा खाएर खेल्न गएका थिए । निकैबेर नआएपछि ५ बजेतिर छिमेकीहरूसँग र गोलुका साथीहरूसँग सोधपुछ गरेका थिए तर पत्ता लागेन । दीपक घर नआएपछि साँझ ७ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढलाई दीपक हराएको भन्ने खबर परिवारजनले दिएका थिए । 

भोलिपल्ट असोज २५ गते १० लाख रुपैयाँ फिरौतीको फोन आएको हजुरबुबा यादवले बताए । त्यसपछि आफूहरू पैसाको व्यवस्थापनमा लागेको उनको भनाइ थियो । फिरौती मागेपछि परिवारजनले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । धनेश्वरका चार सन्तानमध्ये दीपक एक छोरा थिए । दीपक सबैभन्दा साना थिए । उनीमाथि तीन दिदी छन् । दीपक एमएस एकेडेमी सिम्रौनगढमा नर्सरीमा अध्ययनरत थिए । दीपकका बुबा वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा चार वर्ष काम गरी एक वर्षअगाडि घर फर्केका थिए । उनी घरमा खेतीपाती गरी बसेका थिए । विदेशबाट ल्याएको रुपैयाँ ब्याजमा लगाउने गरेको स्थानीयवासीको भनाइ छ । यादवको पाँच कट्ठा जग्गा छ । अपहरण भएको चार दिनपछि शनिबार राति ११ बजे प्रहरीले गोलुको शव फेला पारेको हजुरबुबा सीतारामले जानकारी गराए । हत्या गर्ने हरिन्द्रकुमार कुशवाहा खेतीपाती गर्ने गरेको र श्याम बैठा वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गरी एक वर्षअगाडि घर फर्केको स्थानीय हृदयनारायण पटेलले बताए । 

श्याम बैठाकी भाउजू जादु टुना सिक्ने गरेको र उनले आफ्ना नाति दीपकको बलि दिएको हजुरबुबा सीतारामको आरोप छ । दीपकले लगाएको चाँदीको बाला, लकेट दुई लिटरको भाँडोमा कालो कपडामा बेरी एक सय ६० रुपैयाँ नगदसमेत भेटिएको हजुरबुबाले बताए । पक्राउ परेका कुशवाहा र बैठा सीतारामका छिमेकी हुन् ।




Views: 148

सम्बन्धित सामग्री:

मन्दिरमै बच्चा जन्मियो

: Tuesday, 20 November, 2018 (9:11:31 PM)

योगीको गुरुकुल मोह

: Tuesday, 20 November, 2018 (8:27:24 PM)