18th February | 2019 | Monday | 4:22:03 PM

दुई महिला र तीन पुरुष मृत फेला

हिमालय टाइम्स   POSTED ON : Tuesday, 12 February, 2019 (12:02:41 PM)

दुई महिला र तीन पुरुष मृत फेला

काठमाडौं । सोमबार देशका विभिन्न स्थानमा दुई महिला र तीन पुरुषगरी पाँचजना मृत फेला परेका छन् ।
प्रहरी प्रधान कार्यालय, केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नुवाकोट र उदयपुरमा एक–एक महिलाको शव भेटिएको छ भने कास्की, रौतहट र तनहुँमा एक–एक पुरुषको शव भेटिएको छ ।
नुवाकोटको तार्केश्वर गाउँपालिका–२ टापुस्थित त्रिशूली नदीको किनारमा एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन । अन्दाजी ६५ वर्षीया महिलाको शव सोमबार दिउँसो फेला परेको प्रहरीको भनाइ छ । यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका–७ लामाचौरी बस्ने ४९ वर्षीया बिवा परियारको शव लाटीखोलाको बगरमा भेटिएको छ । उनी सोमबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
यसैगरी कास्कीको पोखरा महानगरपालिका–३२ राजचौतारास्थित तालखोला बस्ने ६० वर्षीय नरबहादुर परियारको शव सोमबार भेटिएको छ । परियारको शव तालखोला किनारमा दिउँसो प्रहरीले फेला पारेको जनाएको छ । उनी आइतबार साँझदेखि हराएको बताइएको छ । खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीको भनाइ छ ।
त्यस्तै रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित जंगलमा पौराई बस्ने ३५ वर्षीय खडकप्रसाद अधिकारीको शव सोमबार दिउँसो भेटिएको छ ।
उता, तनहुँ शुक्ला गण्डकी नगरपालिका–८ मालेबगर बस्ने ४६ वर्षीय रामबहादुर मल्लको शव उनको घरदेखि ६ सय मिटर टाढा सडकमा सोमबार बिहान भेटाएको प्रहरीले जनाएको छ ।
यी घटनाका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
आइतबार पनि देशका विभिन्न भागमा पाँचजना मृत फेला परेका थिए । प्युठान, पाँचथर, महोत्तरी, संखुवासभा र दार्चुलामा एक–एकजना आइतबार मृत फेला परेको प्रहरीले जनाएको छ ।


Views: 40