19th November | 2018 | Monday | 2:14:37 AM

मधेसलाई पनि पर्यटकको गन्तव्य बनाउन युवाहरुको जोड

पुरन साह   POSTED ON : Monday, 05 November, 2018 (6:27:11 PM)

मधेसलाई पनि पर्यटकको गन्तव्य बनाउन युवाहरुको जोड

जनकपुरधाम । देश संघीय संरचनामा गएपछि प्रदेश नं. २ सहित तराई मधेसमा रहेका धार्मिक धरोहर र गन्तब्यहरुका साथै मधेसलाई समेत अव विश्व पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनाउन यहाँका युवाहरु अग्रसरता देखाएका छन् । तराई मधेसवाट प्रतिनिधित्व गर्ने देश विदेशमा विभिन्न पेशामा रहेका युवाहरु सो कार्यमा अग्रसरता देखाएका छन् । यस कार्यमा देशमा रहेका मात्र नभई विदेशमा समेत रहेका मधेसका युवाहरुको अग्रसरता देखिएको छ । अमेरिकमा रहेका जनकपुरका युवाहरुको संस्था कोड फर नेपालले स्थानीय विभिन्न संस्थाहरुको सहजीकरणमा केहिदिन पुर्व देखि भिजिट जनकपुर डट कम र डिजिटाइजिङ्ग जनकपुर अभियान सुरु गरेका छन् । त्यसै गरि अमेरिकामै रहेका केहि युवाहरुको लगानी र पहलमा भिजिट मधेस नेपाल अभियान पर्साको विरगंजवाट थालिएको छ ।

सो अभियानमा प्रदेशका आठ वटा जिल्ला मात्र नभई चितवन, मकवानपुर, रुपन्देही, नवलपरासी, कपिलबस्तु, सुनसरी, मोरङ्ग र झापा सहित मधेसका २२ वटै जिल्लाको पर्यटन सम्भावना बोकेका धरोहरुलाई इन्टरनेटमा प्राथमिकतामा ल्याउन र विश्व पर्यटक माझ चिनाउने अभियान स्वरुप भिजिट मधेस नेपाल अभियान थालिएको हो । यस अभियानमा अमेरिका बस्ने मधेसी युवाहरु अमित साह, डा. विनोद साह, सुनिल साह, सतेन्द्र साह र राज सर्राफ रहेका छन भने नेपालमा विरगंजका युवा नेता ओम प्रकाश सर्राफले सहजीकरण गरिरहेका छन् । विरगंजमा अभियानको उदघाटन गर्दै प्रदेशका उद्योग पर्यटन तथा बन राज्यमन्त्री सुरेश कुमार मण्डलले मधेसमा पर्यटनका लागि महत्वपुर्ण रहेको स्थल र धरोहरुको मार्केटिङ्ग गर्न सकिए सफलता र आर्थिक सपन्नता सम्भव रहेको बताए ।

राज्यमन्त्री मण्डलले पहाडमा रहेका पर्यटन स्थलहरुको मार्केटिङ्ग टयाक्सी चालकहरुले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलवाटै गर्ने गरेको समेत बताए । उनले मधेसका पर्यटनको केन्द्रहरुलाई पर्यटकको सेडुलमा पार्न प्रचार प्रसार आवयश्क रहेकाले अभियानको सराहना गरे । अभियानको उदघाटन समारोहमा बोलेका मधेस मामिला जानकार चन्द्रकिशोर झाले मधेस विविधतापुर्ण रहेकाले अनेकौ संस्कृती र महत्व रहेकाले ओझेमा रहेका स्थानिय स्रोत साधन र विशेषताहरुलाईनै प्रचार प्रसार गर्ने हो भने पर्यटन फसटाउने बताए ।

प्रतिष्ठित व्यापारि समेत रहेका विरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले पर्यटन क्षेत्र एक व्यापारनै रहेकाले सतप्रतिशत जेडिपीमा ग्रोथ गर्ने गरेको दावी गरे । त्यस्का लागि पुर्वाधार अवयश्क रहेको बताए । 

कार्यक्रममा उपस्थित भारतिय महाबाणिज्य दुतावासक महाबाणिज्य दुत विसी प्रधानले मधेस र मधेसीको आर्थिक स्तर उकास्ने भएकाले भारत सरकार मधेसको पर्यटन विकासमा सवै सहयोग गर्ने आश्वासन दिए । अभियानमा प्रदेश दुईका आठवटा जिल्ला मात्र नभई मधेसका २२ जिल्लाकै युवाहरुलाई अभियानीका रुपमा जोडिएको संयोजक आम प्रकाश सर्राफले बताए । कार्यक्रममा अमेरिकावाट अभियानी राज सर्राफले भिडियो कन्फरेन्सवाट अभियानका विषयमा प्रकाश पारेका थिए । 

बिरगंजमा अभियान समुदघाटन गर्दै राज्यमन्त्री मण्डल सहित । तस्वीर ः पुरन साह÷हिटा


Views: 100