24th July | 2019 | Wednesday | 3:05:50 PM

चुहावटबाट बचेको रकम बाँडफाँड

चिसाङ शेर्पा   POSTED ON : बैशाख २, २०७६ (२:१९ PM)

चुहावटबाट बचेको रकम बाँडफाँड

खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गत आर्थिक वर्ष २०७४/०७५ मा चुहावट हुनबाट बचाएको रकम वडागत रुपमा विनियोजन गरेकोे छ । कन्टेन्जेन्सी, चालु खर्च र योजनामा कडाई गरेर बचत गरेकोे साढे २ करोड बजेट उपभोक्ता समिति बनाएर पुनः विकास निर्माण गर्न योजनामा विनियोजन गरेको हो । 

गाउँपालिकाको चौथो गाउँसभाले आव २०७४/०७५ मा बचत भएको २ करोड ६९ लाख २ हजार ७३९ रकमलाई महत्वपुर्ण योजना र अधुरा योजनामा आवश्यकता अनुसार रकम विनियोजन गरेको छ । बचत रकमबाट याम्खालाई २२ लाख २० हजार, डाँडागाउँलाई २६ लाख, छोरम्बुलाई ३७ लाख, बतासेलाई २८ लाख, सप्तेश्वर छितापोखरीलाई ३२ लाख ९१ हजार ८५८ र टेम्मालाई ३० लाख ५० हजार रकम विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।

यस्तै, गाउँपालिकाबाट सञ्चालन हुने महिला स्वयम्सेविका तथा शिशु पोषण प्रवद्र्धनमा १ लाख ५० हजार, वडा कार्यालयहरु सञ्चालनका लागि २ लाख ४५ हजार, टिओडी मिटरका लागि ७ लाख ७५ हजार, सडक मर्मत ७ लाख र पूरानो योजनाको भुक्तानीलाई १० लाख ९० हजार ८८१ रुपैयाँ बजेट बाँडफाँड गरिएको छ । गाउँपालिकाले चैत्र २५ गते सार्वजनिक सुनुवाई गरेर बजेट उभ्रिएको सार्वजनिक गरेको थियो । यथार्थ खर्च विवरण प्राप्त भएपछि बचत हुन आएको रकमलाई थप विकासका लागि रकम विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । भुक्तानीमा कडाइ गरी काम अनुसारको दामको व्यवस्थाले गर्दा खेर जाने ठुलो रकम फिर्ता आएको उनको भनाई छ ।

यसैगरी, गाउँपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ को वडागत बजेट २ करोड ४५ लाख विनियोजन गरिएकोमा हालसम्म ४६ लाख १६ हजार ४८० खर्च भएको छ । १ करोड ९८ लाख ८३ हजार ५२० रुपैयाँ खर्च हुन बाँकी छ । यस्तै, गौरबका योजनामा विनियोजन गरेकोे ८ करोड ४४ लाख ६ हजार कुल बजेट मध्ये ७२ लाख १८ हजार २५६ खर्च भएको र ७ करोड ३२ लाख २७ हजार ७४३ रुपैयाँ बजेट खर्च हुन बाँकी  छ । वडागत तथा गौरबको १० करोड ४९ लाख ४६ हजार मध्ये २ करोड ८८ लाख ७३ हजार २८ रुपैयाँ खर्च र ७ करोड ६ लाख ७२ हजार ९७२ रुपैयाँ रकम बाँकी रहेको छ ।


Views: 239

सम्बन्धित सामग्री:

बाढीले युवक बगायो

: श्रावण ८, २०७६ (११:०८ AM)

सर्पले डसेका बिरामीको चाप बढ्यो

: श्रावण ८, २०७६ (१०:४९ AM)