19th December | 2018 | Wednesday | 12:52:16 AM

पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्द भ्रष्टाचार मुद्धा दायर

हिमालय टाइम्स   POSTED ON : Friday, 07 December, 2018 (7:14:12 PM)

पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्द भ्रष्टाचार मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइँको नहर निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शुक्रबार अख्तियारले निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका मालिक विक्रम पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र तीन जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

 पूर्वमन्त्री समेत रहेका पाण्डेविरुद्ध अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ बिगो दाबी गरेको छ ।

आयोजनाको मूल नहर भत्किएको, मूल नहरको डिजाइनमा नै त्रुटि तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, परामर्शदाता निर्माण व्यवसायीले पर्याप्त अनुगमन नगरेको पाइएको आयोगको ठहर छ । 

गुणस्तरीय कार्य हुन नसकेको र एक पटक परीक्षणका क्रममा नहर भत्किसकेकोमा पुनःपरीक्षणसमेत नगरी निर्माण व्यवसायीलाई उन्मुक्ति दिएको पाइएको छ । 

आयोगले आयोजनास्थलको अनुसन्धान गर्दा आयोजनाको विभाग तथा सिक्टा सिँचाइ आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीको संलग्नता देखिएको पाइएको थियो । 

सरोकारवालासँग गहन छलफल, विस्तृत अध्ययन तथा अनुसन्धान, नहर निर्माणमा प्रयोग हुने माटोको गुणस्तर परीक्षण तथा त्यसको उपयुक्तता र विस्तृत आयोजना प्रतिवेदनको तयारीबिना नै गुणस्तरयुक्त नहर निर्माणको लागि अपरिहार्य रहेका र अनिवार्य ठानिएका गुणस्तर परीक्षणलगायतका प्रावधानसमेत ठेक्का सम्झौताको कागजातमा उल्लेख नभएको पाइएको छ । 

घुलनशील तथा गुणस्तरहीन माटोलाई अनादेखा गरी गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता गरी आर्थिक लाभ लिई भ्रष्टाचारजन्य कार्य गर्ने उद्देश्य राखिएको पाइएको आयोगको अध्ययनले देखाएको छ । आयोगले केही समय पहिले प्राविधिकसहितको टोलीले स्थलगत अध्ययन गरेको थियो । 



Views: 45