26th March | 2019 | Tuesday | 2:02:41 AM

२०७६ लाई उपभोक्ता जागरण वर्ष घोषणा गरिनुपर्छ

२०७६ लाई उपभोक्ता जागरण वर्ष घोषणा गरिनुपर्छ

उपभोक्ता अधिकार दिवसले अझै पनि राष्ट्रिय मान्यता प्राप्त गर्न सकेको छैन । उपभोक्ता दिवसमा अपनत्वपन नै छैन । ३६५ दिन नेपाली उपभोक्ता वस्तु तथा सेवा क्षेत्रमा चरमरूपमा ठगिने र लुटिने गरेका छन्, एक दिनमात्रै नारामा सीमिति उपभोक्ता अधिकार दिवस मनाइनुको कुनै अर्थ छैन । सरकारले विशेष कार्ययोजना बनाएर ३६५ दिन २४ सै घण्टा वस्तु र सेवा दुवै क्षेत्रमा उपभोक्ताहरूले नेपालको संविधान २०७२ को धारा ४४ ले प्रत्याभूत गरेअनुसारको मौलिक अधिकारअनुसार गुणस्तरीय वस्तु र सेवा प्रयोग गर्नसक्ने किसिमको स्थायी संयन्त्रमार्फत चुस्त, दुरुस्त र पारदर्शी अनुगमन गरिएको अवस्थामा मात्रै प्राप्त गर्न सकिन्छ । होइन भने १५ मार्चको दिन तामझाम गर्ने, १६ मार्चदेखि बिर्सने, सरकारले दिवसलाई कुनै मान्यता नदिने, वर्षैभरी आपूर्तिमा असहज हुने, गल्ति गर्ने व्यवसायीलाई कारबाही नगर्ने, राम्रो काम गर्नेलाई पुरस्कृत नगर्ने परिपाटी रहेसम्म उपभोक्ता दिवसको कुनै औचित्य रहनेछैन ।

हामीले २०७६ साललाई उपभोक्ता जागरण वर्षका रूपमा मनाइनुपर्ने माग सरकारसँग गर्दै आएका छौं । उपभोक्ता जागरण वर्षका रूपमा घोषणापछि वर्षभरी उपभोक्ता संरक्षण ऐन, संविधानमा उपभोक्ताका अधिकार, उपभोक्ताका आधारभूत अधिकारबारेमा देशव्यापीरूपमा विविध कार्यक्रम सञ्चालन गर्नुपर्छ । अहिले वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग भन्ने निकाय नै छ भन्नेबारेमा धेरैलाई जानकारी नै छैन । 


Views: 39