23rd August | 2019 | Friday | 3:31:24 PM

मातृभाषा प्रेमले भाषा शिक्षण अभियन्ता

रमा लुइँटेल   POSTED ON : माघ २६, २०७५ (४:१२ PM)

मातृभाषा प्रेमले भाषा शिक्षण अभियन्ता

बद्रीबहादुर थापा यसअघि पहिलोपटक आउँदा उनी पच्चीस वर्ष उमेरका थिए । फेरि ठिक पच्चीस वर्षपछि यतिबेला काठमाडौंमा छन् । पहिलोपटक जोशिलो युवावयमा पुख्र्यौली थलो हेर्न आएका थिए । त्यसभन्दा बढी केही उद्देश्य थिएन । केही दिन घुमे, रमाए र उतै फर्के । बर्मा अर्थात् अहिलेको म्यान्मार । 

बद्रीबहादुर एउटा खास उद्देश्यले यतिबेला काठमाडौंमा छन् । यही मौकामा पच्चीस वर्षअघिको र अहिलेका काठमाडौ तुलना गर्दैछन् । खुला ठाउँ धेरै थियो । अहिलेको जस्तो धुँवाधूलो थिएन । सडकमा हुइँकिने सवारीसाधन थोरै थिए । मान्छेमा हार्दिकता धेरै थियो । 

अहो ¤ पच्चीस वर्षमा त धेरै फरक परेछ । एउटा युग नै रहेछ पच्चीस वर्ष भनेको त । 

बद्रीबहादुर नेपालालाई मातृभूमि मान्छन् । त्यसैले उनी खास उद्देश्यले आएका हुन् । बद्रीबहादुर नेपाली भाषा र संस्कृतिका साधक हुन्, जो म्यान्मारमा बसेर यसबारे चिन्तन गरिरहेका छन् । चिन्तन मात्रै होइन, नेपाली भाषा र संस्कृतिलाई म्यान्मार बसेका नेपालीबीच जीवन्त राख्न उनी अहोरात्र सक्रिय छन् । जीवन यसमै अर्पण गरेका छन् । 

बद्रीबहादुर म्यान्मारमा ‘देशीय गोर्खा हिन्दू धार्मिक संघ’ नामको संस्थाअन्तर्गतको शिक्षा विभागका प्रमुख हुन् । यो विभागले म्यान्मारमा रहेका नेपालीभाषीहरूलाई नेपालीभाषा शिक्षण विद्यालयमार्फत् नेपाली भाषा र संस्कृतिको बारेमा शिक्षा दिन्छ । संघअन्तर्गत थुपै्र विभाग छन् । शिक्षा विभाग, स्वास्थ्य विभाग, संस्कृति विभाग इत्यादि । ती विभागले नेपालीभाषी भएको शहरमा आफ्नो जिम्मेवारीअनुसारको काम गर्छन् । 

तीनमहिने भाषा विद्यालय 

म्यानमारमा करिब दुई लाख नेपालीभाषीको बसोवास छ । म्यान्मारका बालबालिकाले त्यहाँको सरकारी विद्यालयमा अंग्रेजीसहित बर्मिस भाषामा अन्य विषय पढ्नुपर्छ । म्यान्मारमा जुनजुन ठाउँमा नेपालीभाषीहरू बसोवास गरेका छन्, त्यहाँ नै उक्त संघअन्तर्गतको शिक्षा विभागले नेपाली भाषा विद्यालय खोलेको छ । ती विद्यालयमा नेपाली भाषामात्रै पढाइ हुन्छ । म्यानमारका विद्यालयमा तीन महिना सरकारी बिदा हुन्छ । यो तीन महिनाको समयमा नेपाली भाषा पढाउने विद्यालय चालु हुन्छन् । यी विद्यालयमा बिहान नौ बजदेखि अपराहृन चार बजेसम्म पढाइ हुन्छ । 

दिनभर नेपाली भाषामात्रै पढाइ हुन्छ । यतिबेला भन्छन्, ‘दिनभर पढाउँछौं, तीन महिनामा विद्यार्थीलाई सिकाउन खोजेको कुरा पूरा गर्न सकिन्छ ।’ एक शैक्षिकसत्रमा लगभग २५ हजार विद्यार्थी नेपालीभाषी विद्यार्थी नेपाली पढ्न यस्ता तीनमहिने भाषा विद्यालयमा आउँछन् । बद्रीबहादुर म्यान्मारमा पढाउने नेपाली भाषाको नयाँ पुस्तक तयार पार्ने सिलसिलामा नेपाल आएका हुन् । 

विद्यार्थी पढाउँदाको अनुभव 

सुरुका केही वर्ष त म्यान्मारका नेपालीलाई हातले लेखेर तयार पारेको सामग्री प्रयोग गरेर नेपाली भाषा पढाइएको थियो । अघिल्लो पुस्ताको नेपाली भाषाप्रतिको लगाव र स्नेहका कारण म्यान्मारमा बसेका नेपालीमा नेपाली भाषा र संस्कृतिप्रतिको प्रेम झाँगिदै गयो । भन्छन्, ‘उहाँहरूले धेरै संघर्ष गरेर भाषाप्रतिको प्रेम जगाइदिनुभयो, त्यसलाई पछिल्लो पुस्ताले निरन्तरता दियो ।’ यही पछिल्लो पुस्ताका एक सक्रिय सदस्य हुन् बद्रीबहादुर । अग्रजले देखाएको बाटोमा हिँड्न पछि खुलेका संघसंस्थाले व्यवस्थितरूपमा काम गर्न थालेका छन् ।

ती विद्यालयमा नेपालको भाषा पाठ्क्रमअनुसार नेपाली भाषा पढाइन्थ्यो । तर, त्यो सजिलो भएन । भाषा बुझाउन अलिक बढी समय लाग्यो । उनीहरूमा नेपाली भाषाको ज्ञान जुनरूपमा दिन खोजिएको थियो, त्यो पूरा गर्न नसकिएको हो कि जस्तो अनुभव भयो । त्यसैले बद्रीबहादुरको समूहले म्यानमारको वातावरण सुहाउँदो पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्ने निश्चय ग¥यो । यतिबेला यसकै तयारीका लागि नेपाल आएका रहेछन् बद्रीबहादुर । उनले भने, ‘नेपाली भाषा सिकाउन म्यानमारको वातावरण सुहाउँदो पुस्तक आवश्यक भयो, अहिले तयार हुँदै गरेको पुस्तकमा नेपाल र म्यानमारको परिस्थिति र अवस्था पनि संयोजन गरिएको छ ।’ 

यस सम्बन्धमा बद्रीबहादुरले एउटा उदाहरण सुनाए । नेपालको प्रसिद्ध ताल फेवाताल हो । म्यान्मारको प्रसिद्ध ताल इन्ले । नेपालका आराध्येव पशुपतिनाथ हुन् । म्यान्मारका स्वेगेन चे चे । यस्तो तुलनासहतिको पाठ्यक्रम र पाठ्यपुस्तकले विद्यार्थीलाई नेपाली भाषा बुझ्न सजिलो हुने उनको विश्वास छ । 

बद्रीबहादुरका अनुसार देशभरमा २२७ नेपालीभाषा शिक्षण विद्यालय छन् र यी विद्यालय ३६ वटा शहरमा छन् । त्यहाँका नेपालीको लागि पहिलो भाषा बर्मिस हो । नेपालीलाई दोस्रो भाषाका रूपमा लिन्छन् । भाषाप्रतिको प्रेमले उनीहरूले नेपाली पढेका हुन् । म्यान्मारको नागरिक भए पनि मूल नेपाली भएकाले नेपाली भाषा सिक्ने चाहनाका कारण उनीहरूमा लगाव बढेको हो । नेपाली पढेर उसले त्यहाँ जागिर पाउने होइन, विश्वविद्यालयमा पढाउन पाउने पनि होइन । ‘स्कुप खोज्नेले पढ्दैनन्, जसले नेपाली भाषालाई माया गर्छ, उसले पढ्ने हो । नेपाली पढेर उसको करियरमा धेरै ठूलो अर्थ नराख्न सक्छ,’ बद्रीबहादुर भन्छन् । 

नेपाली पढ्नेले पाउने काम भनेको नेपाली भाषा विद्यालयमा पढाउन पाउनेमात्रै हो, त्यो पनि जम्मा तीन महिना । नेपालीभाषीका बालबालिकाहरू रमाएर नेपाली भाषा पढ्छन् । बाबुआमा पनि छोराछोरीले रमाएर नेपाली पढिदिए हुन्थ्यो भन्ठान्छन् । जुन बाबुआमाले आफ्नो बच्चाले नेपाली सिकोस् भन्ने चाहना राख्छन् उनका छोराछोरीले राम्रोसँग नेपाली सिकेको बद्रीबहादुर बताउँछन् ।

नेपाली भाषा शिक्षण विद्यालयमा पढाउने शिक्षक उत्पादन गर्ने विशेष योजना बनाएको छ बद्रीबहादुरको समूहले । दश कक्षा पास गरेका विद्यार्थीलाई डिप्लोमा कोर्समा केही महिना नेपाली पढाइन्छ । उक्त कोर्स पूरा गरेपछि ऊ नेपाली विद्यालयको शिक्षक बन्नसक्छ । यो पार्ट टाइम जागिर हो । यस्ता भाषा शिक्षक एक हजार जना भएको बद्रीबहादुरको भनाइ छ । 

पाँचौ पुस्ता अहिले 

करिब डेढसय वर्षअघि नेपालीहरू म्यानमार गएका हुन् । पछिल्लो पुस्ता म्यान्मारमा बसोबास गर्ने नेपाली भाषीको पाँचौं पुस्ता हो । त्यतिबेला अंग्रेज र म्यान्मार (बर्मा) को बीचमा युद्ध भयो, त्यो युद्धमा अंग्रेजले नेपालीलाई गोर्खा सैनिकको लगेको थियो । यो सन् १८८५ को कुरा हो । 

म्यानमारमा रहेका खानीमा काम धेरै नेपालीललाई ब्रिटिशले लगेको थियो । रोजीरोटीको सिलसिलामा पुगेका नेपाली त्यहीँ बसोबास गर्न थाले । म्यान्मारको खेतीयोग्य उर्वरभूमि देखेर लोभिएका नेपाली पनि यो देशमा बसाइसराइँ गर्न इच्छुक भए । यो पनि तीनमध्येको एक कारण भएको बताउँछन् बद्रीबहादुर नेपालीहरू म्यान्मार पुग्नुमा । 

म्यान्मार पुगेका ८० प्रतिशतभन्दा बढी नेपाली उतै बसे । युवाहरूले उतैघरजम गरे । पछिल्लो पुस्ताले त नेपाल देखेकै छैन । सुनेकोसम्म छ । कहाँबाट आएको भन्दा नेपालबाट भन्छन् तर नेपालको बारेमा थाहा छैन । उनीहरूलाई हाम्रो मूल थलो नेपाल हो भन्ने थाहा छ । 

सूचना र प्रविधिमा संसारले मारेको फड्कोको कारण म्यान्मार बसेका नेपालीलाई नेपाली भाषा सिक्न सहज भएको बद्रीबहादुरको भनाइ छ । सञ्चारमाध्यमले नेपाली भाषा सिकाउन सजिलो बनाइदिएका छन् । पत्रिकाका अनलाइन संस्करण र युट्युब च्यानलहरूले सहयोग महŒवपूर्ण भएको छ । नेपाली भाषा नजानेका साना केटाकेटी नेपाली गीत गाइराखेका हुन्छन् । यसलाई युट्युबको प्रभाव र आफ्नो भाषाप्रतिको प्रेम भन्छन् बद्रीबहादुर । 

सबै चाडपर्व मनाउँछन् 

म्यानमारमा बस्ने नेपालीहरू नेपालमा मनाइने अधिकांश चाडपर्व रितिरिवाज मनाउँछन् । दसैँ, तिहार, कुसेँऔंशी, तिज, मातातीर्थ औशीलगायत चाडपर्व मनाउँछन् उनीहरू । नेपालबाट म्यान्मार पहिलोपटक गएका पुर्खाले रामायण, चण्डी पाठ गरे । पछिल्लो पुस्ताले सिक्दै आयो । 

यसरी पुगे बद्रीबहादुर 

हजुरबा म्यानमार नगएको भए शायद बद्रीबहादुरका नेपालमै हुन्थे होलान् । धेरै वर्षअघि उनका हजुरबा म्यान्मार गएका रहेछन् । बद्री उतै जन्मिए । उतै हुर्किए । एक चरणको पढाइ उनले म्यान्मारमै पूरा गरे । थप पढ्न नेपाल आए । जब उनी नेपालबाट फर्किर म्यान्मार पुगे उनलाई लाग्यो, नेपालको संस्कृति र नेपाली भाषा संरक्षणका लागि केही काम गर्नुपर्छ । त्यसपछि सुरु भयो नेपाली भाषा शिक्षण यात्रा । 

नेपालमै बसेको भए उनी नेपाली भाषा र संस्कृति संरक्षणका उनको भूमिका कस्तो हुन्थ्यो होला ¤ उनले भने, ‘म अहिले नेपाली भाषा सिकाउन जसरी काम गर्दैछु, त्यो गर्ने थिइनँ होला, आममान्छेले जे गरेका छन् त्यही गर्थें होला ।’ आफ्नो पुख्र्यौली थलोभन्दा बाहिर हुँदा आफ्नपनको कुराको धेरै माया हुँदोरहेछ । यो त हामीलाई पुर्खाले दिएको सम्पत्ति हो भन्ने लाग्दो रहेछ । त्यसैले उनी म्यान्मारमा बसेर नेपाली भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् ।

म्यान्मार कस्तो देश 

प्रकृतिकरूपमा म्यानमार विश्वको सुन्दर देश हो । यो देशको जनसंख्या साढे पाँच करोड छ । बौद्ध धर्माबलम्बीको बाहुल्य भएको देश हो । म्यान्मारलाई चीन, बंगलादेश, लाओस, भारत थाइल्याण्डले घेरेको छ । म्यान्मार लामो समय अंग्रेजको उपनिवेश भएको देश पनि हो । 

लामो समय चलेको द्वन्द्वपछि म्यान्मार अंग्रेजहरूबाट स्वतन्त्र त भयो तर हालसम्म पूर्ण प्रजातन्त्र अभ्यास हुन सकेको छैन । प्रजातन्त्रका लागि भएको आन्दोलनले टुंगिन नपाउँदै आर्मीले शासनसत्ता आफ्नो हातमा लिएपछि घरेलु द्वन्द्व उत्कर्षमा पुग्यो । अहिले केही साम्य भएको छ, सत्तामा फेरबदल भएको र वार्ता प्रक्रिया जारी छ । जनताले पूर्ण प्रजातन्त्रको अनुभूति गर्न पाएको छैनन् । जमिन उत्पादनशील छ । म्यान्मारले धान अन्य मूलकमा निर्यात गर्छ । विश्वको शक्तिशाली मूलक चीनलाई तरकारी निर्यात गर्छ । 

म्यान्मारमा नेपाल सरकारको दूतावास छ, राजदूत रहन्छन् । नेपालको संस्कृति जोगाउन सांस्कृतिक राजदूत आवश्यक रहेको बद्रीबहादुरको भनाइ छ । ‘एकजना हुँदा धेरैतर्फ हेर्नुपर्छ, संस्कृतिका विषयमा हेर्न सक्दैन, सांस्कृतिक राजदूत भए सजिलो हुन्थ्यो । नेपाली दूतावास र राजदूतले पनि सक्दो सहयोग गर्दै आएका छन् । 

बद्रीबहादुरको कलम नाम हो बगाले थापा । यो नामले उनलाई विशेष क्षेत्रका मान्छेले मात्रै चिन्छन् । बद्रीबहादुर थापा नामले उनलाई नेपालमा मात्रै होइन विदेशमा समेत चिनाएको छ । नेपालको कला संस्कृतिको संरक्षण र नेपाली भाषा अर्को मुलुकमा समेत जोगाउन लागेका बद्रीबहादुरको यात्रा निरन्तरताको शुभकामना ¤


Views: 126