25th May | 2019 | Saturday | 9:03:44 PM

५४५ नेपाली कामदार विदेशी जेलमा, कोमामा २५ जना

हिमालय टाइम्स   POSTED ON : चैत्र २, २०७५ (७:१३ AM)

५४५ नेपाली कामदार विदेशी जेलमा, कोमामा २५ जना

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपाली कामदारमध्ये ५४५ जना जेलमा छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार १९ महिला र ५२६ पुरुष मलेशिया, युएई लगायतका खाडी देशका जेलमा छन् । 

बोर्डका अनुसार सबैभन्दा बढी मलेसियामा २०५ जना नेपाली जेलमा छन् । जसमा २०३ जना पुरुष र २ जना महिला छन् । त्यस्तै, युएईमा १७३ जना पुरुष र १२ जना महिला गरी १८५ जना नेपालीहरू जेलमा छन् । कुवेतमा ५५ जना पुरुष र ३ जना महिला गरी ५८ जना, कतारमा ३५ जना पुरुष, साउदी अरब रियादमा २३ जना पुरुष र साउदी अरबमा १ जना पुरुष जेलमा छन् । बहराइनमा ५ जना र ओमान १ पुरुष तथा २ जना महिला जेलमा छन् । नेपाली कामदार जेलमा रहेको सम्बन्धित देशको निकायसँग कानूनी परामर्श गरेर उनीहरूलाई रिहा गर्न प्रयास भइरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । 

२५ जना कोमामा 

बोर्डका अनुसार विभिन्न देशमा २५ जना नेपालीहरू अस्पतालमा कोमामा रहेका छन् । सबैभन्दा बढी कतारमा ९ जना नेपाली कोमामा छन् । त्यस्तै कुवेत, बहराइन र साउदी अरब रियादमा ४–४ जना नेपाली कोमामा रहेका छन् । जसमध्ये बहराइनमा रहेको नेपालीको अवस्था सुधारोन्मुख रहेको बोर्डले जनाएको छ । कुवेतमा १ जना अर्धचेत अवस्थामा छन् । 

यस्तै, युइईमा १ जना र ओमान तथा साउदी अरब जेद्धामा १–१ जना नेपाली कोमामा छन् । जापानमा १ जना कोमामा छन् । मलेसियास्थित नेपाली दुतावासका अनुसार २०७५ माघ २४ सम्म मलेसिया, इन्डोनेसिया र फिलिपिन्समा कुनै पनि नेपाली कामदार कोमामा छैनन् । 

कोमामा रहेका कामदारको अवस्थाका विषयमा सम्बन्धित देशको अस्पतालमा गई वास्तविकता बुझ्ने काम बोर्ड गरिरहेको श्रेष्ठले बताए । उनले उनीहरूलाई स्वदेशमै ल्याएर उपचार गर्न विभिन्न अस्पतालसँग छलफल गरिरहेको बताए । उनले उपचार गर्न उपयुक्त अस्पताल खोजी भइरहेको पनि बताए । 

वैदेशिक रोजगारमा रहेको अवस्थामा मृत्यु भएका कामदारका परिवारहरूलाई लाई ३४ करोड २५ लाख क्षतिपूर्ति रकम दिइएको पनि बोर्डले जनाएको छ । त्यस्तै ५७ वटा शव नेपाल झिकाउँदा ६९ लाख ४९ हजार बोर्डको खर्च भएको श्रेष्ठले बताए । मृतक कामदारको शव ढुवानीमा १० लाख खर्च भएको छ ।

बोर्डको तथ्यांकअनुसार माघसम्ममा ५०८ जना पुरुष र १६ जना महिला गरी ५२४ जनाको शव नेपाल ल्याइएको छ । 


Views: 91

सम्बन्धित सामग्री: