23rd August | 2019 | Friday | 3:18:12 PM

सुस्तगतिको हरियाली अभियान

बिनु लुइँटेल   POSTED ON : माघ २३, २०७५ (३:१३ PM)

सुस्तगतिको हरियाली अभियान

काठमाडौं । चारैतिर धुलो र धुवाँले घेरिएको काठमाडौं उपत्यकामा शान्त र हरियाली वातावरणमा समय बिताउन पाउने ठाउँ कमै मात्र भेटिन्छन् । बढ्दो जनसंख्या र शहरीकरणले हराउँदै गएको शहरको सुन्दरता फर्काउन धेरै अगाडिदेखि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले हरियाली काठमाडौं अभियान समेत चलाउँदै आएका छन् ।

२०७० सालमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कोटेश्वर–लोकन्थली बाटोबीचको खाली ठाउँमा जामुनको बिरुवा रोपी हरियाली काठमाडौं अभियान प्रारम्भ गरेका थिए । पाँच वर्षअगाडि हरियाली अभियानको सुरुवात भएसँगै यो काम निरन्तर अगाडि बढिरहेको छ । काठमाडौं महानगरपालिकाले उजाड बन्दै गएको शहरी क्षेत्र र वातावरणमा परेको नकारात्मक प्रभाव रोक्न हरियाली काठमाडौं अभियानलाई निरन्तरता दिन भन्दै काम अघि बढाएको छ ।

हरियाली काठमाडौंको सुरुवातसँगै उपत्यकाभित्रका विभिन्न खाली ठाउँमा बिरुवा लगाउने र शहरलाई सुन्दर बनाउने काम नै सुरुवात भएको थियो । महानगरले गत वातावरण दिवसबाट वृक्षरोपण अभियान सुरु गरेको थियो । त्यसै अनुरूप महानगरले उपत्यकाभित्रका विभिन्न ठाउँमा ६ हजारभन्दा धेरै बिरुवा रोपेको बताए पनि कति बचेका छन् र कत्रा भएका छन् भन्ने खोजी गरेको देखिँदैन । बिरुवा कति रोपिएभन्दा पनि रोपिएकामध्ये कति संरक्षित भए भन्ने कुरा मुख्य रहने महानगरका वातावरण व्यवस्था विभाग प्रमुख हरि कुवँर बताउँछन् । हरियाली वातावरण र सुन्दर काठमाडौं भन्दै धेरैले बिरुवा रोपे पनि संरक्षण गर्नतर्फ कसैको ध्यान नहुँदा अभियान थालिएको लामो समय भए पनि सोचेअनुरूपको उपलब्धि नभएको कुवँरको भनाइ छ । उनी भन्छन्, ‘महानगरसँग नै रोपिएका बिरुवामध्ये कति हुर्किरहेका छन् भन्ने कुनै तथ्यांक र गणना रहेको छैन ।’

रोपिएका बिरुवाको संरक्षण त भएको छैन नै अहिले त कतिपय ठाउँमा बिरुवा रोप्ने अवस्थासमेत छैन । काठमाडौं उपत्यकामा कतिपय सडक नजिक बिरुवा रोप्ने ठाउँसमेत नराखी नै सडक निर्माण भएका छन् । हरियाली काठमाडौं योजना झट्ट सुन्दा जति आकर्षक लाग्छ, कार्यान्वयन उति अव्यवहारिक रहेको देखिन्छ । अहिले हेर्ने हो भने कोटेश्वर कलंकी सडकखण्ड बनिसकेको छ तर हरियाली काठमाडौं अभियानले भनेजस्तो सडकको छेउमा बिरुवा रोप्ने ठाउँ नै राखिएको छैन । गाडीको दुई लेनबीचमा ससाना बुट्यान रोपेर हरियाली बनाउन मिल्ने भए पनि त्यसतर्फ कसैको ख्याल पुगेको छैन । भर्खरै निर्माण भएको कलंकी–कोटेश्वर सडक खण्डको वरिपरि चाहेर पनि बिरुवा रोप्न सकिने अवस्था छैन । बीचमा सिमेन्टको स्ल्याब राखिएको छ । यहाँमात्र नभएर उपत्यकाका अधिकांश सडकवरिपरिको अवस्था उस्तै रहेको छ । सडक निर्माण गर्दा र बाटो फराकिलो बनाउँदा नै हरियाली हिस्सा छाडिनुपर्ने भए पनि सर्वसाधारणको लागि फुटपाथसमेत मुस्किलले छाडिएको छ । बिरुवा रोप्ने बहानामा फुटपाथका स्ल्याब उखेलेर गोलाकार तारेजाली लगाएर कतिपय ठाउँमा बिरुवा रोपिएको पनि देख्न सकिन्छ उपत्यकामा । तर यसले तारजाली लगाएर रोपिएका बिरुवा राम्रोसँग हुर्किन त पाउँदैनन् नै फुटपाथ प्रयोग गर्ने सर्वसाधारणले समेत सास्ती भोग्नुपर्ने हुन्छ । हरियाली शहर बनाउने काम कुनै पनि एउटा दिवसमा जोडतोडले गर्ने र त्यसपछि वास्ता नगर्ने हुँदा वर्षांैसम्म पनि योजना जहीँको तहीँ रहेको महानगरको भनाइ छ । 


Views: 92