22nd May | 2019 | Wednesday | 3:28:56 AM

ऐतिहासिक ब्यासीकोट दरबार अलपत्र

सत्यराज सिँह   POSTED ON : बैशाख १३, २०७६ (९:४८ AM)

ऐतिहासिक ब्यासीकोट दरबार अलपत्र

बझाङ । तत्कालिन बझाङ राज्यको बास भएको स्थानको रुपमा परिचित व्यासीकोट दरबार संरक्षणको अभावमा जिर्ण बन्दै गएको छ । तत्कालीन बझाङ राज्य सम्बन्धी विभिन्न शिलालेख, प्राचिन मुर्ति लगायतका विभिन्न पुरातात्विक र ऐतिहासिक सामाग्री समेत रहेको उक्त दरबार अलपत्र अवस्थामा छन । 

करिव पाँच सय  ७३ वर्ष  भन्दा पहिले (विसं १५०२ तिर) तत्कालीन बझाङ्गी राजा शक्ति सिंहले उक्त दरबार निर्माण गर्न लगाएको विभिन्न शिलालेखहरुमा उल्लेख छ । साविक व्यासी गाविसको चौधानपाटा नजिकैको कोट डाँडामा रहेको उक्त दरबार बझाङ जिल्लाको नामाकरण सँग पनि जोडिएको छ । 

यो दरबार रहेको डाँडामा पटक पटक बज्रपात हुने भएकोले यस ठाउँलाई बज्राङ्ग भनिएको र कालान्तरमा यही शब्द अपभ्रंस भएर यस जिल्लाको नाम बझाङ हुन गएको विभिन्न इतिहासकारहरुले दावी गरेका छन् । यो डाँडाको मुनि सुन, अभ्रख, सितोपल, तामा र चुम्बकिय शक्ती भएका खनिजहरु रहेकाले चट्याङ्ग पर्ने गरेको सेती अञ्चलको इतिहासबारे पुर्णप्रकास नेपाल ‘यात्री’ ले लेखेको पुस्तक सेती अञ्चल दिग्दर्शनमा उल्लेख छ । 

    बझाङ मै निर्मित ईटाद्धारा बनाईएको यो दरबार सुरुमा २५ कोठाको रहेको र १९९० सालको भुकम्पले क्षति गरे पछि तत्कालिन राजा देवीजंङ सिंहले पुर्न निर्माण गरि १० कोठाको बनाएको स्थानिय बुढापाकाहरुको भनाई छ ।  २०२३ सालमा आएको भुकम्पले हल्लाए पछि १० कोठे उक्त दरबारका केही भिक्ताहरु चर्किएका थिए । २०५७ सालमा तत्कालिन विद्रोही माओवादी दरबारमा आगजनी गरेर त्यहा“ भएका केही धातुका मुर्तिहरु समेत लुटेर लगेको दरबारको नियमित रेखदेख गरिरहेका स्थानिय स्वयंसेवी इन्द्र बहादुर सिंहले बताए । 

भुकम्पमा परी भत्किएको सो दरबार संरक्षणको लागी २०५६ साल तिर  स्वर्गिय राजा विरेन्द्रकी बहिनी तथा बझाङी राजा दिपकजंङ की धर्मपत्नि  शान्ति सिंहले व्यक्तिगत रुपमा ६ लाख खर्च गरेर जिर्णाेद्धार गर्न लगाएकी थिइन ।  त्यसवेला दरबारको छानामा रहेका स्लेटहरु हटाएर जस्तापाता हालिएको थियो । 

‘अहिले त झ्याल ढोकाहरु पनि भत्किसकेका छन् । घेरवार पनि भत्किएका कारण छाडा पशु चौपाया  चर्ने ठाउँ भएको छ’ उनले भने ‘बाहिर रहेका शिलालेखमा समेत लेउ लागेर पुरिने अवस्थामा पुगेका छन् । यसको संरक्षण प्रति कसैको ध्यान गएको छैन । ’ 

औशीं पुर्णिमाको बेला कोही कोही पूजा गर्ने मानिसहरु यहाँ आए पनि अरुवेला कसैले वास्ता नगर्ने गरेको उनले बताए ।  यस दरबारको चारै तिर भगवती, ब्रजेश्वर, महादेव, मष्टा, कालाढुङ्गो लगायतका विभिन्न देवी देवताहरुको मन्दिरहरु रहेका छन् ।  कोट दरबारमा प्रत्येक वर्ष चैतेदशै, गौरापर्व र बडा  दशैमा पूजाआजा गर्ने प्रचलन रहेको छ । 

बझाङी राजाहरुले यही दरबारबाट करिब चार सय बर्ष सम्म राज्य संचालन गरेको विभिन्न अभिलेखहरुमा उल्लेख छ । मानवतावादी राजा जयपृथ्वी बहादुर सिंहले समेत केही समय यही दरबारमा राज्य संचालन गरेका थिए । 

      उक्त कोट दरबारमा १९७० देखी १९९० सम्म राजा देवीजङ्ग बहादुर सिंहले बझाङ राज्यको राजधानी स्थापना गरी शासन गरेको अभिलेख पाइन्छ । १९९५ मा राजा देवीजङ्ग बहादुर सिंहको मृत्यु पछि १९९६ मा उनका जेठा छोरा रामजङ्ग सिंहले सोही दरबारमा मालपोत, कारागार, अदालत स्थापना गरी राज्य संचालन गरेको ७५ वर्षिया स्थानीय प्रेम बहादुर सिंहले बताए । 

अग्लो ठाउँमा रहेको यो दरबार पाथिभेरे हिमाल, सुर्मालेक, नाम्पा हिमाल लगायतका हिमश्रृङखलाको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । हालको छविसपाथिभेरा, दुर्गाथली , थलारा, सुर्मा लगायतका गा“उपालिका र जयपृथ्वी नगरपालिकाको दृष्य समेत देखिने डाँडामा रहेको यो दरबारको जिर्णाेद्धार गरि संरक्षण गर्न सके पर्यटनको केन्द्रको रुपमा पनि विकास गर्न सकिने स्थानियहरु बताउँछन् । 

छविसपाथिभेरा गाउँपालिकाले पनि दरबारको संरक्षणको लागि पहल गरेको गाउँपालिका अध्यक्ष अक्कल धामीको दावी छ । उनले दरबार जाने बाटो नजिक सडक विस्तार गरिएको बताउदै गुरुयोजना नै बनाएर दरबारको संरक्षण, जिर्णाेद्धार र पर्यटकिय स्थलको रुपमा विकास गर्ने गरि काम थालिएको बताए । 


Views: 81