25th May | 2019 | Saturday | 2:49:15 AM

सार्वजनिक भवन ४१ प्रतिशत पुनर्निर्माण

सुदर्शन आचार्य   POSTED ON : बैशाख १२, २०७६ (९:१२ AM)

सार्वजनिक भवन ४१ प्रतिशत पुनर्निर्माण

काठमाडौं । विनाशकारी भूकम्प गएको चार वर्षसम्म सार्वजनिक भवन पुनर्निर्माण समग्रमा ४१ प्रतिशतमात्र पूरा भएको छ । स्वास्थ्य संस्था, शैक्षिक संस्था, सरकारी भवन, सांस्कृतिक सम्पदा, सुरक्षा निकायका भवन र खानेपानी पूर्वाधार पुनर्निर्माणको समग्र प्रगति हालसम्म ४१ प्रतिशतमात्र देखिएको हो ।

यीमध्ये सरकारी भवन पुनर्निर्माणमा सबैभन्दा बढी प्रगति देखिएको छ भने सुरक्षा निकायका भवन पुनर्निर्माणमा लक्ष्यअनुसारको प्रगति दर सबैभन्दा कम देखिन्छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार सरकारी भवन पुनर्निर्माणमा लक्ष्यको ५९.७५ प्रतिशत काम पूरा भएको छ । १६२ भवन पुनर्निर्माण र २५३ भवन प्रवलीकरणसहित कुल ४१५ सरकारी भवन पुनर्निर्माण गर्ने लक्ष्य थियो । हालसम्म २४८ सरकारी भवनको पुनर्निर्माण सम्पन्न भएको छ । सम्पन्नमध्ये १६ वटा पुनर्निर्माण भएका हुन् भने २३२ वटा प्रवलीकरण गरिएको हो ।

सुरक्षा निकायका ३८३ भवन पुनर्निर्माण गर्ने लक्ष्यमा हालसम्म ९४ वटामात्र पुनर्निर्माण भएको छ । यो प्रगतिदर लक्ष्यको २४.५४ प्रतिशत हो । सुरक्षा निकायका ११८ वटा भवन पुनर्निर्माण भइरहेको प्राधिकरणले जनाएको छ ।

स्वास्थ्य संस्था पुनर्निर्माणतर्फ लक्ष्यको ५३.७१ प्रतिशत काम सकिएको छ । ५४४ पुनर्निर्माण र ६५३ प्रवलीकरणसहित १,१९७ भवन पुनर्निर्माण लक्ष्य रहेकोमा ६४३ वटा सम्पन्न भएको हो । सम्पन्न भएकामा ३१२ पुनर्निर्माण र ३३१ प्रवलीकरण गरिएका हुन् ।

शैक्षिक संस्थातर्फ ५५.२३ प्रतिशत लक्ष्य पूरा भएको छ । शैक्षिक संस्थाका ७,५५३ भवन पुनर्निर्माण गर्ने लक्ष्यमा ४,१७२ सम्पन्न भएको हो । सांस्कृतिक सम्पदातर्फ लक्ष्यको २८.१५ प्रतिशत पूरा भएको छ । ७५३ सांस्कृतिक सम्पदा पुनर्निर्माण गर्ने लक्ष्यमा २१२ वटा सम्पन्न भएको हो । खानेपानी पूर्वाधारमा २४.६२ लक्ष्य प्राप्त भएको छ । ३,२१२ पूर्वाधार पुनर्निर्माण गर्ने लक्ष्यमा ७९१ वटा पुनर्निर्माण भइसकेको हो ।

निजी आवास अनुदान वितरणतर्फ कुल सर्वेक्षण गरिएका ९ लाख ९६ हजार ५८२ घरधुरीमध्ये लाभग्राही सूचीमा ८ लाख २४ हजार ४५२ घरधुरी थिए । तीमध्ये ७ लाख ६० हजार २७९ घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको थियो भने ६१ हजार ८९१ घरधुरी प्रवलीकरण सूचीमा थिए ।

अनुदान सम्झौता सम्पन्न भएकामध्ये ७ लाख ५५ हजार ८६८ घरधुरीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका थिए । दोस्रो किस्ता पाउने लाभग्राहीको संख्या ५ लाख ६४ हजार ३४२ छ । तेस्रो किस्ता पाउनेको संख्या भने ४ लाख तीन हजार २८० मात्र छ । तेस्रो किस्ता लिएकामध्ये पनि सबैले घर निर्माण गरिसकेका छैनन् । प्राधिकरणको तथ्यांकअनुसार हालसम्म ३ लाख ८२ हजार ४३ वटा घरमात्र पूरा भएका छन् । ६ लाख १२ हजार १५२ घर निर्माणकै क्रममा रहेको प्राधिकरणको भनाइ छ ।

प्रमाणपत्र लिने १.२३ प्रतिशतमात्र

भूकम्प अतिप्रभावित १४ जिल्लामा प्राधिकरणले ८ लाख २३ हजार ४६० घरधुरी सर्वेक्षण गरेर ७ लाख २४ हजार दुई घरधुरीलाई लाभग्राही सूचीमा राखेको थियो । ५६ हजार ७६६ घरधुरी प्रवलीकरण सूचीमा थिए ।

अतिप्रभावित १४ जिल्लामा ६ लाख ६६ हजार ४२९ घरधुरीसँग अनुदान सम्झौता भएको थियो । तीमध्ये ६ लाख ६३ हजार १४ घरधुरीले पहिलो किस्ताबापत अनुदान रकम प्राप्त गरेका थिए । दोस्रो किस्ता प्राप्त गर्ने घरधुरीको संख्या ५ लाख १३ हजार ९१८ मात्र छ भने तेस्रो किस्ता ३ लाख ८३ हजार १३ घरधुरीले प्राप्त गरेका छन् ।

अतिप्रभावित १४ जिल्लामा पहिलो किस्ता प्राप्त गर्ने लाभग्राहीको तुलनामा घर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गर्ने लाभग्राहीको संख्या १.२३ प्रतिशतमात्र छ । तेस्रो किस्ता अनुदान रकम प्राप्त गर्ने लाभग्राहीको २.१४ प्रतिशतले मात्र घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । निर्माण सम्पन्न प्रमाणपत्र नलिए पनि घर निर्माण गरिसकेका लाभग्राहीको संख्या ठूलो रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । प्राधिकरणका अनुसार तेस्रो किस्ता अनुदान रकम लिनेमध्ये ९४.५९ प्रतिशतले घर निर्माण सम्पन्न गरिसकेका छन् ।

प्राधिकरणको तथ्यांकमा तेस्रो किस्ता लिएका ३ लाख ८३ हजार १३ घरधुरीमध्ये ३ लाख ६२ हजार ३१० घरधुरीले निजी आवास निर्माण गरिसकेको जनाइएको छ । तीमध्ये ८ हजार २११ घरधुरीले मात्र प्रमाणपत्र लिएका छन् । भक्तपुर, ललितपुर, रसुवा र धादिङमा अहिलेसम्म घर निर्माण सम्पन्न प्रमाणपत्र कसैले पनि लिएका छैनन् । निर्माण सम्पन्न प्रमाणपत्र लिनेको संख्या ओखलढुंगामा सबैभन्दा बढी छ । सो जिल्लामा २ हजार ४१० जनाले त्यस्तो प्रमाणपत्र लिएका छन् ।

त्यस्तै सिन्धुलीमा एक हजार ६६८ घरधुरीले घर निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । नुवाकोटमा एक हजार २६६, काठमाडौंमा ८८३, सिन्धुपाल्चोकमा ५३८, दोलखामा ५७५, गोरखामा ३५२, रामेछापमा ४४२, काभ्रेपलाञ्चोकमा ७४ र मकवानपुरमा ३ घरधुरीले मात्र निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् ।

भूकम्पको केन्द्रविन्दु रहेको गोरखा जिल्लामा निजी आवास अनुदान वितरणका लागि लाभग्राही सूचीमा परेका कुल घरधुरी संख्या ६५ हजार ६७८ रहेकोमा ६४ हजार ६०० घरधुरीसँग अनुदान सम्झौता सम्पन्न भएको थियो । तीमध्ये ३५२ घरधुरीलेमात्र निर्माण सम्पन्न प्रमाणपत्र लिएका छन् । प्राधिकरणको तथ्यांकअनुसार गोरखामा निजी आवास निर्माण सम्पन्न भएका लाभग्राहीका संख्या भने ४४ हजार २३१ छ ।

धादिङमा लाभग्राही सूचीमा परेका ८३ हजार ४१ घरधुरीमध्ये ७४ हजार १५३ सँग अनुदान सम्झौता सम्पन्न भएको थियो । तीमध्ये ४६ हजार ४२५ ले मात्र तेस्रो किस्ता अनुदान रकम पाएका छन् । धादिङमा ४२ हजार ५३० घर निर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्यांक छ । निर्माण सम्पन्न प्रमाणपत्र भने कसैले पनि लिएका छैनन् ।

यस्तै रसुवामा लाभग्राही सूचीमा परेका कुल १२ हजार ४९० घरधुरीमध्ये तेस्रो किस्ता पाउन प्रमाणीकरण गरिएका घरधुरीको संख्या ९ हजार ६७१ छ । तीमध्ये ९ हजार ५९१ ले मात्र तेस्रो किस्ता रकम पाएका छन् । जबकि प्रमाणीकरण गरिएका घरधुरीसंख्या बराबर नै घर निर्माण भइसकेको तथ्यांक छ । रसुवामा ९ हजार ६७१ घर निर्माण सम्पन्न भएको जनाइए पनि निर्माणसम्पन्न भएको प्रमाणपत्र लिनेको संख्या शून्य छ ।

नुवाकोटमा लाभग्राही सूचीमा परेका कुल संख्या ७४ हजार ९४३ मध्ये तेस्रो किस्ता पाउने ४० हजार ३५२ मात्र छ । जबकि, ४५ हजार ८०६ घरधुरीले घर निर्माण सम्पन्न गरिसकेका छन् । 

यस्तै, काठमाडौंमा लाभग्राही सूचीमा परेका ४८ हजार ३७५ मध्ये तेस्रो किस्ता लिनेको संख्या ११ हजार ४१८ छ । काठमाडौंमा ९९१२ घर निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

भक्तपुर जिल्लामा लाभग्राही सूचीमा परेका २८३०८ मध्ये अनुदान सम्झौता सम्पन्न भएका २४ हजार ३२६ छन् । तेस्रो किस्ताका लागि अनुदान सम्झौता भएकाको संख्या ७ हजार ३५४ भए पनि घर निर्माण सम्पन्न गर्नेको संख्या त्योभन्दा बढी छ । भक्तपुरमा ७ हजार ३५६ घरधुरीले घर निर्माण सम्पन्न गरिसकेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । जबकि, ७ हजार १९ घरधुरीलेमात्र तेस्रो किस्ताबापतको अनुदान रकम लिएका छन् । 

ललितपुरमा लाभग्राही सूचीमा परेका कुल संख्या २८ हजार ३५६ मध्ये ३ हजार ५१६ ले मात्र घर निर्माण सम्पन्न गरेका छन् । यद्यपि उनीहरूमध्ये कसैले पनि निर्माण सम्पन्न प्रमाणपत्र लिएका छैनन् । ललितपुरमा तेस्रो किस्ता अनुदार रकम पाउनेको संख्या ७ हजार ३१५ छ ।

मकवानपुरमा ३४ हजार १०९ लाभग्राहीमध्ये तेस्रो किस्ता पाउनेको संख्या १४ हजार १६४ छ भने ११ हजार ६८५ ले घर निर्माण सम्पन्न गरिसकेका छन् । त्यस्तै, काभ्रेपलाञ्चोकमा लाभग्राही सूचीमा परेका ८३००६ मध्ये २९ हजार ३८ ले तेस्रो किस्ता अनुदान रकम पाएका छन् । तीमध्ये २६ हजार ७२९ ले मात्र घर निर्माण सम्पन्न गरेका छन् ।

सिन्धुपाल्चोकमा लाभग्राही सूचीमा परेका ८८ हजार २४९ मध्ये ८५ हजार ५२३ सँग अनुदान सम्झौता सम्पन्न भएको थियो । तीमध्ये ८५ हजार ५२३ले पहिलो किस्ता रकम पाए । तेस्रो किस्ता रकम पाउनेको संख्या ६१ हजार ४२५ छ भने ५९ हजार ५९८ निजी आवास निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

दोलखामा लाभग्राही सूचीमा परेका ६९ हजार ६०८ मध्ये तेस्रो किस्तासम्मको अनुदान रकम लिनेको संख्या ४४ हजार ६९७ छ । ४४ हजार ५३३ ले निजी घर निर्माण सम्पन्न गरिसकेको जनाइएको छ ।

यसैगरी रामेछापमा लाभग्राही सूचीमा परेका ४८ हजार ७७९ मध्ये तेस्रो किस्ता अनुदान रकम पाउनेको संख्या ३२ हजार ७५५ छ । ३० हजार ७७१ ले घर निर्माण सम्पन्न गरिसकेका छन् । ओखलढुंगामा लाभग्राही सूचीमा परेका २१ हजार १४३ मध्ये १४ हजार ९३५ ले तेस्रो किस्तासम्मको अनुदान रकम लिएका छन् । तीमध्ये १३ हजार ४५० घर निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

सिन्धुली जिल्लामा लाभग्राही सूचीमा परेका घरधुरी संख्या ३७ हजार ९१५ छ । तीमध्ये १६ हजार १४४ले तेस्रो किस्तासम्मको अनुदान रकम लिएका छन् । सिन्धुलीमा १२ हजार ५८२ निजी घर पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्यांक छ ।

Views: 79

सम्बन्धित सामग्री: