24th April | 2019 | Wednesday | 10:05:33 PM

जहाज दुर्घटना छानविन गर्न आयोग

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७६ (६:०४ AM)

जहाज दुर्घटना छानविन गर्न आयोग

काठमाडौं । आइतबार बिहान लुक्लामा भएको जहाज दुर्घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षमा गठित चार सदस्यीय आयोगमा नेपाल वायुसेवा निगमका इन्जिनियर राजेश श्रेष्ठ, तारा एयरका क्याप्टेन रवीन्द्र डंगोल सदस्य छन् । आयोगको सदस्यसचिवमा पर्यटन मन्त्रालयकै सहसचिव बुद्धिसागर लामिछाने छन् ।

आइतबार बिहान सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा समिट एयरको जहाज उड्ने क्रममा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको थियो । ‘९ एन एएमएच’ कलसाइनको जहाज चिप्लिएर अन्य मनाङ र श्री एयरका हेलिकप्टरमा ठोक्किएको थियो ।

दुर्घटनामा जहाजका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको छ । कोपाइलट ढुंगाना र पर्यटन प्रहरी खड्काको घटनास्थलमै मृत्यु भएको हो भने श्रेष्ठको काठमाडौंस्थित बीएण्डबी हस्पिटलमा उपचार क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चारजना घाइते भएका छन् । घाइते हुनेमा समिट एयरका पाइलट रवीन्द्रबहादुर रोकाय, मनाङ एयरका पाइलट चेतबहादुर गुरुङ, मनाङ एयरका लुक्ला इन्चार्ज लाक्पाछिरी शेर्पा र कामदार स्याङबोचे कार्की छन् । पाइलट रोकाय उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् गुरुङ, शेर्पा र कार्कीको काठमाडौंमा उपचार भइरहेको छ ।

रामेछाप विमानस्थलबाट यात्रु लिएर लुक्ला पुगेको उक्त जहाज यात्रु ओरालेर फर्कने क्रममा दुर्घटना भएको हो । विमानमा पाइलट, को–पाइलट र परिचारिकामात्र थिए, यात्रु भने थिएनन् । दुर्घटनामा परिचारिका रश्मि लामा भने सकुशल रहन सफल भइन् । उडानका लागि धावनमार्ग पुगेको जहाज २ सय मिटर पर पुगेपछि दाहिनेतर्फ मोडिएर पार्किङ गरिराखेको हेलिकप्टरमा ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटना हुनुअघि आइतबार सो जहाज लुक्लामा तेस्रोपटक पुगेको थियो । पर्यटकको सिजन भएकाले रामेछापबाट उक्त जहाजले आइतबार पाँच पटकसम्म उडान भर्ने तालिका थियो । दुर्घटना कसरी भयो भन्ने प्रष्ट भइसकेको छैन । विमानस्थलका अधिकारीहरूका अनुसार धावनमार्ग चिप्लो नभएको र त्यसअघि अन्य उडान सामान्य रूपमा भएको थियो ।


Views: 31

सम्बन्धित सामग्री:

शैक्षिक अभियान

: बैशाख ११, २०७६ (२:०९ PM)