19th December | 2018 | Wednesday | 12:33:39 AM

निर्मलाको न्याय माग गर्दै महेन्द्रनगरमा बृहत प्रदर्शन

दुर्गा उपाध्याय   POSTED ON : Thursday, 06 December, 2018 (8:51:14 PM)

निर्मलाको न्याय माग गर्दै महेन्द्रनगरमा बृहत प्रदर्शन

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरमा बिहिबार बृहद प्रदर्शन गरिएको छ । नागरिक संघर्ष समितिले घोषणा गरेको चार दिने कार्यक्रम अन्तरगत बिहिबार महेन्द्रनगरमा मावन साङ्लो सहितको बृहत प्रदर्शन गरिएको हो । 

निर्मलाको न्यायका लागि मावन साङ्लो सहित विरोध प्रदर्शन गरिएको नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले बताइन् । 

आफूहरुले सुरुवातदेखि नै आन्दोलन गर्दै आएको बताउदै सरकारले दोषिलाई जोगाउन निर्दोष व्यक्तिलाई फसाउन नपाउने उनको भनाइ छ ।

संघर्ष समितिको चार दिने आन्दोलन सरकारलाई दबावमूलक भएको उनले बताइन् । 

‘हामीले सरकारलाई दबाव दिन धर्नासँगै आन्दोलनका अन्य कार्यक्रमहरु पनि घोषण गरेका थियौ’, उनले भनिन् ‘सबैको साथ र सहयोगले हाम्रो आन्दोलन सफल भएको छ । यसले सरकारलाई पनि थप दबाव पुगेको छ ।’

चोक चोकबाट सुरु गरिएको मानव साङ्लो सहितको प्रदर्शन पछि गएर ¥यालीमा परिणत भएको थियो ।

प्रदर्शनमा विभिन्न विद्यालय, क्याम्पसका शिक्षक विद्यार्थी, अधिकारकर्मी लगायत सर्वसाधारणको उपस्थिति थियो । 

थप आन्दोलनको घोषणा

गत सोमबारदेखि दोहोरो आन्दोलन गर्दै आएको नागरिक संघर्ष समितिले फेरि ६ दिने थप आन्दोलनको घोषण गरेको छ । संघर्ष समितिले शुक्रबारबाट पुनः आन्दोलन थाल्ने जनाएको छ । 

समितिले शुक्रबार मुखमा टेप लगाएर जिल्ला प्रशासन अगाडी धर्ना बस्ने, शनिबार निर्मलाको पुत्ला बनाएर प्रशासनको गेट अगाडी प्रदर्शन गर्ने, आइतबार सोहि सहित पुत्ला धनगढीस्थित मुख्यमन्त्रीको कार्यालय अगाडी प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम निर्धारण गरेको महिला अधिकारकर्मी शारदा चन्दले बताइन् । 

उनले सरकारले निर्मलालाई न्या नदिएसम्म आफूहरुको दबावमूलक आन्दोलन जारी रहने बताइन् ।

यता, प्रहरीले निर्मलाको हत्याको अभियोगमा फेरि पनि सर्वसाधरणलाई नियन्त्रणमा लिएर दुःख दिइरहेको संघर्ष समितिकी संयोजक भण्डारीको भनाइ छ ।

‘अहिले फेरि प्रहरीले केहि युवालाई नियन्त्रणमा लिएर कुटपिट गर्दैछ भन्ने हामीलाई गुनासो आएको छ’, उनले प्रश्न गर्दै भनिन् ‘सर्वसाधारण नै अपराधि भए तिनकै लागि प्रहरीले प्रमाण मेटाएको हो त ?’

उनले निर्मलाको घटनालाई साम्य पार्न प्रहरीले फेरि निर्दोष व्यक्तिलाई पसाउन खोजेको आरोप लगाइन् ।

यसअघि, संघर्ष समितिले प्रशासन अगाडी कालो पट्टी बाधेर धर्ना बस्नुका साथै हराएको न्याय खोज्ने भन्दै टर्च बालेर विरोध प्रदर्शन गरेका थिए ।

पीडित परिवारले गत कार्तिक २५ गतेबाट सुरु गरेको अनिश्चितकालिन धर्नामा ऐक्यबद्धता जनाउदै आएको संघर्ष समितिले नागरिक समाजसँगको छलफल पछि आन्दोलनका आगामी कार्यक्रम बारे तय गर्ने जनाएको छ ।

सरकार नालायक बन्यो : उमादेवि बादी

सरकारले निर्मलालाई न्याय नदिएर आफ्नो नालायकपन देखाएको सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा काँग्रेस नेतृ उमादेवि बाढीले बताएकी छिन् । बिहिबार निर्मलाको न्यायका लागि जारी धर्नामा ऐक्यबद्धता जनाउदै प्रदेश सभा सदस्य समेत रहेकी काँग्रेस नेतृ बादीले वर्तमान सरकारले आमनागरिकलाई न्यायको प्रत्याभूति दिलाउन नसकेको बताइन् ।

उनले अहिलेको सरकारमा महंगी र भ्रष्टाचार बढाउने काम बाहेक अरु केहि गर्न नसकेको आरोप सकेत लगाइन् ।

‘यो सरकार कति नालायक छ भन्ने अब जनताले बुझिसकेका छन्’, उनले प्रश्न गर्दै भनिन् ‘यो सरकारका पालामा महंगी र भ्रष्टाचार बढ्नु बाहेक अरु के भएको छ ?’


Views: 22