21st July | 2019 | Sunday | 4:21:47 PM

धनगढी विमानस्थल एक महिना बन्द

हिमालय टाइम्स   POSTED ON : बैशाख १३, २०७६ (६:२७ AM)

धनगढी विमानस्थल एक महिना बन्द

धनगढी । कैलालीको गेटास्थित धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ । विमानस्थल धावनमार्ग स्तरोन्नतिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्म बन्द हुने भएको हो । 

विमानस्थलका प्रमुख तेजबहादुर बुडथापाले नेपाल नागरिक उडड्यन प्राधिकरणको प्रधान कार्यालयलाई विमानस्थल बन्द हुने सूचना प्रकाशन गर्न आग्रह गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । 

उनले अति जीर्ण अवस्थामा रहेको धावन मार्गको स्तर सुधारका लागि हाल काठमाडौं–धनगढी उडान भर्दै आएका विभिन्न एयरलाइन्सहरूसँगको समन्वयमा एक महिनाका लागि विमानस्थल बन्द गर्न लागिएको बताए । अहिले काठमाडौं–धनगढी रुटमा नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्ने गरेका छन् ।

नागरिक उड्यान प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाइको कालोपत्रे धावन मार्ग छ । १७ करोड ८८ लाख रुपैयाँको लागतमा अब धावन मार्गमा थप कालोपत्रे गरिने बताइएको छ । विमानस्थलले धावन मार्गलाई दुवैतर्फ दुई–दुई मिटर थप फराकिलो गर्ने योजना रहेको जनाएको छ । सामान्यतया विमानस्थलको कालोपत्रे ओभरलेयरको काम १० वर्षमा गर्नुपर्ने भए पनि धनगढी विमानस्थलमा झण्डै १४ वर्षपछि कालोपत्रे सुधारको काम गर्न लागिएको छ ।


Views: 84

सम्बन्धित सामग्री:

जिपले किच्दा बालकको मृत्यु

: श्रावण ५, २०७६ (३:५५ AM)