19th November | 2018 | Monday | 3:03:45 AM

भेरीमा जिप खस्दा १० को मृत्यु

वीरेन्द्र आचार्य   POSTED ON : Tuesday, 06 November, 2018 (2:00:14 PM)

भेरीमा जिप खस्दा १० को मृत्यु

कालिकोट । डोल्पामा सोमबार जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । डोल्पाको सदरमुकाम दुनैबाट सुपानी जाने क्रममा जिप नदीमा खसेको हो । भे१च १६१० नम्बरको बोलेरो जिप दिउँसो ठूलीभेरी नदीमा खसेको हो । दुनैबाट गुडेको जिप ठूलीभेरीको कालागौडामा सडकबाट चिप्लिएर नदीमा खसेको डोल्पा प्रहरीले जानकारी गराएको छ । उनका अनुसार दुर्घटनामा घाइते २ जनाको जीवितै उद्धार गरिएको छ । चालक दिनेश बोहोरा पनि घाइते भएका छन् । दुर्घटनामा परेको जिप पछि नदीबाट बाहिर निकालिएको थियो । प्रहरीले ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका गरेको छ । ओरालोमा ब्रेक नलागेर जिप नदीमा खस्न गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीको कथन रहेको छ ।

डोल्पा जिल्लामा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुसी साट्न नपाउँदै डोल्पाली जनतामाझ सोमबार दुखद् घटना भएको हो । डोल्पाली जनतालाई सुविधा दिनको लागि हेलिकप्टरबाट ल्याएर सञ्चालनमा ल्याइएका जिप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफालमा सञ्चालित थिए । १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जिप करिब २ बजेर ३० मिनेटमा दुर्घटनामा परेको हो । दुर्घटनामा पर ि७ जना पुरुष र ३ जना महिलासहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृतक सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रिपुराकोट बस्ने वर्ष ४५ का हेमराज हमाल, सोही ठेगानाका वर्ष १८ की लक्ष्मी रोकाय, वर्ष ६२ का नरसिंह कठायत, सोही ठेगानाका वर्ष २५ का शेरबहादुर थापा, सोही नगरपालिका वडा नं २ बस्ने वर्ष १३ की अस्मिता रोकाय, सोही नगरपालिका वडा नं ३ बस्ने वर्ष ४५ का बुध धराला, सोही नगरपालिका वडा नं २ बस्ने वर्ष २४ का कुमार रोकाय, सोही नगरपालिका वडा नं ५ बस्ने वर्ष १२ का याम रोकाय, ठुलीभेरी नगरपालिका ५ बस्ने वर्ष ३० का भद्र रोकाय र सोही नगरपालिका ३ बस्ने अन्दाजी वर्ष १७ की मनिसा धराला रहेको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश विष्टले जानकारी दिए । घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका २ बस्ने नन्दबहादुर थापा र सोही नगरपालिका ३ बस्ने चालक दिनेश बोहोरा रहेका छन् । थापाको अवस्था सामान्य भएपनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब पन्ध्र मिटर तल ठुलीभेरी नदीमा खसेको प्रहरी चौकी कालागौंडाले जनाएको छ ।

शवहरू  जिल्ला अस्पतालमा राखिएको र मंगलबार  पोस्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार एक वक्तव्य जारी गरी डोल्पामा भएको बस दुर्घटनाले आफू दुखित भएको जनाउँदै मृतक सबैप्रति समवेदना प्रकट गरेका छन् । 


Views: 44