27th June | 2019 | Thursday | 4:49:05 PM

डकैतीका ‘मोस्ट वान्टेड’ पक्राउ, नियन्त्रणमा लिन गोली प्रहार

हिमालय टाइम्स   POSTED ON : जेठ ७, २०७६ (८:३५ AM)

डकैतीका ‘मोस्ट वान्टेड’ पक्राउ, नियन्त्रणमा लिन गोली प्रहार

काठमाडौं । सिन्धुपाल्चोक, मेलम्ची घर भई काठमाडौंको रानीबारी बस्दै आएका ३० वर्षीय काले भनिने विष्णु तामाङलाई सोमबार बिहान प्रहरीले एक थान कटुवा पेस्तोल र सोको गोली पाँच थानसहित पक्राउ गरेको छ । उनी राजधानीमा डकैती तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ‘मोस्ट वान्टेड’ सूचीमा राखेका व्यक्ति हुन् । 

टोखा नगरपालिका–७ धापासीस्थित उकालोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरी टोलीमाथि गोली प्रहार गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ । घुँडामुनि गोली लागेर घाइते भएका तामाङको उपचार वीर अस्पताल भइरहेको छ । 

तामाङ ६ वर्षसम्म डाका मुद्दामा केन्द्रीय कारागारमा रही २०७२ भदौ ६ गते कैद मुक्त भएका थिए । हाल विभिन्न चोरीमा संलग्न रही फरार रहेको भन्दै प्रहरीले उनलाई खोजीको सूचीमा राखेको थियो । प्रहरी स्रोतका अनुसार पछिल्लो समय आधा दर्जनभन्दा बढी डकैती तथा लुटपाटका घटनामा उनी संलग्न रहेको बारे छानविन भइरहेको छ ।

तामाङले पूर्व–एआइजी जयबहादुर चन्द र पूर्व–डिआइजी विश्वराज सिंह शाहीको घरमा समेत चोरी गरेका थिए । प्रहरीका अनुसार हतियारसहित घरमा प्रवेश गर्ने र घरका सदस्यलाई बन्धक बनाएर लुटपाट गर्ने गतिविधिमा उनी सक्रिय रहँदै आएका थिए । महानगरीय अपराध महाशाखाका प्रमुख सहकुल थापाका अनुसार प्रहरी टोलीलाई देख्नासाथ पेस्तोल निकालेर गोली प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो । दायाँ खुट्टाको घुँडामुनि गोली लागेका उनको अवस्था सामान्य रहेको जनाइएको छ ।




Views: 49