18th February | 2019 | Monday | 4:53:21 PM

बालबालिकाको ‘अक्षरारम्भ’

पार्वती थापामगर   POSTED ON : Monday, 11 February, 2019 (1:55:35 PM)

बालबालिकाको ‘अक्षरारम्भ’

काठमाडौं । राजधानीको स्वयंम्भूस्थित सरस्वती मन्दिरमा आइतबार बिहानै रामेछापकी शान्ता कोइमी छोरीका कलिला हातमा कलम थमाउँदै अक्षर कोर्नमा सहयोग गर्दै थिइन् । छेउमै रहेकी सम्झना ठकुरी पनि आफ्ना दुई छोरालाई मन्दिरको भित्तामा अक्षर लेखाउन सहयोग गरिरहेकी थिइन् । उनले आफ्नो जेठो छोरोलाई पनि पाँच वर्ष पहिले यसै दिन मन्दिरबाटै अक्षर लेख्न सिकाएको बताइन् ।
मन्दिरमा सरस्वती पूजाको दिन पूजाआजासँगै छोराछोरीलाई अक्षर लेख्न सिकाउन सकियो भने छोराछोरीको पढाइ राम्रो हुन्छ भन्ने नेपाली हिन्दू समाजको मान्यता छ । आइतबार काठमाडौं उपत्यकालगायत देशैभरका स्कुल तथा मठमन्दिरमा ‘अक्षरारम्भ’ गराउने अभिभावक तथा बालबालिकाको घुइँचो थियो । बिहानीको झुल्के घामसँगै राजधानीबासी आफ्ना बालबच्चाका साथमा मन्दिर पुगिसकेका थिए ।
श्रीपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी बालबालिकालाई ‘अक्षरारम्भ’ गराउनेको चलन बढ्दै गएको छ । बालबालिकालाई पनि यसै दिन पारेर भर्ना गर्नेको संख्या पनि धेरै थियो । कतिपय अभिभावक आफ्ना नयाँ सन्तानलाई यसै दिन कुरेर ‘अक्षरारम्भ’ गराउनुका साथै स्कुल भर्ना गरिदिने गर्छन् ।
राजधानीको विजयचोकस्थित ‘पाठफाइन्डर’ स्कुलमा पनि भर्ना गराउनेको भीड थियो । कञ्चनपुरकी मैया चौधरी पनि आफ्ना छोरालाई स्कुल भर्ना गरिदिने क्रममा भेटिएकी थिइन् । ‘आजको दिन कुर्दाकुर्दै छोराको उमेर पनि तीन वर्ष पुग्न लागेछ । सबैले आज पढ्न सिकायो भने र लेख्न सिकायो भने छोराको पढाइ राम्रो हुन्छ भन्छन् । त्यसैले मैले पनि लामो पर्खाइपछि छोरालाई यहाँ भर्ना गर्न ल्याएको,’ उनले भनिन् । यस दिन भर्ना गराउने अभिभावकलाई स्कुलहरूले पनि शुल्कमा विशेष छुटको व्यवस्था गरेका हुन्छन् ।
यस दिन सरस्वती पूजा गर्न सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । प्रत्येक स्कुल कलेजमा समेत सरस्वतीको मन्दिर बनाएर पूजा गर्ने तथा गराउने परम्परा छ । मन्दिरमा पूजा गर्ने र मन्दिर परिसरका भित्तामा अक्षर लेख्नेहरूको भीडले मन्दिर आसपासका क्षेत्रमा बालबालिकाको घुइँचो यस दिन बढी लाग्ने गर्छ ।
मैतिदेवीकै मन्दिरमा पनातिनीसँग एक वृद्धा पनि अक्षर लेख्ने प्रयास गरिरहेकी थिइन् । गाउँघरमा घाँस काटेर जीवन बिताएकी उनलाई अहिले पढ्न लेख्न रहर जाग्छ । यस दिनमा लेखपढ गर्न सिकाए राम्रो विद्या प्राप्त हुने विश्वास पनि आम मानिसमा छ । राजधानीका मैतिदेवी र गैरीधारास्थित नीलसरस्वती मन्दिरलगायत अन्य धेरै सरस्वती मन्दिरमा भक्तजनको घुइँचो लागेको थियो ।
यस दिन कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजाआराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा बालबालिकालाई ‘अक्षरारम्भ’ गराउने चलन छ । सरस्वतीलाई महाविद्या, शारदा, आर्या, ब्राहृमी, महावाणी, भारती, कामधेनु, वेदगर्भा, धीश्वरी नामले सम्बोधन गर्ने चलन छ ।
ऋतुहरूका राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी भन्ने गरिन्छ । यस दिनबाट वसन्त ऋतुको आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने धार्मिक परम्परा पनि छ ।


Views: 54