22nd January | 2019 | Tuesday | 10:28:31 AM

सुविधायुक्त बन्दै बृद्धाश्रम

बिनु लुइँटेल   POSTED ON : Friday, 11 January, 2019 (1:52:42 PM)

सुविधायुक्त बन्दै बृद्धाश्रम

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दै गएको चिसोलाई छल्न र बुढेसकालको  एक्लोपनलाई भुल्न दिउँसोको समयमा घाम ताप्दै  एकअर्कासगँ गफमा ब्यस्त देखिन्छन् समाज कल्याण केन्द्र बृद्धाश्रम पशुपतिका बृद्धबृद्धाहरु । यो आश्रम अहिले १६५ बृद्धबृद्धाको साहारा बनेको छ । 

सरकारी स्वामित्वमा रहेको एकमात्र बृद्धाश्रममा यतिबेला बृद्धबृद्धाको हेरचादेखि आश्रमको व्यवस्थापनमा समेत धेरै परिर्वतन आएको देखिन्छ ।  विक्रम संवत् १९३८ मा पञ्चदेवलको नामले स्थापित यो आश्रम हाल समाज कल्याण केन्द्र पशुपति बृद्धाश्रमको रुपमा संचालन हुदै आएको छ । आश्रमको ४ वर्ष अघि र अहिलेको अवस्थामा धेरै कुरामा परिवर्तन आएको देखिन्छ । 

करिब २५ बर्षदेखि बृद्धाश्रममा आफ्नो जीवन बिताइरहेका ७५ बर्षिय बृद्ध  लिलाबहादुर राउत दुबै आँखा नदेख्ने भए पनि आश्रमका हरेक क्रियाकलापलाई  महसुस गर्ने बताउँछन् । खाने कुरादेखि आफूहरुलाई गर्ने व्यवहारमा समेत धेरै परिर्वतन आएकोमा उनी  निक्कै खुसी देखिन्छन् । केही बर्षअगाडी फोहोरले टेक्न नमिल्ने र गन्धले  मुख नछोपि पस्न नसकिने अवस्थामा रहेको आश्रम अहिले सुन्दर बगैचाको रुपमा सजिएको छ । ४ वर्षअघि न शौचालय थियो न त पर्याप्त पानी नै । जताततै फोहोरै फोहोर र  दुर्गन्धले बस्न नसकिने उक्त आश्रम अहिले सफासुग्घर र चिटिक्क पारिएको छ । बृद्धबृद्धा बस्ने तथा सुत्ने खाट सफा देखिन्छन् भने,  बृद्धाबृद्धको आवश्यकता, उनीहरुलाई प्रयोग गरिने भाषा साथै व्यवहार, सरसफाइ, व्यवस्थापन, रेखदेख र  आवश्यक सामग्रीहरु निकै व्यवस्थित रहेको देखिन्छ । 

२०७२ बैशाख १२ को भुकम्प पछि आश्रममा पहिलाको भन्दा धेरै परिर्वतन आएको आश्रमका नायव सुब्बा कृष्णप्रसाद कडेलले बताए । स्थापना कालदेखि अस्तव्यस्त रहेको आश्रमलाई अहिलेको अवस्थामा ल्याउनका लागि निकै नै गाह्रो भएपनि पहिलाको तुलनामा परिर्वतन हुनु नै ठूलो कुरा रहेको कँडेलको भनाइ छ । उनले प्रयास ग¥यो भने असम्भव कुरा केही नरहेको बताए । 

उनले २०७२ सालको भूकम्प पछि आश्रममा बृद्धबृद्धा नथपिएको बताए । उनले आश्रममा तातो चिसो पानि चौबिसै घण्टा आउने गरी धाराहरु जडान गरिएको बताए । उनले बृद्धबद्धाको स्वास्थ्य चेकजाचका लागि स्वास्थ्यकर्मीको व्यवस्था, पोषिलो खानाको व्यवस्थापनका साथै घाम ताप्न र बस्नका लागि बगैँचा निर्माण गरिएको बताए । आश्रम वरिपरीका खाल्डाखुल्डी समेत पुरीएको छ भने शारिरिक रुपमा सक्षम रहेका बृद्धबृद्धालाई पानी तताउनका लागि इलेक्ट्रोनिक जग दिएको छ । चिसो बढेसँगै हिटर, एसीको पनि व्यवस्था गरिएको नासु कँडेलले बताए । 

बृद्धबृद्धाहरु आफूखुसी बाहिर जान पाउँदैनन् भने बाहिरबाट भेट्न आउनेलाई फर्किनेबाला हरेककोे ब्याग जाँच गरेर मात्रै बाहिर पठाइने गरिएको छ । नासु कँडेलका अनुसार आश्रममा शौचालयको राम्रो व्यवस्थापन गरिएको छ भने लुगा धुन वासिङ मेसिन राखिएको छ । 


Views: 35