25th May | 2019 | Saturday | 2:35:56 AM

उज्यालिँदै छ हनुमान ढोका दरबारक्षेत्र

पार्वती थापामगर   POSTED ON : बैशाख १२, २०७६ (८:५५ AM)

उज्यालिँदै छ हनुमान ढोका दरबारक्षेत्र

काठमाडौं । भूकम्पले क्षतिग्रस्त राजधानी काठमाडौंको हनुमान ढोका दरबार क्षेत्रले नयाँ स्वरूप लिन थालेको छ । खण्डहरजस्तै बनेको हनुमान ढोका दरबार क्षेत्र पुनर्निर्माणको गतिसँगै पहिलेकै स्वरूपमा आउन थालेको छ । २०७२ वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले त्यहाँका अधिकांश ऐतिहासिक तथा धार्मिक संरचनाहरू ध्वस्त पारेको थियो । जसको प्रत्यक्ष प्रभाव पर्यटनमा परेको थियो । क्षतिग्रस्त हनुमान ढोका दरबार क्षेत्रमा केही समय प्रवेश समेत नियन्त्रण गर्नु परेको थियो । उराठलाग्दो भए पनि त्यहाँ हुने विभिन्न चाड पर्व भने चलिरहे । 

हनुमान ढोका दरबार क्षेत्रमा पर्यटहरूको आगमन बढ्न थालेको छ । पर्यटकहरू पुनर्निर्माण भइरहेका संरचनाहरू बाहिरबाट नियाल्दै पुराना ऐतिहासिक वस्तुहरू संकलन गरेर राखिएका ‘म्युजियम’ मा ‘भिजिट’ गरेर फर्किंदा हँसिला देखिन्छन् । बन्दै गरेका सम्पदाहरूको अगाडि उभिएर फोटो खिच्ने पर्यटकहरू प्रसस्त भेटिन्छन् । 

‘सम्पदाहरू ध्वस्त भएपछि विदेशीहरू नआउँदा शुन्य लाग्थ्यो । जताततै नरमाइलो लाग्थ्यो,’ फूल बेचेर जिविकोपार्जन गर्दै आएकी स्थानीयवासी अनुपा श्रेष्ठले भनिन्, ‘पर्यटकहरू नआउँदा यहाँत हात मुख जोड्ने बाटो नै बन्द भए जस्तो भएको थियो, अहिले त राम्रो हुँदै गएको छ ।’ उनका अनुसार पछिल्लो समय हनुमान ढोका आसपास आवत जावत गर्ने विदेशी तथा नेपालीहरूको पहिलाजस्तो घुइँचो नलागे पनि केही मात्रामा बढ्दै गएको छ । पर्यटकहरूको संख्या बढेको छ । 

भयावह अवस्था हुने गरी भत्किएका भौतिक संरचनाहरूको व्यवस्थापन गर्न नै एक वर्ष लागेकोले पनि पुनर्निर्माणमा ढिलाइ भएको हनुमान ढोका दरवार संग्रहालय विकास समितिकी कार्यकारी निर्देशक अरुणा नकर्मी बताउँछिन् । ‘कल्पनै गर्न नसकिने गरी सम्पदाहरू तहस नहस भएपछि केही त समय के गर्ने र कसरी गर्ने भन्ने सोच्नै सकिएन । पुराना, महŒवपूर्ण र बहुमूल्य वस्तुहरू खोजतलास गरी इतिहास बनाइराख्नु पनि हामी सबैको मुख्य कर्तव्य थियो,’ निर्देशक नकर्मीले भनिन् ‘पुराना चिज वस्तु जोगाइराख्नु माटो खोतलेर खोज्नु परेकोले पुनर्निर्माण चाँडै सुरु गर्न सकिएन ।’ 

हतार गरेर पुनर्निर्माण थाल्नभन्दा पनि उही स्वरूपमा मजबुत पुनर्निर्माण गर्न हामी सबैको ध्यान गएकाले पनि अलिक ढिलो काम सुरु गरेका हौं,’ निर्देशक नकर्मीले भनिन् ‘भूकम्प प्रतिरोधी नै बनाउनु पर्छ भन्ने हाम्रो सोच रहेको छ ।’ ऐतिहासिक सम्पदाहरू पुनर्निर्माण गर्दा धेरै कुरामा ध्यान दिनु पर्ने भएकाले हतार गर्नु उचित नभएको उनको भनाइ छ । 

पुराना सम्पदाको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले सम्पदा निर्माणको कार्य भइरहेको नकर्मी बताउँछिन् । पुनर्निर्माणमा पुरानै सामानहरू प्रयोग गरिएको र नपुगेका सामान मात्रै बाहिरबाट मगाउने गरिएको उनको भनाइ छ । भूकम्पपछिको चार वर्षमा महŒवपूर्ण उपलब्धिका कामहरू भएको निर्देशक नकर्मीले बताइन् । ‘धेरैले पुनर्निर्माणमा ढिलाइ भएको भने पनि हामी धेरै काम गर्न सफल भएका छौं । हरेक कुरालाई नकारात्मक नजरले हेर्ने बानी हामी नेपालीमा छ । सकरात्मक दृष्टिले हेर्ने हो भने धेरै राम्रो उपलब्धि भएको छ,’ उनले भनिन् । पहिलाको जस्तै पुनर्निर्माणको डिजाइन गर्न पनि धेरै समय लाग्ने गरेको उनको भनाइ छ । 

हनुमान ढोका दरबार क्षेत्रमा रहेका ४९ वटा सांस्कृतिक सम्पदामध्ये वंश गोपाल कृष्ण मन्दिर, दश अवतार त्रैलोकीय मोहन मन्दिर, माजु देंग मन्दिर, लक्ष्मी नारायण मन्दिर, काष्ठमाण्डप, तलेजु गेट अगाडिको शिव मन्दिर, मसान चोकस्थित नृत्यश्वर मन्दिर, शिव मन्दिरलगायत ८ वटा ऐतिहासिक सम्पदाहरू भूकम्पले माटोमा मिलाएको थियो । 

निर्देशक नकर्मीका अनुसार वंश गोपाल कृष्ण मन्दिर, तलेजु गेट नजिकैको शिव मन्दिर, नृत्यश्वर मन्दिरको पुनर्निर्माण भइसकेका छन् । यस्तै प्रताप मल्लको शालिक स्तम्भ पनि सम्पन्न भएको छ । नौ तले दरबारको चौघेरामा तलितपुर टावर र कीर्तिपुर टावर पनि पूरा भएका छन् । भक्तपुर टावर र वसन्तपुर टावर भने बन्दैछन् । 

काष्ठमाण्डप, दश अवतारस्थित त्रैलोकीय मोहन, माजुदेंगको पुनर्निर्माणको सुरु भएको छ । लक्ष्मी नारायण र शिव मन्दिर बन्न बाँकी छ । 

समीतिले जनाएअनुसार आंशिक क्षति भएका कागेश्वरी मन्दिर, तलेजु गेट नजिकै दायाँतर्फको शिव मन्दिर, अर्काे लक्ष्मी नारायण मन्दिर, महाविष्णु मन्दिर, सरस्वती मन्दिर, नगरा घर, भैरव, गद्धी बैठक र चारैतिरको तलेजु मन्दिरको छानो पनि मम्र्मत सम्भार भइसकेका छन् । यस्तै तलेजुकै आधार पेटीमा रहेका १६ वटा मन्दिरहरूको समेत मम्र्मत सम्भारको भइसकेको छ ।

अर्काे राणाकालीन भवन (नौ तले दरबार र गद्धी बैठक बीचको भवन र देंगु तलेजु मन्दिर र अन्य भवनहरूको पनि पुनर्निर्माणको भइरहेको छ । जगन्नाथ मन्दिर र गोपीनाथ मन्दिर पुनर्निर्माणको तयारी छ । समितिकी निर्देशक नकर्मीले भग्नावशेषको उत्खनन र अनुसन्धानमा पनि लामो समय लागेको बताइन् । 

रानीपोखरी फर्काउने सुरसार 

काठमाडौं । लामो समयको पर्खाइपछि ऐतिहासिक तथा सांस्कृतिक सम्पदा रानीपोखरीको पुनर्निर्माणको सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मातहतमा रानीपोखरी पहिलेकै स्वरूपमा फर्काउन पुनर्निर्माण सुरु भएको हो । 

प्राधिकरणले रानीपोखरी पूर्णरूपमा पुनर्निर्माणको सम्पन्न गर्न १० करोड रुपैयाँ बजेटको अनुमानमा काम अगाडि बढाएको छ । प्राधिकरणले उपभोक्ता समिति गठन गरेर काम सुरु गरेको हो । अहिले रानीपोखरीको सतह मिलाउने काम भइरहेको छ । पुनर्निर्माणको अवधि भने किटान गरिनसकिएको प्राधिकरणले जनाएको छ ।

अन्य काम चाँडै अघि बढाउने तयारीको कार्य भइरहेको प्राधिकरणले जनाएको छ । पहिलेकै स्वरूप र ऐतिहासिक मौलिकता झल्किने गरी पुराना र नयाँ सामग्री प्रयोग गरेर कार्यको पुनर्निर्माणको काम हुँदैछ । विनाशकारी भूकम्पपछि अस्तव्यस्त रानीपोखरीले चार वर्षको पर्खाइपछि पुनर्जीवन पाउने निश्चित भएको हो । 

२०७५ चैत मसान्त सम्ममा रानीपोखरीको पुनर्निर्माण पूरा गर्ने नेपाल सरकारको लक्ष्य थियो । सोहीअनुसार हालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा २०७२ माग २ गते राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्निर्माणको शिलान्यास समेत गराइएको थियो । 

काठमाडौं महानगरपालिका मातहत पुनर्निर्माण गर्ने प्रयास भए पनि निर्माण शैली र सामग्रीको विषयमा विवाद भएको थियो । भित्रको बालगोपाल मन्दिर निर्माणको शैलीमा विवाद पनि चुलिएको थियो । अन्ततः विवादहरू मिलाउँदै पुनर्निर्माण प्राधिकरणकै पहलमा उपभोक्ता समिति मार्फत पुनर्निर्माण हुने भएको हो । 

पुनर्निर्माण कसले गर्ने र त्यहाँभित्रको मन्दिर लगायत समग्र रानीपोखरीको डिजाइन कस्तो हुने भन्नेमा विवादमा चल्दा काम अघि बढ्न सकेको थिएन । अब सबै विवादहरू समाधान भएकोले पुनर्निर्माणको काम धमाधम अघि बढ्ने प्राधिकरणको भनाइ छ ।  

रानीपोखरीको पुनर्निर्माणको पर्खाइमा रहेका आम सर्वसाधारणमा पनि झिनो आशा पलाएको पाइएको छ । ‘अब भने रानीपोखरीले पुनर्जीवन पाउला जस्तो संकेत देख्न थालेको छु । विरक्त लाग्ने रानीपोखरीमा काम हुन थालेको देखेर झिनो आश पलाउन थालेको छ,’ रानीपोखरी परिसर नियालिरहेका सुनसरीका ६७ वर्षिया हरिहर बोगटीले भने । 

केही वर्षदेखि काठमाडौंमै बस्दै आएका हरिहरको मनमा अबको रानीपोखरीको स्वरूप कस्तो होला भन्ने उत्सुकता पनि छ । ‘रानीपोखरीमा पानी रहुन्जेल फोहोराले पानीका ‘छहरा’ फ्याँकेको पनि देख्न पाइन्थ्यो । त्यो देख्दा मन शीतल हुन्थ्यो,’ हरिहरले विगत सम्झिँदै भने ‘पहिला पहिला त रानीपोखरी हेर्न आउनेको भीडले तँछाड मछाड हुन्थ्यो ।’ 

पुनर्निर्माण सुरु भएपछि रानीपोखरीको डिलमा कंक्रिट पर्खाल ठड्याउन डन्डी बाँध्न थालिएको छ । अधिकतम रूपमा रानीपोखरी पुरानै स्वरूपमा पुनर्निर्माण हुने प्राधिकरणको भनाइ छ । 

ऐतिहासिक र सांस्कृतिक महŒवको रानीपोखरीमा तिहारको भाइटीकामा दिन खुला हुने गरेको थियो । बीचमा रहेको बालगोपाल मन्दिरमा दाजुभाइ दिदीबहिनी नहुनेहरू जम्मा भएर टीका लगाउने गरेका थिए । अन्य दिन बन्द रहन्थ्यो । केही वर्षदेखि छठ पर्व मनाउन खुला गर्न थालिएको थियो । भूकम्पपछि यो सबै बन्द रहेको छ । 

राजा प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युमा शोकाकुल भएकी रानीको मन बुझाउने उद्देश्यले सन् १६६५ मा रानीपोखरी निर्माण गराएको भन्ने इतिहास छ । 

रानी पोखरी पुनर्निर्माण सुरु भए पनि त्यहाँ पानीको स्रोत के हुने भन्ने टुंगो छैन । वरिपरिका ठूला आधुनिक निर्माणका कारण भूमिगत जलप्रवाह बदलिएको तथा बन्द भएको कतिपय विज्ञहरूको अनुमान छ । कतिपले वर्षातको पानीले भरिने र भूमिगत स्रोत पनि हुने अपेक्षा गरेका छन् भने कतिपयले बाहिरबाट पानी पुनर्भरणको प्रबन्ध मिलाउन आवश्यक हुने बताएका छन् । 


Views: 52

सम्बन्धित सामग्री: