27th June | 2019 | Thursday | 5:07:07 PM

नेटवर्किङमा संलग्न आठजना पक्राउ, ४२ लाख रुपैयाँ बरामद

हिमालय टाइम्स   POSTED ON : जेठ ७, २०७६ (८:४४ AM)

नेटवर्किङमा संलग्न आठजना पक्राउ, ४२ लाख रुपैयाँ बरामद

काठमाडौं । गैरकानुनीरूपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठगी गरेको आरोपमा आठजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँसमेत बरामद गरेको छ । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेशका ३० वर्षीय महोमद जिया, ३५ वर्षीय नितिन श्रीवास्तव, ३० वर्षीय महोमद सेयाफ तथा ३२ वर्षीय तेजनारायण शुक्ला, कानपुरका ४३ वर्षीय रवि तिवारी, प्रयागराज बस्ने ३२ वर्षीय अटल त्रिपाठी तथा ४० वर्षीय राजेशकुमार शुक्ला र कुशिनगरका २९ वर्षीय नुरुलएन वारसी छन् । 

गैरकानुनीरूपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरी ठूलो परिमाणमा रकम ठगी गरिरहेको भन्ने सूचनाको आधारमा महाशाखाबाट खटिएको प्रहरीले ठमेलस्थित होटल वैशालीबाट महोमद जिया र नुरुलएन वारसीलाई ३३ लाख ५० हजार रुपैयाँ र काठमाडौं महानगरपालिका बबरमहलबाट अन्य ६ जनालाई नेपाली रुपैयाँ ८ लाख ५० हजारसहित पक्राउ गरेको प्रहरीको भनाइ छ ।

उनीहरूले साइन ग्रुप (रियल स्टेट÷अपलिएन्सेस, ई–कमर्स, टुरिज्म) को नामबाट संगठितरूपमा गैरकानुनी नेटवर्किङ व्यवसायको प्रचारप्रसार गरी रकमसमेत संकलन गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूले नेपालीहरूलाई भेला गरी हाम्रो कम्पनीमा २ हजार ५ सय, ५ हजार र १० हजार डलर जम्मा गरेमा सो बराबरको रकम कम्पनीबाट थप गरी प्रत्येक महिना सोको ६ प्रतिशत रकम थप गरिने प्रलोभन देखाउने गरेका थिए । गैरकानुनी नेटवर्किङको झुटो प्रचारप्रसार गरी ठगी गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत वैशाख २८ गते सोही नेटवर्किङ समूहका १२ सदस्यलाई राजधानीबाट पक्राउ गरेको थियो । पछिल्लो समय उक्त नेटवर्किङ समूहले नेपालमा शाखा विस्तार गर्ने योजनाअनुसार प्रशिक्षण तथा अभिमुखीकरणलगायत कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्छ ।  


Views: 88