19th November | 2018 | Monday | 1:57:12 AM

सय दिनमा पनि शुन्य, परिवारको आशै मर्यो

दुर्गा उपाध्याय   POSTED ON : Saturday, 03 November, 2018 (3:30:48 PM)

सय दिनमा पनि शुन्य, परिवारको आशै मर्यो

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको सय दिन बित्यो । यसबीचमा भएका छानविनहरुले घटनाको अनुसन्धानमा कञ्चनपुर प्रहरीले प्रमाण मेटाउने गरी लापरवाही गरेको भन्ने निष्कर्ष निकाल्नुबाहेक अर्को उलपव्धि हुन सकेको छैन । शंका गरिएका थप केही व्यक्तिको डिएनए परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको भए पनि थप विवरण केही सार्वजनिक गरिएको छैन । सय दिनमा पनि हत्यारा पत्ता नलागेपछि पीडित परिवारले न्यायको आश मारेका छन् । अनुसन्धान र छानविनमा आधा दर्जनभन्दा बढी टोली खटिए तर हत्यारा पत्ता नलागेपछि पीडित परिवारले न्यायको आश मारेको हो । निर्मलाकी आमा दुर्गादेवीले न्यायको आशा बाँकी नरहेको बताइन् । उनले प्रहरीले अनुसन्धान गरिरहे पनि पहिले नै प्रमाण मेटाइसकिएकाले अपराधी पत्ता लाग्नेमा शंका व्यक्त गरिन् । उनले घटनामा बम दिदीबहिनी कुनै तथ्य बाहिर नआएकाले घटना रहस्यमय बनेको बताइन् । ‘बबिताको बोली र मसँग गरेको व्यवहारले घटनामा उनीहरू नै संलग्न छन् भन्ने शंका उब्जियो’, दुर्गादेवीले भनिन्, ‘सुरुमै प्रहरीले केरकार गरेको भए केही आउथ्यो कि, पछि अनुसन्धान गर्दा केही तथ्य फेला परेन ।’

उनले प्रमाण मेट्ने काम प्रहरी नै संलग्न देखिएपछि अपराधी पत्ता लाग्ने आश गरे पनि निरर्थक भएको बताइन् । ‘बम दिदीबहिनीबाट केही बाहिर नआए पनि प्रहरीलाई कारबाही गरे त पक्कै खुल्छ भन्ने लागेको थियो’, दुर्गादेवीले भनिन्, ‘एसपी र प्रहरी निरीक्षकलाई बर्खास्त गर्दा केही नभनेपछि अब कुन आधारमा अपराधी फेला पर्ला र न्याय पाइएला भन्ने आश गर्ने ?’ 

बम परिवारको गुनासो : दुःख पायौँ

प्रहरीको गल्ती र लापरबाहीले दुःख पाएको बम परिवारको गुनासो छ । पीडित परिवारले खोजतलास गर्न भनेकै दिन प्रहरीले आफ्नो घरमा खोजी नगरिदिएकाले मानसिक यातना भोग्नुपरेको रोशनी बमकी आमा इन्द्रा बमको भनाइ छ । ‘प्रहरीले १० गते राति नै आफ्नो घरमा खोजतलास गरेको भए छोरीहरूले अनेक लाञ्छनाको सामना गर्नु पर्ने थिएन,’ उनले भनिन्, ‘निर्मलाको घटनामा मेरा छोरीमाथि आरोप लागेको छ, बेलैमा प्रहरीले घरमा आएर हेरिदिएको भए आरोप खेप्नुपर्ने थिएन ।’ उनले निर्मलाको हत्यामा आफ्ना छोरीको कुनै भूमिका नभएको जिकिर गरिन् ।  

निर्मलाकै घटनाका कारण मंसिरमा हुने निधो भएको जेठी छोरीको बिहे रद्द भएको इन्द्राको भनाइ छ । उनले भनिन्, ‘हामीले कति पीडा भोगका छौं र कति क्षति भएको छ भन्ने कसैले बुझेको छैन ।’ छोरीले घटना गराएको प्रमाण भए कारबाहीका लागि उनले बताइन् । प्रमाण नभए लाच्छित नगर्न उनले आग्रह गरिन् । उनले भनिन्, ‘भीडको लहलहैमा लागेर मेरी छोरीहरूको बेइज्जत नगर्नुस ।’

प्रहरीमाथि कारबाही

निर्मला घटनामा प्रमाण मेटेकोे तथ्यका आधारमा तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र वडा कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक जगदीश भट्टलाई विभागीय कारबाही गरी जागिरबाट हटाइएको छ । जानाजान प्रमाण मेट्ने प्रहरीमाथि कानुनी कारबाही हुन्छ कि हुँदैन भन्ने चासो आमनागरिकमा छ । प्रहरीले प्रमाण मेटेको प्रमाणित भएर विभागीय कारबाही गरिसेकेपछि उनीहरूमाथि कानुनी कारबाही हुनुपर्ने अधिवक्ता पुनम चन्दले बताइन् । 

मुलुकी संहितामा अनुसन्धानलाई बदनियत तरिकाले मोड्ने अनुसन्धान अधिकृत वा निर्देशन दिने प्रहरी अधिकारीमाथि कानुनी कारबाहीको व्यवस्था भएकाले उनीहरूलाई प्रक्रियामा ल्याउनुपर्ने चन्दको भनाइ छ । 

डिएनएमै साँघुरियो अनुसन्धान

निर्मलाको घटनामा प्रहरीबाटै प्रमाण नष्ट भएपछि यतिबेला प्रहरीको अनुसन्धान डिएनएमा साँघुरिएको छ । शंकाको घेरामा रहेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । प्रहरीले दोस्रो चरणमा मंगलबार चारजनाको डिएनए नमुना संकलन गरेर परीक्षण गर्न काठमाडांै पठाएको छ । आवश्यक परे शंकाको घेरामा परेका अन्य व्यक्तिको पनि डिएनए परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

‘म पनि निर्मला’

काठमाडौं  । निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पुगेको सन्दर्भमा ‘म पनि निर्मला’ भन्दै राजधानीमा प्रदर्शन गरिएको छ । दुई तिहाइको सरकारको नालायकीले हत्याराहरू पक्राउ गर्न नसकेको आरोप लगाउँदै प्रदर्शनमा उत्रिएकाहरूले विभिन्न नारा लेखेका प्लाकार्ड बोकेका थिए । उनीहरूले चाँडोभन्दा चाँडो अपराधी पक्राउ गरेर कारबाही गर्न माग गरेका थिए । 

प्ले कार्डमा ‘म पनि निर्मला’, ‘निर्मला हत्याको १०० दिन’ लगायत नारा लेखिएका थिए । विरोध प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा सन्देशमूलक एउटा नाटक देखाइएको थियो । शुक्रबारै साँझ ललितपुर दरबार क्षेत्रमा दीपप्रज्ज्वलन गरिएको थियो । 

एसपी विष्टको गनगन

यसैबीच, निर्मलाको बलात्कार र हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको अभियोगमा बर्खास्त भएका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टले सामाजिक सञ्जाल फेसबुकमार्फत गुनासो पोखेका छन् । 

आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले ‘सत्य इमानदारीताका पक्षमा वकालत गर्दागर्दै जागिरको अन्त्य भएको’ उल्लेख गरेका छन् । उनले आफ्नो दायित्वको पक्षमा वकालत गर्दागर्दै जागिर अन्त्य भएको उल्लेख गर्दै निष्ठा र स्वाभिमानको अन्त्य नभएको जनाएका छन् । खडेरी परेका बेला सत्य ओइलाउनसक्ने तर कहिल्यै नमर्ने उनले लेखेका छन् । जबकि गृहमन्त्रालयले गठन गरेको छानविन समितिसँगको बयानमा उनले भीडभाड भएका कारण आफू सुरुमा घटनास्थल नगएको भन्ने बयान दिएका थिए ।  


Views: 45