25th May | 2019 | Saturday | 8:36:57 PM

१८ हजार कर्मचारीको समायोजन पूरा

हिमालय टाइम्स   POSTED ON : फाल्गुन ७, २०७५ (७:१६ AM)

१८ हजार कर्मचारीको समायोजन पूरा

काठमाडौं । सरकारले कर्मचारी समायोजनको गति बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन महाशाखाका अनुसार सोमबारसम्म १८ हजार ४२४ जना कर्मचारीको समायोजन भएकोे छ । समायोजन भएकामा सचिवदेखि प्रशासनका खरिदारसम्म छन् । समायोजन महाशाखाका प्रमुख एवं सहसचिव केदार पनेरुका अनुसार सोमबार साँझसम्म संघमा १२ हजार ७४८ जना कर्मचारीको समायोजन सकिएको छ । त्यस्तै प्रदेशमा २ हजार ४४८ र स्थानीय तहमा ३ हजार १९० जना कर्मचारीको समायोजन सकिएको समायोजन महाशाखाका सहसचिव पनेरुले बताए । 

संघमा समायोजन हुने धेरै

महाशाखाका अनुसार ५७ जना सचिवको संघमा समायोजन गरिएको छ । त्यसैगरी ६७६ जना सहसचिवमध्ये ५७४ जना संघमा र १०२ जना सहसचिवलाई प्रदेशमा समायोजन गरिएको छ । स्थानीय तहमा सहसचिवको समायोजन गरिएको छैन । 

महाशाखाका अनुसार स्थानीय तहमा २३८ जना उपसचिवको समायोजन गरिएको छ । समायोजन भएका २ हजार ६ जना उपसचिवमध्ये १ हजार ५३१ जना संघमा, २३७ जना प्रदेशमा र २३८ जनालाई स्थानीय तहमा समायोजन गरिएको हो । 

सहसचिव पनेरुका अनुसार प्रशासन समूहका अधिकृततर्फ २ हजार ३४१ जनालाई संघमा, ३७१ जनालाई प्रदेशमा र १७८ जनालाई स्थानीय तहमा समायोजन गरिएको छ । लेखा समूहका ६१० जना अधिकृत संघमा समायोजन भएका छन् । लेखा समूहका अधिकृत प्रदेशमा भन्दा धेरै स्थानीय तहमा समायोजन भएका छन् । स्थानीय तहमा ३२७ र प्रदेशमा १९५ जना लेखा अधिकृतलाई समायोजन गरिएको सहसचिव पनेरुले बताए । त्यसैगरी राजस्वतर्फ ५८० अधिकृतमध्ये प्रदेशमा २ जनामात्र समायोजन भएका छन् । बाँकी सबै ५७८ जना लेखा अधिकृत संघमै छन् ।

चिकित्सक आन्दोलन जारी

सरकारले धमाधम कर्मचारी समायोजन गरिरहेको भए पनि सरकारी चिकित्सकहरूले आफ्नो आन्दोलन जारी राखेका छन् । सरकारी चिकित्सक संघ, नेपाल (गोदान) ले आइतबार काठमाडौंमा सामूहिक राजीनामा दिने लगायतका एकहप्ते सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । 

सोमबार हस्ताक्षर संकलनका लागि देशभरका चिकित्सकहरूलाई पत्राचार गरिएको छ । प्रतिनिधिसभाबाट सो विधेयक माग सम्बोधन नगरी पारित भएको भन्दै देशभरका चिकित्सकहरूले सच्याउन माग गरेका छन् । विधेयक सच्याउन दबाबका लागि स्वेच्छिक सामूहिक राजीनामाका लागि हस्ताक्षर अभियान सुरु गरिएको संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले बताए । डा पाण्डेका अनुसार मंगलबार माइतीघर मण्डलामा रक्तदान कार्यक्रम आयोजना गरिने छ ।


Views: 79

सम्बन्धित सामग्री: