22nd January | 2019 | Tuesday | 9:32:23 AM

सुरक्षागार्डको रुपमा कार्यरत कर्मचारी ट्रान्सर्फमरमा मृत अवस्थामा फेला

दुर्गा उपाध्याय   POSTED ON : Sunday, 16 December, 2018 (8:08:33 PM)

सुरक्षागार्डको रुपमा कार्यरत कर्मचारी ट्रान्सर्फमरमा मृत अवस्थामा फेला

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ७ लालपुरस्थित विद्युत प्राधिकरणको ट्रान्सर्फमरमा एकजना कर्मचारी मृत अवस्थामा फेला परेका छन् । नेपाल विद्युत प्राधिकरण प्रसारण ग्रिड संचालन विभिाग लालपुर स्टेशनमा सुरक्षागार्डको रुपमा कार्यरत भिमदत्त नगरपालिका १९ बागफाँटाका चन्द्रदेव भट्ट ट्रान्सर्फमरमा मृत अवस्थामा फेला परेका हुन् ।

आइतबार बिहान ५ बजे कार्यलयका कर्मचारी तिलक स्वारसँगै चिया खाएर फर्किएका भट्ट केहिबेर पछि ट्रान्सर्फमरमा मृत अवस्थामा फेला परेको मालिकार्जुन होटलका संचालक नरेन्द्र साउँदले बताए ।

‘भट्ट सधै बिहान मेरा पसलमा चिया खान आउथे । उनी सोझा र सरल खालका व्यक्ति थिए’ ले भने ‘आज पनि करिब साढे ५ बजेतिर हाकिमसँगै आएर चिया खाएर गएका हुन् । केहि बेरपछि यस्तो घटना सुनियो ।’

उता, मृतकका आफन्तले भने नियोजित रुपमा उनको हत्या गरेर ट्रान्सर्फमर आरोप लगाएका छन् । उनीहरुका अनुसार मृतक भट्टलाई केहिदिन अघि कर्मचारीबाट मार्ने धम्की आएको बताएका छन् ।

‘उसले चारपाँच दिन अघि अफिसकै कर्मचारीले आफूलाई मार्ने षडयन्त्रण गरेका छन् भनेको थिए’ आफूलाई मृतककी दिदीले भनिन् ‘हामीले त्यस्तो डर भए किन त्यहि काम गर्नु पर्यो ? काम छोडे हुन्छ भनेका थियौ ।’ 

उनका अनुसार परिवारले जागिर छाड्न भनेपछि उनी शनिबार काम गरे त्यहाँबाट छोड्ने मनस्थिति बनाएका थिए । 

‘आजबाट अर्को महिना सुरु हुने भएकाले उसले काम छोड्छ भन्ने थाहा पाएपछि कर्मचारीले नै उसलाई मारेर ट्रान्सर्फमरमा राखेका हुन्’ उनले भनिन् ‘होइन भने गेटमा चौकिदारी गर्ने मान्छे कसरी र किन ट्रान्सर्फमरमा गयो ?’

परिवारका अनुसार भट्ट विद्युतीय सामाग्रीसँग डराउने स्वाभावका व्यक्ति थिए । उनी ट्रान्सर्फमरमा आफै गएको हुनै नसक्ने परिवारको दाबी छ । 

यता, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले आइतबार बिहान एकजना कर्मचारी विद्युतको ट्रान्सर्फमरमा मृत फेला परेको खबर पाउनासाथ प्रहरी खटाएर अनुसन्धान सुरु गरेको बताए । 

उनले मृतकका आफन्तबाट भट्टलाई मारिएको हुन सक्ने भन्ने जानकारी आएकाले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए । 

‘घटनाका बारेमा थाहा पाउनासाथ हामीले प्रहरी परिचालन गरेर अनुसन्धानलाई थालिसकेका छौ’, उनले भने ‘परिवारबाट पनि केहि अनुसन्धानलाई सहयोग पुग्ने खालका सूचना आएका छन् ।’ 

प्रहरीले घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत मगाएको छ । तर, शव जलिसकेको र मृतक बस्ने कोठामा समेत सबै प्रवेश गरेकाले कुकुरको प्रयोग गर्न समस्या भएको छ । 

‘हामीले धनगढीबाट तालिम प्राप्त कुकुर पनि मगाएका छौ’, प्रउ कडायतले भने ‘तर घटनास्थल र शवको प्रकृति हेर्दा कुकुरको प्रयोग गर्न गाह्रो छ ।’


Views: 74