21st July | 2019 | Sunday | 4:22:59 PM

पाटन दरबार क्षेत्रमा लक्ष्य भेट्ने ध्यान

रमा लुइँटेल   POSTED ON : बैशाख १२, २०७६ (९:०० AM)

पाटन दरबार क्षेत्रमा लक्ष्य भेट्ने ध्यान

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पमा भत्किएका ललितपुरको पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण र जिर्णोेद्धारको काम तीव्र गतिमा भइरहेको छ । 

त्यहाँका ८५ प्रतिशत सम्पदाको पुनर्निर्माण सम्पन्न भएको काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केभीपीटी) का डा रोहित रञ्जितकारले बताए । उनका अनुसार बााँकी १५ प्रतिशत काम आगामी २० महिनाभित्र पूरा हुन्छ । नेपाल भिजिट वर्ष २०२० मा पाटन दरबार स्क्वायरका सबै सम्पदा पुनर्निर्माण भइसक्ने छन् । पाटन दरबार क्षेत्रका धेरैजसो सम्पदाको पुनर्निर्माण र जीर्णोद्धारकोे काम केभीपीटीमार्फत हुँदै आएको छ । 

ट्रस्टका अनुसार चार नारायण मन्दिर, पाँच सय वर्षभन्दा पुरानो हरिशंकर मन्दिरको पुनर्निर्माण आउँदो दशैँअघि सम्पन्न भइसक्नेछ । यी दुई मन्दिर भूकम्पले पूर्णरूपमा क्षति भएका थिए । पेगोडा शैलीको हरिशंकरको मन्दिर तीन तले छ । यो मन्दिर विसं १७०६ मा निर्माण भएको इतिहास छ । हरिशंकर मन्दिर बनाउन राजा योगनरेन्द्र मल्लकी छोरी रुद्रमतीले भूमिका रहेको इतिहासकारहरू बताउँछन् । इतिहासअनुसार चार नारायणको मन्दिर विसं १६४७ मा निर्माण भएको हो । 

पाटन दरबार क्षेत्रको अर्को मन्दिर विश्वेशराको भित्ता चर्किएको थियो । छाना फेरेर र भित्ता मर्मत गरेर मन्दिरको जीर्णोद्धार गरिएको छ । पाटन दरबार क्षेत्रको पश्चिमतर्फ रहेको भाइदेगु मन्दिरको पुनर्निर्माणको काम अघि बढेको छ । नब्बे सालको भूकम्पमा भत्किएको योे मन्दिरको लामो समयसम्म पुनर्निर्माण हुन सकेको थिएन । भूकम्पभन्दा अघि नै योे मन्दिरको पुनर्निर्माणको काम थाले पनि २०७२ सालको भूकम्पले अन्य सम्पदामा क्षति पु¥याएकाले भाइदेगुमा मात्रै ध्यानकेन्द्रित गर्न नसकेको ललितपुर महानगरपालिकाका सम्पदा सल्लाहकार डा रञ्जितकारले बताए । यो मन्दिर बनाउन धेरै नयाँ सामान आवश्यक पर्ने भएकाले अन्यको तुलनामा बढी समय लाग्ने उनको भनाइ छ । यो मन्दिरमा ४४ वडा टुँडाल छन् । तीमध्ये २१ वटा जति स्टोरमा छन् । २०७२ सालको भूकम्पमा भत्किएका सम्पदा पुनर्निर्माण गर्दा धेरैजसो पुराना सामान प्रयोग गरिएको छ । नयाँ सामान तयार बनाउन एकातिर बढी समय लाग्छ, अर्कोतिर पुरानोको जस्तो गुणस्तर हुँदैन । 

पाटन दरबार क्षेत्रको प्रसिद्ध सम्पदामध्येको एक हो, कृष्ण मन्दिर । ढुंगामात्रै प्रयोग गरेर बनाइएको यो मन्दिर भूकम्पले तल्लो तलाको भित्री भित्ताहरू चर्काएको थियो । ढोकाको माथिल्लो भागमा चिरा परेको थियो । यो मन्दिरको जीर्णोद्धार सम्पन्न भइसकेको छ । 

पाटन दरबार क्षेत्रको सबैभन्दा पुरानो सम्पदा मंगाहिटी हो । यसको निर्माण लगभग १६ सय वर्ष अघि भएको हो । लिच्छवीकालीन यो हिटीको संरचना सानो भएकाले भूकम्पले यसमा क्षति पु¥याएको थिएन । 

काठमाडौं, ललितपुर र भक्तपुर मध्ये ललितपुरको दरबार क्षेत्रमा भूकम्पले काठमाडौंको तुलनामा कम क्षति पु¥याएको थियो । 

केभीपीटीले सम्पदा संरक्षणको लागि करीब २५ वर्ष अघिदेखि काम थालेको हो । केभीपीटी जन्मिनुको कारण खुलाउँदै डा रोहित भन्छन्, ‘सम्पदामा गुणस्तरीयता कायम हुनु हो, दक्ष मान्छेले पुनर्निर्माणको काम पाउनु हो ।’ सम्पदा पुर्निर्माण सरोकारवाला र स्थानीय क्लबहरूको सहभागितामा पुरातŒव विभागका निर्देशकको नेतृत्वमा कार्यसम्पादन समिति गठन गरिन्छ । केभीपीटीले काम गर्दा बोलपत्र आहृवान गर्नु पर्दैन । 

बोलपत्र आहृवन गरेर थालिएका पुनर्निर्माणको कामले गति नलिएको बताउँछन् ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन । त्यसको उदाहरण हो, बुङ्मतीस्थित रातो मछिन्द्रनाथको मन्दिर । श्रीलंकाली सरकारको सहयोगमा सार्वजनिक खरिद ऐन २०६३ अन्तर्गत यो मन्दिरको पुनर्निर्माण थालिएको थियो । करिब ६ महिनाअघि नै पुनर्निर्माण सकिएर हस्तान्तरण भइसक्नु पर्नेमा अहिलेसम्म २२ प्रतिशत मात्रै काम भएको छ । यो ऐन अन्तर्गत काम गर्दा बोलपत्र आहृवान भएपछि कम कबोलकर्तालाई टेन्डर दिनुपर्छ । त्यसो हुँदा मन्दिर निर्माणको लागि सामान्य ज्ञान नभएकाले समेत ठेक्का पाउन सक्छ । मेयर महर्जन भन्छन्, ‘योग्यता र जानकारी नभएकाले काम पाउँदा न गुणस्तरीयता कायम हुन्छ न त समयमा नै काम सकिन्छ ।’ 

शंखमूलको जगतनारायण्को मन्दिरको अवस्था पनि रातो मछिन्द्रनाथको जस्तै छ । यी दुई मन्दिर पुनर्निर्माणको ठेक्का स्थानीय निर्वाचनअघि नै सरकारले टेन्डर आहृवान गर्दा आएका ठेकेदारलाई दिएको थियो । मेयर महर्जन केन्द्रीय सरकारले तत्काल यो ऐनमा संशोधन नगरे सम्पदा संरक्षण हुन नसक्ने बताउँछन् । गुणस्तर नहुने उनको भनाइ छ । 

टेन्डरमार्फत थालिएको यी मन्दिरको पुनर्निर्माण अलपत्र परेपछि ललितपुर महानगपालिकाले पाटन दरबार क्षेत्रका भीमसेन मन्दिर टेन्डर नगरी पुनर्निर्माण गर्न पाउनुपर्र्ने माग राख्यो । महानगरका मेयर महर्जनले प्रधानमन्त्री केपी ओली, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीलाई पटक पटक भेटेर आफ्ना कुरा राखे । मेयरको कुरालाई गम्भीरतापूर्वक लिएका प्रधानमन्त्री गत माघ २ गते पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरेका थिए । 

सम्पदा अमानतमा नै पुनर्निर्माण गर्न पाउनुपर्ने वकालत गर्दै आएका मेयर भीमसेन मन्दिर टेन्डरबिनै पुनर्निर्माण गर्न पाउने स्वीकृति पाएको दिन निकै खुशी भए । महानगरको पहलमा दरबार क्षेत्रको उत्तरपट्टि रहेको उक्त मन्दिर पुनर्निर्माणको लागि भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरिएको छ । स्थानीयवासी र इच्छुकले गर्ने आर्थिक सहयोग मन्दिर पुनर्निर्माणको मुख्य आधार हो । मेयर महर्जनका अनुसार आवश्यक पर्दा ललितपुर महानगरपालिका अर्को सहयोगी हो । उनले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘मन्दिर निर्माण गर्दा पैसा नपुगे त्यत्ति बेला महानगरले सहयोग गर्छ ।’

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनको संयोजकत्वमा यो मन्दिर पुनर्निर्माणको काम सुरु भएको छ । उनका अनुसार १८ महिनाभित्र काम सक्ने लक्ष छ ।  

पाटन दरबार क्षेत्रको केन्द्रमा रहेको ऐतिहासिक महŒवको देगु तलेजुको मन्दिर पुनर्निर्माण गर्न नेपाल सरकारले टेन्डर आहृवानको सूचना प्रकाशित गरेको थियो । मेयरलाई धेरैवटा स्थानीय संघसंस्थाले टेन्डर रद्द गराउन पहल गरिदिन दबाब दिए । स्थानीयको दबाबको आवाजसहित प्रधानमन्त्री केपी शर्मा ओली भेटेर देगु तलेजु पनि टेन्डरविना पुनर्निर्माण गर्न पाउनुपर्र्ने माग राखे । उक्त टेन्डरप्रति ध्यानाकर्षण गराए । उनका अनुसार टेन्डर नगरी उपभोक्ता समितिमार्फत काम गर्न बाटो खुला गर्ने कुरा भएको छ । प्रक्रिया पूरा गरेर छिटै पुनर्निर्र्माण थाल्ने उनले बताए ।

Views: 101

सम्बन्धित सामग्री:

जिपले किच्दा बालकको मृत्यु

: श्रावण ५, २०७६ (३:५५ AM)