24th July | 2019 | Wednesday | 2:24:20 PM

मुहार फेर्दै खोकनाको बाज पाटी

हिमालय टाइम्स   POSTED ON : बैशाख ३, २०७६ (६:०६ AM)

मुहार फेर्दै  खोकनाको बाज पाटी

ललितपुर । ललितपुर महानगरपालिका खोकनास्थित ऐतिहासिक बाज पाटी पुनर्निर्माण हुने भएको छ । महानगरको वडा नं २१ मा रहेको उक्त पाटी सनराइज बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण हुन लागेको हो । खोकनाको प्रसिद्ध रुद्रायणी मन्दिरअगाडि रहेको उक्त पाटी पुनर्निर्माणका लागि बैंकले १० लाख रुपैयाँ सहयोग गरेको छ ।  

रुद्रायणी मन्दिरमा नित्यपूजा र विशेष पूजा हुँदा बिहान, बेलुका उक्त पाटीमा बसेर बाजा बजाउने गरिन्थ्यो । २०७२ सालको भूकम्पले बाज पाटी बस्न नमिल्ने गरी भत्कियो । पाटी भत्किएपछि भर्जनकीर्तन गर्न बाधा पुगेको स्थानीयले बताए । 

ललितपुर महानगरपालिका–२१ र सनराइज बैंकले संयुक्तरूपमा सोमबार आयोजना गरेको कार्यक्रममा सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । प्रतिनिधिसभा सदस्य पम्फा भुसालले खोकना ऐतिहासिक ठाउँ भएकाले पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम ल्याउनुपर्ने बताइन् । उनले पर्यटकलाई यहाँको सम्पदा र संस्कृतिक बुझाउन गाइडको व्यवस्था गनुपर्ने धारणा राखिन् । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ऐतिहासिक महŒवको ठाउँ खोकना पर्यटकीय दृष्टिले धेरै सम्भावना बोकेको सहर भएको बताए । पर्यटक आकर्षित गर्न सम्पदा र कला संस्कृति संरक्षणको विशेष कार्यक्रम ल्याउने बताए । उनले खोकनाको पुनर्निर्माणमा सनराइज बैंकले देखाएको चासोको प्रशंसा गरे । उनले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले सुरु गरेको यो कामलाई निरन्तरता दिन अनुरोध गरे । महानगरले पछाडि जोडिन आएका वडालाई अन्य वडालाई भन्दा बढी बजेट दिएको पनि  बताए । वडा अध्यक्ष रवीन्द्र महर्जनले मूर्त र अमूर्त सम्पदाहरूले खोकना धनी रहेको त सम्पदाहरू पहिलेकै अवस्थामा पुनर्निर्माण गर्नु चुनौतीपूर्ण भएको बताए । बैंकका कार्यकारी प्रमुख अधिकृत रत्नराज बज्रचार्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पाटीको पुनर्निर्माणमा सहयोग गरेको बताए । वडा सदस्य ज्ञानभक्त महर्जनले खोकनाका सम्पदा पुनर्निर्माण गरी पर्यटक आकर्षित गर्न सके खोकनाको आर्थिक समृद्धि चाँडो हुने बताए ।


Views: 44