19th September | 2019 | Thursday | 8:43:38 PM

मर्मत सम्भारको अभावमा सप्तरी रंगशाला गौचरणमा परिणत

अनिल पोखरेल   POSTED ON : जेठ २९, २०७६ (४:४१ PM)

मर्मत सम्भारको अभावमा सप्तरी रंगशाला गौचरणमा परिणत

सप्तरी राजविराज । सात हजार दर्शक अटाउने क्षमता भएको सप्तरीको रंगशालाको सम्बन्धित निकायले रेखदेख तथा मर्मत सम्भार ध्यान नदिँदा गौचरणमा परिणत भएको छ ।

रंगशालाको अभिभारा राजविराज नगरपालिकाले २१ वर्ष अघि नै जिल्ला खेलकुद विकास समितिलाई दिइसकेको भएता पनि प्याराफिट नै अतिक्रमण गरि विगत २० वर्षदेखी २ दर्जन परिवार बसेपनि खाली गराउन सकिरहेको छैन । 

यता रंगशालाको वरिपरि दिशा पिसाब गर्नेहरुको संख्या पनि उत्तिकै बढ्दै गएको छ । 

प्याराफीट जिर्ण र अतिक्रमण हुनु र सोही कारणले विगत १५ वर्षदेखी रंगशालाको खेल मैदानमा कुनै पनि प्रतियोगिता र अभ्याससम्म हुन सकेको छैन ।  

रंगशालाको पूर्वपट्टि ठाउँ ठाउँमा प्याराफिट जिर्ण  हुँदा बजरमा रहेका छाडा बस्तुको चरन स्थान भएको छ । यस विषयमा खेलकुद विकास समितिले खासै पहल गरेको देखिदैन । 

    जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमूख दिनेश भुजेलले पटक पटक अतिक्रमित स्थान खाली गर्न प्याराफिट मुनी बस्दै आएकाहरुलाई सूचना पठाएपनि नटेरेको सुनाए ।     

 बि. स. २०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ्गको २ बिघा ७ कठ्ठा ४ धुर जग्गामा निर्माण भएको राजरंगशाला पानी निकासको समस्याले वर्षा याममा जलमग्न हुने गरेको छ ।

 राजरंगशालाको लथालिङ्ग अवस्थाप्रति पटक पटक खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदमा लिखित तथा मौखिक तागेदा गर्दा पनि आश्वासन बाहेक केही नपाइएको स्थानीय खेलाडी तथा खेलप्रेमीको गुनासो छ । 

    लथालिङ्ग अवस्थामा रहेको रंगशालाका कारण खेलकुद गतिविधी प्रायः ठप्प छ । जसकारण नयाँ खेलाडी उत्पादन हुन त परै जाओस् पुराना खेलाडी पनि पलायन हुन थालेको भन्दै खेलाडी तथा खेलपे्रमीले अविलम्ब यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।


Views: 73

सम्बन्धित सामग्री:

नेता रावल कार्यक्रममा नाच्दै

: आश्विन २, २०७६ (५:०७ PM)